स्ववियु चुनावमा बढ्दो अराजकता

सम्पादकीय
कुनै एक समय थियो, जुनबेला विद्यार्थी आन्दोलनले शैक्षिक एजेन्डा मात्र होइन, सामाजिक, राजनीतिक आन्दोलन मार्फत जनताका समस्या, गुनासा तत्काल सम्बोधन गर्न सरकार र सरोकारवाला निकायलाई बाध्य पाथ्र्यो । पेट्रोल, डिजेल लगायत दैनिक उपभोग्य सामग्रीमा केही रुपैयाँ मात्रै बढाउँदा सडकमा आगो बल्थ्यो । जनताका जायज माग सहित मैदान उत्रिए पछि सरकार आन्दोलनका सामु गल्थ्यो र सर्वसाधारणलाई राहत मिल्थ्यो । यसरी विद्यार्थी आन्दोलन र देश हाँक्ने नेतृत्व जन्माउने स्वतन्त्र विद्यार्थी युनियन अचेल आफ्नै भूमिकामा अन्यौल र द्धिविधामा रहेको प्रतीत हुन्छ । यतिबेला देशभर स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुन लागिरहेको छ । तर, चुनावको प्रारम्भिक गतिविधि हेर्दा नेपाली राजनीति जे जति अस्थिर, अस्वस्थ र प्रदुषित छ त्यस्तै देखिन्छ विश्वविद्यालय, क्याम्पसहरुमा स्ववियू निर्वाचनको प्रचार प्रसार, आरोप प्रत्यारोप, लछारपछार र तालाबन्दीका घटना ।

अहिले स्ववियु निर्वाचनको मिति सम्मुखमा आउँदै गर्दा देशका कैयन क्याम्पसमा एकआपसमा विद्यार्थी संगठनहरु बिच झडप, तोडफोड र अवरोधका घटना भइरहेका छन् । केन्द्रीय क्याम्पस त्रिविमा नेविसंघमा उम्मेदवारी विवाद हुँदा सोही पक्षका विद्यार्थी नेताले तालाबन्दी गरेका छन् । गत २३ फागुनमा नेविसंघका नेतासहिका विद्यार्थीले त्रिविका रेक्टर डा. खड्ग केसीको कार्यकक्ष तोडफोड गरे । सो घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । हाल काठमाडौंमा त्रिवि केन्द्रीय क्याम्पस र शंकरदेवसहित आठवटा क्याम्पसमा तालाबन्दी छ । शंकरदेवमा अखिल, अखिल क्रान्तिकारी र अनेरास्ववियू समाजवादीले तालाबनदी गरेका छन् । विश्वभाषा, एनआर कलेज, ग्रामीण आदर्श कलेज, पब्लिक युथ क्याम्पस, पिपुल्स क्याम्पस, सरस्वती बहुमुखी क्याम्पसमा तालाबन्दी छ । बागलुङको धौलागिरी बहुमुखी क्याम्पसमा पनि उम्मेदवारी दर्ताकै विषयलाई लिएर नेपाल विद्यार्थी संघका नेताहरु बिच हात हालहालकै अवस्था देखियो । विवाद हुँदा काठमाडौंका अन्य पाँच क्याम्पसमा उम्मेदवारी नै दर्ता हुन सकेको छैन । शुक्रबार मात्र ताहाचल लगायत कलेजमा झडप भयो । कालीमाटीको एडभान्स इन्जिनियरिङ क्याम्पसमा तोडफोड भएको छ । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा चुनावको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले त्यहाँ कुर्सी तोडफोड गरेका छन् । संगठनले उठाएको उम्मेदवारमाथि असन्तुष्टि जनाउँदै इतर पक्षले विरोध गरेको हो । विद्यार्थी संगठनबिच सुर्खेत बहुमुखी क्याम्पसमा पनि लफडा भएको छ । यहाँ पनि विद्यार्थी नेताहरूले तोडफोड गरेका छन् । रुपन्देहीका दुई ठुला क्याम्पस बुटवल र भैरहवा बहुमुखी क्याम्पसमा पनि तालाबन्दीका कारण निर्वाचन प्रक्रिया रोकिएको छ । पाँच विद्यार्थी संगठनले १८ फागुनमा निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेका थिए । क्याम्पसमा तोडफोड पनि भएको थियो ।

आवधिक निर्वाचन लोकतन्त्रको सबै भन्दा सुन्दर विशेषता हो । तर, हामीकहाँ निर्वाचन भने पछि जे जसरी भए पनि अनेक हत्कण्डा अपनाएर जित्ने भन्ने सोच व्याप्त देखिन्छ । यही सोच र प्रवृत्तिका कारण आजका उदाउँदा विद्यार्थी नेताहरु पनि उही पुरानै खराब प्रवृत्तिहरुबाट ग्रसित भइरहेका छन् । आफ्ना नवीनतम योजना एजेन्डाहरु विद्यार्थी समक्ष राखेर मन जितेर होइन, धाकधम्की, रवाफ,लोभलालच तोडफोड, झडप, अवरोधजन्य गतिविधि गरेर चुनाव जित्ने होडमा विद्यार्थी संगठन र उम्मेदवारहरु देखिन्छन् । यो कदापि राम्रो अभ्यास र प्रवृत्ति होइन । उच्च शिक्षा अध्ययनरत विद्यार्थी वर्ग भनेको अत्यन्त सचेत र शिक्षित तप्का हो । यो तप्का कसैकाले भुलभुलैयामा पर्नु हुँदैन । विश्वविद्यालय र क्याम्पसको हकहितका लागि समर्पित योग्य, कर्मठ उम्मेदवारलाई छनोट गरेर यसपटकको स्ववियू निर्वाचनबाट विद्यार्थीहरुले नयाँ सन्देश प्रवाह गर्नुपर्छ । संगठनहरु बिचको प्रतिस्पर्धा भएकाले आस्थागत विषय त स्वभाविक हुन्छ तर यतिमात्रैले निर्णायक भूमिका होइन, आम विद्यार्थीकै विवेक सहितको अभिमतले स्ववियूको भविष्य निर्धारण गर्नेछ । अतः यसलाई स्वस्थ र मर्यादित बनाउन विद्यार्थी संगठन, क्याम्पस प्रशासन र सम्बद्ध सबैले सकारात्मक भूमिका खेल्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *