आदर्श सञ्चार, बागलुङ
राष्ट्रिय सहकारी महासंघ नेपालले ६८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा भेटौ सदस्य अभियान सञ्चालन गर्न देशभरका सहकारी संघ संस्थाहरुलाई आव्हान गरेको छ ।
चैत २० गते मनाउन लागिएको ६८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा सबै सहकारी संघ संस्थाहरुले कम्तिमा २० प्रतिशत सदस्यहरुको सहभागिता हुने गरी भेटौ सदस्य अभियान सञ्चालन गर्न आव्हान गरेको हो ।
महासंघका अध्यक्ष ओमदेवी मल्लले मंगलवार एक विज्ञप्ती प्रकाशित गरी आम समुदायमा सहकारी बारे सकारात्मक सन्देश प्रदान गर्न, सरोकारवाला निकायमा यसको महत्वको बारेमा थप बोध गराउनका लागि सहकारी दिवसलाई थप प्रभावकारी रुपमा मनाउन आव्हान गर्नु भएको हो ।
महासंघले राष्ट्रिय सहकारी दिवससंगै अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ का अवसरमा देशव्यापी रुपमा सहकारी सम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्ने खालका कार्यक्रम गर्न सहकारी संघ संस्था, प्रदेश सरकार, स्थानीय तह लगायत सरोकारवालाहरुलाई आव्हान गरेको छ ।
मातहतका संघहरुलाई कार्यक्रम तालिका सहित सहकारी दिवस मनाउन आव्हान गरिएको महासंघका अध्यक्ष मल्लले जानकारी दिनुभयो । राष्ट्रिय सहकारी दिवस मनाउने क्रममा केन्द्रमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्रीको अध्यक्षतामा १५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ ।
महासंघले जिल्लास्तरमा सहकारी दिवस मनाउनका लागि जिल्ला सहकारी संघका अध्यक्षको संयोजकत्वमा सबै विषयगत सहकारी संघहरु, अन्य सरोकारवालाहरुलाई समेत सहभागी गराई मूल समारोह समिति गठन गर्न, प्लेकार्ड, ब्यानर लगायतका प्रवद्र्धनात्मक प्रर्दशनी, पालिकाले स्थानीय अवस्था अनुसार सहकारीको भूमिका, स्थानीय उत्पादन र उत्पादकत्व वृद्धि तथा मूल्य श्रृखलामा सहकारी लगायतका विषयमा जानकारी दिने गरी दिवस मनाउन आव्हान गरेको छ ।
महासंघले यस वर्षका लागि मर्यादित सहकारी ः समुन्नत समाज भन्ने मुल थिम (नारा) तय गरेको छ । सबै सहकारी संघ संस्थाहरुलाई थिममा आधारित भएर गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ ।
महासंघले राष्ट्रिय सहकारी दिवसका अवसरमा देशभरका सहकारी संघ संस्थाहलाई आव्हान गरेका कार्यक्रमहरु ः
१. पत्रकार सम्मेलन आयोजना ः २०८१ चैत ८ गते केन्द्रमा नेपाल सरकारको नेतृत्वमा राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय संघहरु, सहकारी बैकको सहभागितामा गठित मुल समिति ।
२. पत्रकार सम्मेलनको आयोजना ः २०८१ चैत ८ गते जिल्ला स्तरमा गठित मुल समितिले सोही दिन पत्रकार सम्मेलन गर्ने ।
३. चैत १० देखि १९ गतेसम्म नियमित रुपमा राष्ट्रिय तथा स्थानीय स्तरका सञ्चार गृह तथा सामाजिक सञ्जाल मार्फत सहकारीले सामाजिक न्याय, स्थानीय अर्थतन्त्र एव राष्ट्रि अर्थतन्त्र निर्माणमा पु¥याएको योगदान झल्कने भिडियोग्राफी एवं फोटो ग्राफी प्रदर्शन गर्ने ।
४. चैत १० देखि १९ गतेसम्म नियमित रुपमा प्रत्यक संघ संस्थाले आफ्नो विशिष्ठ सेवा तथा उत्पादनको बारेमा उत्कृष्ट विद्युतीय सामग्री तयार गरी सामाजिक सञ्जालमा संप्रेषण गर्ने ।
५. चैत १० देखि १९ गते भित्र भेटौ सदस्य कार्यक्रम अन्तरगत कम्तीमा २० प्रतिशत सदस्यको घरदैलो भेटघाट गर्ने र यसलाई नियमित गर्ने ।
६. सदस्यहरुका सुखमा सहकारी ः दुखमा सहकारी कार्यक्रमलाई अभियानको रुपमा नियमित सञ्चालन गर्ने ।
७. कम्तीमा ४० प्रतिशत सदस्यलाई अनिवार्य वित्तीय साक्षरता र सहकारी शिक्षा सञ्चालन गर्ने ।
८. निष्क्रिय रहेका जिल्ला, प्रदेश र केन्द्रीय संघलाई सक्रिय बनाउने ।
९. अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ का निर्दिष्ट कार्यक्रमहरु गर्नुका साथै बृहत सकारी अनुगमन गर्ने ।
१०. जिल्ला, प्रदेश र केन्द्रीय संघहरुले वर्षमा कम्तीमा एक पटक सदस्य संस्थाहरुको अनुगमन गर्ने ।
११. केन्द्रीय र जिल्ला स्तरमा यूवा, महिला लगायतका सम्मेलन गर्ने ।
१२. सहकारी के हो ? अन्य व्यवसायबीचको फरक के छ ? कस्तो संस्थाको सदस्य बन्नुपर्ने ।
१३. सदस्यको भूमिका के हो भन्ने जस्ता आधारभूत मान्यताहरुको उजागर गर्ने कार्यक्रम सञ्चालन गर्ने ।
१४. स्थानीय आवश्यकता र भौगालिक अवस्थाका आधारमा अन्य कार्य जस्तै रक्तदान, सरसफाई, वृक्षारोपण लगायतका सामाजिक कार्य गर्न सकिने ।