लकडाउनमा यसरी बित्दैछ बागलुङका प्रदेश सांसदका दिनचर्या

देशमा तीन तहको सरकार छ । खासमा प्रदेश सभा अर्थात प्रदेश सभा प्रदेशको नीति निर्माणको छलफल र जनताका गम्भिर समस्याहरुबारे प्रदेश संसद मार्फत सरकारको ध्यानाकर्षण गर्ने गराउने थलो हो । जसमा बागलुङ जिल्लाबाट धेरै जना सांसद छन् । यस बेला सामाजिक सञ्जाल र अनौपचारिक कुराकानीमा ठुलो संख्यामा रहेका प्रदेशका सांसदको भुमिका खोजी हुन थालेको छ । अहिलेको कोरोना संकटमा पनि जिल्लाबाट प्रतिनिधित्व गर्ने उनीहरु सबैले अहिले आफुहरु होम क्वारेन्टाइनमै रहेको बताउँछन् । के गर्दैछन् ? आदर्श अनलाइनकर्मी सिर्जना पन्तले होम क्वारेन्टाइन अनुभव र भुमिका खोज्ने प्रयास गरेका छन्ः

इन्द्रलाल सापकोटा
प्रदेश सभा सदस्य,गण्डकी प्रदेश बागलुङ

सबैभन्दा पहिलो कुरा कोरोना संक्रमण हुन नदिन कसरी जोगिने र संक्रमण भए पछि के गर्ने भनेर सचेतना फैलाउने काम गरिरहेको छु । सरकारले निर्देशित गरेका कुरा आफुले पालना गर्ने र अरुलाई पनि पालना गर्ने लगाउने काम गरिरहेको छु । दोस्रो कुरा अहिले पहिले जस्तो सभा सम्मलेन, बैठक कार्यक्रम छैनन् । त्यसैले समय मिलाएर अध्ययन गरिरहेको छु । म जनप्रतिनिधि, पार्टीको नेतृत्वमा भएको व्यक्ति अझै बढि जिम्मेवार हुनुपर्ने समय हो यो । फोन, समाजिक सञ्जाल मार्फत सिंगो पार्टी पक्तिलाई परिचान गर्ने काम गरिरहेका छौं । यतिबेला हाम्रा नगर कमिटी, गाउँ कमिटीहरु संगठित हुन नपाए पनि जहाँ–जहाँ हुनुहुन्छ त्यहीबाट जनेचता जगाउन, सूचनालाई सहि समयमा सहि ढंगले पु¥याउने काम गरेका छौं । हामीसँग जोडिएर रहेका जनप्रतिनिधिमुलक निकाय गाउँपालिका, नगरपालिकासंग नजिकबाट सम्पर्कमा रहेर उहाँहरुलाई जनतामुखी बन्न प्रेरित गरेका छौं । उहाँहरुलाई स्थानीय पार्टी कमिटीले सहयोग गरेको छ । वडा–वडाबाट लगत संकलन गर्न, खाद्यान्न वितरण गर्न, क्वारेन्टाइन निर्माण गर्न सहयोग गरिरहेका छौं । सबैभन्दा मुख्य कुरा परिस्थिति आतंकित छ । जनतालाई तनावमुक्त गराउनका लागि हामीहरु लाग्नुपर्ने हुन्छ । आजै मात्र मैले कोरोना संक्रमित किशोरीको गाउँका १० जना भन्दा बढी व्यक्तिलाई फोन गरेर उहाँहरुको कुरा सुने र नआत्तिनुस् भनेर भने ।

