आदर्श सञ्चार, बागलुङ
बागलुङको कालिमाटीमा आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरबाट ४१० जना नागरिक लाभान्वित भएका छन् ।
रोटरी क्लव अफ बागलुङ र रोटरी क्लब अफ मिट टाउन पोखराको आयोजनामा बागलुङ नगरपालिका–७ कालिमाटीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४१० जना नागरिकले विशेषज्ञ सेवा लिएको रोटरी क्लव अफ बागलुङका अध्यक्ष रामकृष्ण शर्माले जानकारी दिनुभयो ।

शिविरको शुभारम्भ वडा अध्यक्ष मेघराज गैरेले गर्नुभएको थियो । उहाँले गाउँमै विशेषज्ञ सेवा प्रदानका लागि रोटरी क्लवले गरेको योगदानको चर्चा गर्नुभएको थियो ।
रोटरी क्लव अफ बागलुङका अध्यक्ष रामकृष्ण शर्माले शिविरमा स्त्रीरोग, हाडजोर्नी तथा नसा रोग, मृगौला तथा मुत्र रोग, आँखा, नाक, कान तथा घाटी रोग, पेट मुटु तथा छातीरोग र प्रयोगशाला सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले गाउँमै विशेषज्ञ सेवा प्रदान गर्दा नागरिकलाई रोगको पहिचान, उपचार तथा खर्च र समय बचत भएको बताउनुभयो ।

शिविरमा स्त्री रोग विशेषज्ञ डा. चण्डीका न्यौपाने, वरिष्ठ सर्जन डा. भोजराज न्यौपाने र हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.पविन थापा लगायतका स्वास्थ्यकर्मीले सेवा दिनुभएको रोटरी क्लब आफ मिट टाउन पोखराका अध्यक्ष सुर्य नारायण बरालले जानकारी दिनुभयो ।