आदर्श सञ्चार, बागलुङ
राष्ट्रिय सहकारी महासंघ नेपालले ६८ औं राष्ट्रिय सहकारी दिवसका लागि मर्यादित सहकारी : समुन्नत समाज भन्ने मुल नारा (थिम) तय गरेको छ । महासंघको हालै सम्पन्न वैठकले उक्त नारालाई ६८ औं राष्ट्रिय सहकारी दिवसदेखि आगामी एक वर्षका लागि तय गर्ने निर्णय गरेको थियो । महासंघले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर महासंघ र नेपाल सरकारका तर्फबाट सहकारी दिवसको मुल नारा मर्यादित सहकारी : समुन्नत समाज तय गरिएको जानकारी दिएको हो ।
राष्ट्रिय सहकारी दिवसका अवसरमा महासंघले हरेक वर्ष नयाँँ थिम घोषणा गर्दै आएको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको थिम सहकारीमा सुशान :प्रविधि र एकीकरण रहेको थियो । सहकारी दिवसका अवसरमा घोषणा गरिएको थिम अनुसार नै वर्षभरी देशभरका सहकारीहरुले गतिविधि सञ्चालन गर्दै आएका छन् । नेपालमा सहकारी अभियानको औपचारिक थालनी २०१३ साल चैत २० गतेदेखि भएको थियो ।
सहकारीको शुरुवात भएको दिन चैत २० गतेलाई नेपालमा प्रत्येक वर्ष ’राष्ट्रिय सहकारी दिवस’ का रूपमा मनाउने गरिएको छ । २०१३ सालमा सहकारीको शुरुवात भए पनि औपचारिक रुपमा राष्ट्रिय सहकारी दिवस भने २०५१ सालदेखि मनाउन थालिएको सहकारीकर्मीहरुले बताएका छन् । सहकारीको अवधारणा अनुसार, सामूहिक आर्थिक उन्नति र सामुहिक कार्यशैली नै सहकारी अभियानको मुख्य उद्देश्य हो, महासंघका अध्यक्ष ओमदेवी मल्लले भन्नुभयो,–सहकारीलाई मर्यादित बनाउदै समुन्नत समाज निर्माणमा सबैको ध्यान जान आवश्यक छ ।
सहकारी संस्थाहरूलाई पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारमा मर्यादित र अनुशासित रुपमा सञ्चालन गरी समुन्नत समाज निर्माणमा योगदान गर्न सन्देश दिनका लागि यस वर्षको नारा सहयोगी हुने मल्लको भनाइ छ । देशभरका सबै प्रकृतिका सहकारी संघ–संस्थाहरू, सरोकारवालाहरू तथा सम्पूर्ण सहकारी अभियन्ताहरूलाई मर्यादित सहकारी :समुन्नत समाज भन्ने नाराका साथ ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन तथा बर्षभरिका क्रियाकलाप सञ्चालन गर्न महासंघले आव्हान गरेको छ ।
६८ औं राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित सहकारी समुन्नत समाज’
