आदर्श सञ्चार, म्याग्दी
क्षेत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको १६औं वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै क्षेत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष अमृतदेवी बानियाँले इतिहासविद् र अनुभवीहरुसँग आवश्यक समन्वय तथा सहकार्य गरेर क्षेत्री समाजलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
समाज म्याग्दीको पूर्व अध्यक्षसमेत रहनुभएकी केन्द्रीय उपाध्यक्ष बानियाँले समाजको विकासका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने र बन्धुहरुको हकहित र उत्थानको लागि सबै एकापसमा केन्द्रित हुनुपर्नेमा जोड aदिनुभयो । म्याग्दीका संस्थापक अध्यक्ष एकेन्द्रबहादुर रावलले वि.सं. २०५३ सालमा नै क्षेत्री समाज गठन गर्ने आफूले तयारी गरेको भए पनि १० वर्षपछि धकेलिन पुगेको बताउनुभयो ।
कार्यक्रमको अवसरमा क्षेत्री समाजको आजीवन सदस्यता वितरण गर्नुका साथै जिल्लास्थित पत्रकार महासंघ, म्याग्दी जेसीज, सञ्चारिका समूहलगायत विभिन्न संघसंस्थामा निर्वाचित क्षेत्री बन्धुहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, क्षेत्री समाज म्याग्दीका वरिष्ठ उपाध्यक्ष एवं बेनी नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँ, म्याग्दी जेसीज वर्ष सन् २०२५ का शाखा अध्यक्ष विनोद घर्ती क्षेत्री र आजीवन सदस्य एवं सम्मानित व्यक्ति नगेन्द्र पाण्डेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम क्षेत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी केसीको अध्यक्षता, सचिव हिमबहादुर भण्डारीको सञ्चालन र महिला समाजका अध्यक्ष सन्जु बरुवालको स्वागतमा सम्पन्न भएको थियो । वि.सं. २०६३ सालमा स्थापना भएको क्षेत्री समाज म्याग्दीले संस्थागत विकाससहित विगतमा हक, अधिकार तथा जातीय सद्भावका लागि विभिन्न आन्दोलन र क्षेत्रीहरुको उत्थानमा आवश्यक सहयोग गर्दै आइरहेको जनाएको छ ।