सहरकाे रहर छाेडेर गाउँ फर्केका सापकाेटा ‘वडा अध्यक्ष र अगुवा कृषक’

आदर्श सञ्चार, बागलुङ
छोराछोरी प्रदेश लागेपछि जैमिनी नगरपालिका वडा नं. २ का प्रेम प्रसाद सापकोटालाई काठमाडौं बस्ने रहर जाग्यो । काठमाडौंको सेवा सुविधाले तानेपछि डेढ दशक उतै आनन्दले बसेका सापकोटालाई गाउँ फर्कने सोच आयो । गाउँमा युवा सकिदै गएपछि कृषि कर्म कमजोर बन्दै गरेको कुरा उहाँलाई बिझ्न थाल्यो ।

गाउँ फर्केका सापकोटा २०७४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित हुनु भयो । जनप्रतिनिधि बनेसंगै उहाँले कृषि कर्मलाई पुनः जगाउने योजना बनाउनु भयो । गाउँमा युवा कम छन्, कृषिमा लाग्ने जनशक्ति क्रमश कमजोर बन्दै गएको छ, यस्तो अवस्थामा मैले गाउँमा केही गर्नु पर्छ, म संगै अरुलाई पनि कृषि कर्ममा थप उत्साहित गराउनु पर्छ भन्ने ठानेर फलफूल खेती गर्न थालेको छु, सापकोटाले भन्नुभयो,–‘जति सकिन्छ, कृषि कर्मलाई निरन्तरता दिन्छु भनेर सुन्तला खेती गरेका छौ ।’

गाउँ फर्केर आफ्नो बारीसंगै अरुको समेत जग्गा खरिद गरेर फलफूल खेतीमा लागेका सापकोटा २०७९ को निर्वाचनमा वडा अध्यक्षमा विजयी भएर काम गर्दै आउनु भएको छ ।

वडा अध्यक्ष छु, जनप्रतिनिधिका हिसावले धेरै काम गर्नु पर्छ, घरमा म र श्रीमती मात्रै छौ, छोरा छोरीसंग भिडियो कलमा हाइ हेलो गर्ने हो । बुडाबुढीले जति गर्न सकिन्छ, मेहेनत गरेका छौ, हामीले कृषि कर्म गरेर नाफा कमाउने भन्दा पनि गाउँका दाजुभाई दिदी बहिनीहरुलाई कृषि कर्ममा टिकी रहनलाई प्रोत्साहन हुन्छ भन्ने लागेर काम गरिरहेका छौ, उहाँले भन्नुभयो ।

२५ रोपनी जग्गामा सुन्तला खेती शुरु गरेका वडा अध्यक्ष सापकोटाले यसपटक सुन्तला विक्री गरेर १ लाख रुपैया आम्दानी गर्नु भएको छ । सुन्तलाका बोट नै ठेक्का लिने व्यापारीहरु आउनु भयो, उहाहरुले १ लाख दिन्छौ, सुन्तला हामीलाई दिनुस भनेपछि दिएका हौ, वडा अध्यक्ष सापकोटाले भन्नुभयो,–‘अहिले सुन्तलाका विरुवा सानै छन्, अहिले नै १ लाख आम्दानी भयो भने विरुवा ठुला हुदा राम्रै आम्दानी हुन्छ जस्तो लागेको छ ।’

जनप्रतिनिधि भनेको गाउँका जनताको प्रशासनिक काम गर्ने, विकास निर्माणका लागि बजेट विनियोजन गर्ने मात्रै होइन, कृषि प्रधान देशका जनतालाई कृषिमा आकर्षित गर्ने, उनीहरुलाई कृषि पेसामा लागि रहन प्रेरणा दिने काम पनि हो भन्ने ठानेर कृषि कर्ममा लागेको सापकोटाको भनाइ छ ।

आफ्नो वडाका कृषि तथा दुग्ध सहकारीमा आवद्ध शेयर सदस्यहरु, अगुवा कृषकहरु लगायत कृषि कर्मबाट टाढिदै गएको जनशक्तिलाई ‘गरे सकिन्छ है’ भन्ने सन्देश दिनका लागि शुरु गरेको सुन्तला खेतीबाट राम्रै आम्दानी हुने रहेछ भन्ने लागेको छ । धेरैले तरकारी खेती, दुध उत्पादन, फलफूल खेती गर्नु भएको छ । सबैले गर्न थालेपछि उत्पादन भएको वस्तुलाई बजारीकरण गर्न, आवश्यक परे प्रशोधन गर्न समेत सहज हुने सापकोटाले बताउनुभयो ।

हामीहरुले सुन्तला मात्रै होइन, किवी, एभोगार्डो लगायतका फलफूल पनि लगाउन शुरु गरेका छौ, जसले जे सक्छौ, त्यही उत्पादन गरौ भन्ने हामी बीचमा सल्लाह भएको छ । धेरै जनाले उत्पादन गर्न थाल्नु भएको छ, दुध लगायत तरकारी जैमिनीको केन्द्र कुश्मीसेरा बजार, बागलुङ बजारमा समेत विक्री वितरण हुन थालेको उहाले जानकारी दिनुभयो ।

वडा अध्यक्ष सापकोटाकै सक्रियतामा गत वर्ष स्थापना भएको पञ्चदेव दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक डेढ सय लिटर दुध बागलुङ दुग्ध उत्पादक सहकारी संस्थामा पठाउने गरेको संघका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो ।

छोटो समयमा संस्थाले राम्रो दुध पठाउदै आएको छ । अझै बढ्ने संभावना रहेको पाइयो, स्थलगत अनुगमनपछि संघका अध्यक्ष गौतमको भनाइ थियो । आफ्नै २५ रोपनी जग्गामा ४ सय सुन्तलाका विरुवा बढाउने, ३ सय एभोगार्डोका विरुवा लगाएका छौ, कसैले दुध उत्पादन, कसैले तरकारी उत्पादन, कसैले खाद्यान्न उत्पादन गर्ने गरेका छौ । सबै जना उत्पादनमा केन्द्रीत हुन थाल्यौ भने बजारीकरणमा पनि सहजता हुन्छ, खरिद गर्नेहरुका बीचमा पनि प्रतिस्पर्धा हुने र उत्पादित वस्तुको मूल्य बढ्न सक्ने सापकोटाको भनाइ छ ।

म धेरै ठाउँमा पगेको छु, पूर्व पश्चिम उत्तर दक्षिण धेरै ठाउँमा पुग्दा यो ठाउँको जस्तो कृषि कर्मका लागि उपयुक्त हावापानी, माटो अन्यत्र पाएको छैन, यहाँका किसानहरु मेहेनत पनि धेरै गर्नु हुन्छ, साविक दमेक गाविस वडा नं. ६ मा सिंचाइको पनि राम्रो व्यवस्था भएकाले कृषिमा अझै धेरै गर्न सकिने वडा अध्यक्ष सापकोटाले बताउनुभयो ।

वडा अध्यक्ष मात्रै होइन, वडा सदस्य आनन्द अम्माइ पनि कृषि कर्ममा सक्रिय हुनुहुन्छ । हामी दुवै जनाले कृषिलाई प्राथमिकताका साथ अगाडि बढाएका छौ । कृषि क्षेत्रको विकास बिना गाउँको विकास संभव छैन, वडा सदस्य अम्माइले भन्नुभयो, जनप्रतिनिधि लगायत सबै सरोकारवालाहरुले कृषिलाई ध्यान दिएर काम गर्नु पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *