रु पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र संचालन

सिर्जना पन्त, बागलुङ
बागलुङमा रु पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । चार जना भुतपूर्व बेलायती र दुई जना सिङ्गापुरे लाहुरेसहित छ जनाले संयुक्त लगानी गरेर प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

उहाँहरुले बागलुङ नगरपालिका–४ स्थित डाँडाखेतमा बेलायती र सिङुगापुरको सेनामा भर्ती हुन चाहाने युवाहरुका लागि सुविधा सम्पन्न छात्रावाससहितको प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छन् । प्रशिक्षण केन्द्रमा सन् २०२६ को भर्तीका लागि तालिम लिन चाहाने युवाहरुलाई भर्ना गर्न सुरु गरिएको प्रशिक्षण केन्द्रका सचिव जंग बहादुर पुनले जानकारी दिनुभयो ।

बागलुङ, म्याग्दी र पर्वतका युवाहरु बेलायत र सङ्गिापुरको लाहुरेमा भर्ती हुनका लागि पोखरा, बुटवल लगाएतका स्थानमा पुगेर तालिम लिनु पर्ने बाध्यता रहेको भन्दै उनिहरुलाई नजिकै सेवा दिने उद्देश्यले तालिम केन्द्र सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

जैमिनी नगरपालिका–३ दमेक स्थायी घर भएका बेलायती सेनाका भुतपूर्व लाहुरे पुनले ३ वर्ष पहिलेबाट प्रशिक्षण केन्द्र निर्माणको काम सुरु गरेको जानकारी दिनुभयो । ३ वर्ष पहिले डाँडाखेतमा ६ रोपनी जग्गा खरिद गरि निर्माण कार्य सुरु गरिएको तालिम केन्द्रमा १०० जना युवाहरुलाई एक साथ राखेर तालिम प्रदान गर्न सकिने पुनको भनाइ छ ।

उहाँले भन्नुभयो – “बागलुङ, म्याग्दी र पर्व क्षेत्रका धेरै युवाहरु लाहुरे बन्न बढी चासो देखाउँछन्, यस क्षेत्रका कुनै पनि प्रशिक्षण केन्द्र नहुँदा अहिले हामीहरुले संचालनमा ल्याएका हौँ, अहिलेसम्म तालिम केन्द्रमा ५ करोड ५० लाख भन्दा बढी लागनी भइसकेको छ ।”

१८ वर्षदेखि २१ वर्ष उमेर समुहका युवाहरु सिङ्गापुर र बेलायती सेनामा भर्ती हुनका लागि योग्य हुने भए पनि तालिममा भने १६ वर्ष पछिनै प्रवेश गर्न सकिने केन्द्रका कोषाध्यक्ष पूर्ण बहादुर रानाले बताउनुभयो । राना सिङ्गापुर पुलिसबाट अवकास लिएका अनुभवी व्यक्ती हुनुहुन्छ ।

आफु र आफुजस्तै सेना र प्रहरीको अनुभव भएका साथिहरु मिलेर आफ्नो सेवानिवृत्त जीवन नाफा भन्दा पनि सेवाको भावले लगानी गरौँ भन्ने उद्देश्यले तालिम केन्द्र सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । अहिले काठेखोला गाउँपालिका–८ लेखानी स्थायी घर भएका पूर्ण बहादुर श्रेष्ठ केन्द्रमा प्रशिक्षकका रुपमा खट्नु भएको छ ।

पोखरा, बुटवल र देशका विभिन्न स्थानमा पुगेर बेलायती सेनामा भर्ती हुने युवा खोज्ने र छनौट गर्ने प्रक्रियामा सहभागी गराउने र छनौट समेत गर्ने प्रक्रियाको अनुभव संगालेका श्रेष्ठले साविक धौलागिरी क्षेत्रमै तालिम केन्द्र नभएको हुँदा आफुहरुले यस क्षेत्रका युवालाई सेवा दिने उद्देश्यले तालिम केन्द्र सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *