मुस्ताङमा स्थानीय चार जातका स्याउ दर्ता


अमृत बास्कुने, बागलुङ

हिमालपारीको जिल्ला मुस्ताङका स्थानीयले परम्परागत रुपमा उत्पादन गर्दै आएको स्याउका चार जातहरु स्थानिय जातका रुपमा दर्ता भएका छन् ।

शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयका अनुसार मुस्ताङका स्थानीयले परम्परागत रुपमा खेती गर्दै आएको विभिन्न चार जातका स्याउलाई स्थानीय जातका रुपमा कृषि तथा पशु पन्छी विकास मन्त्रालयमा दर्ता भएको हो । जिल्लामा परम्परागत रुपमा खेती हुँदै आएको र नामाकरण गरिएको भए पनि दर्ता नभएको चारवटा स्याउका पुराना जातहरुलाई स्थानिय जातका रुपमा पञ्जिकृत अर्थात् दर्ता गरिएको हो । स्थानिय जातका रुपमा रेड डेलिसियस, रोयल डेलिसियस, रिचा रेड डेलिसियस र गोल्डेन डेलिसियस स्याउका चिसो चाहिने जातहरु दर्ता भएका हुन् । मुस्ताङ क्षेत्रमा उत्पादन हुने यी चार ओटै जातका स्याउको नेपालमा ५० बर्ष भन्दा लामो ईतिहास रहेको आत्रेयको भनाइ छ ।

शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका प्रमुख आत्रेयकै अग्रसरतामा राष्ट्रिय फलफूल विकास केन्द्र, कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद, वीउ विजन गुणस्तर नियन्त्रण केन्द्र, कृषि तथा पशुपन्छी विकास मन्त्रालय सबैको अग्रसरता र सहयोगमा स्याउका स्थानीय जातहरु दर्ता भएका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वीउ विजन ऐन २०४५ को दफा ११ तथा बीउ बिजन नियमावली २०८१ को नियम १० को उपनियम १ को खण्ड (ख)को व्यवस्था बमोजिम कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट स्याउका जातहरु दर्ता भएको हो । २०८१ फागुन २७ गते भएको मन्त्री स्तरीय निर्णय बमोजिम सुचिकृत भएका स्याउका स्थानीय जातहरुलाई दुई हजार देखि तीन हजार आठ सय मिटरको उचाई सम्ममा शीतोष्ण हावापानी भएका क्षेत्रमा खेती गर्न सकिने जनाइएको छ ।

एक हजार देखि १५ सय घण्टा सम्म चिलिङ आवर(चिसो समय) चाहिने उक्त जातहरु मुस्ताङमा हाल पनि खेती हुँदै आएको छ । प्रतिहेक्टर ८ दशमलब ५१ मेट्रिकटन उत्पादन हुने उक्त स्याउ खेती गर्नका लागि पनि निकै सहज र स्वाद तथा गुणस्तर पनि राम्रो हुने घरपझोङ गाउँपालिका–२ मार्फाका कृषक दिपक लालचनको भनाई छ । मुस्ताङमा खेती गर्ने गरिएको भए पनि आधिकारीक लिखित दर्ता नभएका स्याउको जातहरु शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका प्रमुख आत्रेयको अग्रसरतामा दर्ता हुनु मुस्ताङको लागि पनि गर्बको कुरा हो उहाँले भन्नुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसका साथसाथै स्याउका अन्य जातहरु र अन्य फलफूल तथा तरकारीका जातहरु पनि पञ्जिकृत गरेको छ । कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले हस्ताक्षर गर्नु भएको सूचना मार्फत उक्त जानकारी गराइएको शीतोष्ण वागवानी विकास केन्द्र घरपझोङ–२ मार्फा मुस्ताङका प्रमुख आत्रेयले जानकारी गराउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *