डम्मर बुढामगर, बागलुङ
बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्युस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो । सात वटा वडा रहेको निसीखोलामा वडा नम्बर ५ र ६ मा मात्रै मगर खाम भाषा बोल्ने गरिन्छ ।
अन्य वडामा भने नेपाली भाषामै पाठ्यपुस्तक तयार गरेर लागु गरेको निसीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य वडाका विद्यालयमा पढाई हुने विषयवस्तु एउटै भए पनि दुई वटा वडाका १६ विद्यालयमा ‘मगर खाम भाषा’ पाठ्यपुस्तक पढाइ हुने गरेको छ ।
पालिकाभर ४५ विद्यालय भएपनि २९ विद्यालयमा नेपाली भाषमै पढाइ हुने उहाँको भनाइ छ । अहिले कक्षा एकमा स्थानीय पाठ्यपुस्त लागु गरेको भन्दै शैक्षिक सत्र २०८२ मा कक्षा २ र ३ मा पनि पठनपाठन गराउने शाखा प्रमुख न्यौपाने बताउनुहुन्छ । सोही अनुसार पाठ्यपुस्त छपाईको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
न्यौपानेले भन्नुभयो – “निसीखोलामा विभिन्न जातजाति बसाइँ छ, यहाँ खास गरि वडा नम्बर ५ र ६ मा मगर खाम भाषा बोल्ने गर्नु हुन्छ, अन्य वडामा त्यो भाषा बोल्नु हुन्छ, अहिले हामीले लागु गरेको पाठ्यपुस्तको विषयवस्तु सबै एउटै हो, वडा नम्बर १, २, ३, ४ र ५ का बालबालिकाले नेपालीमै पढ्छन् भने दुई वटा वडाका विद्यार्थीले मगर खाम भाषामा पढ्छन् ।”
न्यौपानेले कक्षा १ देखि ८ सम्म पाठ्यक्रम तयार भएको भन्दै पाठ्यपुस्तक प्रत्येक वर्ष पछाई गर्ने र लागु गर्दै जाने बताउनुभयो । मगर खाम भाषाको पुस्तक तयार गर्नका लागि मगर प्रतिष्ठानबाट चार जना र स्थानीय सात जना विज्ञ परिचालन गरेको उहाँको भनाइ छ । मगर खाम भाषाको पाठ्यपुस्तक तयार गर्न केही अप्ठ्यारो परेको न्यौपानेले सुनाउनुभयो ।
पाठ्यपुस्तकमा निसीखोलाको जनजीवन, पर्यटन, परम्परा, संस्कृति, कृषि, पशुपालन लगायतका विषयवस्तु समावेश गरिएको छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले मगर खाम भाषा संकटमा पर्न थालेपछि संरक्षणका लागि पाठ्यपुस्तक बनाएर विद्यालयमा पढाउन थालेको बताउनुभयो ।
पछिल्लो समय बालबालिकाहरुलाई सहर बजार लगेर पढाउने प्रचलन बढेपछि मगर खाम भाषा लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । गाउँपालिकाले भाषा संरक्षणका लागि विज्ञसमेत खटाएर पाठ्यक्रम र पाठ्यपुस्तक बनाउन थालेको अध्यक्ष घर्ती मगरले बताउनुभयो ।