अस्पतालबाट युवती सहित उनका परिवार र भेटघाट गरेका व्यक्तिका स्वाब परिक्षणको लागि पठाईएको छ । त्यो रिपोर्ट नेगेटिभ आओस् भन्ने अपेक्षा गरेका छौं । उनीहरुको रिपोर्टको त्यस क्षेत्रका मानिसहरुले व्यग्र प्रतिक्षा गरेका छन् । हामीहरुलाई पनि त्यो रिपोर्टको प्रतिक्षा छ । त्यो नेगेटिभ आयो भने केही हद सम्म आम मानिसहरुको भय कम हुने थियो । गरेका आज गण्डकी प्रदेशबाटै कोरोना संक्रमणको परीक्षण गर्न सुरु भएको छ । यसले गर्दा अब हामीहरुलाई परीक्षणको लागि पठाईएको स्वाबको रिपोर्ट आउन समय लाग्दैन । स्वास्थ्यकर्मीको सुरक्षाको लागि केन्द्र सरकार, प्रदेश सरकार संग प्रत्यक्ष सम्पर्कमा छौं । आपूर्ती व्यवस्थाका साथिहरुलाई पनि बागलुङलाई प्राथमिकतामा राखेर काम गर्दिनुस् भनेको छु । अस्पतालमा ५० थान पीपीई आएको छ । स्वाब निकाल्नको लागि तत्कालको लागि समस्या नहोला । अहिले गाउँ गाउँका स्वास्थ्य संस्थाबाट पनि पीपीईको माग भएको छ । सके त सबैको हरेक सर्वसाधारणको स्वाब परिक्षण गर्न पाए हुने हो, तर हाम्रो स्रोत, साधनले कति भ्याउछ त्यो अनुसार गर्नुपर्ने भएकाले विश्व स्वास्थ्य संगठनले भनेका कोरोनाका लक्षण देखिएका व्यक्तिको मात्र परिक्षण गर्ने र अन्यलाई होम क्वारेन्टाईनमा राख्नको लागि अनुरोध गरेका छौं । सामान्य रुघाखोकी, ज्वरो अरु समयमा पनि आउछ तर यतिबेला सामान्य अवस्थामा पनि सबैले मेरो कोरोना परिक्षण गर्दिनुप¥यो भन्नुहुन्छ । यो चेतनाको कमीको कारणले हो, यसको लागि जागरण आवश्यक छ । त्यही काम हामीहरुले गरिरहेका छौं । घरमा बसेर सरकार, सर्वसाधारण, डाक्टर, प्रजिअ संग सहकार्य र सम्पर्क गर्ने काम गरिरहेको छु । पार्टी अध्यक्ष, सांसद भएको हुनाले अलि बढि दबाब महशुष गरेको छु । सर्वसाधारण, आफु र आफ्नो परिवारको सुरक्षा संगै सबैको मनोवल उच्च गराउने गरि काम गर्नुपर्ने अवस्था छ । लकडाउनको पूर्णरुपमा पालना गरौं । आफुपनि सुरक्षीत बसेर अरुलाई पनि सुरक्षीत राख्नुस् भनेर भन्न चाहान्छु ।

मणिभद्र शर्मा कंडेल
प्रदेश सभा सदस्य, गण्डकी प्रदेश बागलुङ


अस्ती सम्म बागलुङ थिए । हिजो पोखरा फर्किएको छु । गाउँमा हुँदा सबैलाई सरकारले आब्हन गरेको लकडाउनको निर्देशनलाई पालना गर्नुस् भनेर आग्रह गरेको थिए । अहिले पनि सबैसंग प्रत्यक्ष फोनमा कुरा भइरहेको छ । फोनबाट सबैलाई कोरोना संक्रमण हुन सक्ने लक्षणको बारेमा जानकारी गराएको छु । नेपाली काँग्रेसको संसदिय दलको म प्रमुख सचेतक छु । त्यसमा हामीहरु १५ जना छौं, सबैले प्रति व्यक्ति १० हजारका दरले १ लाख ५० हजार रुपैयाँ गण्डकी प्रदेश सरकारले खोलेको खातामा जम्मा गरेका छौ । चीनमा कोरोना संक्रमण भएको थियो । युरोपका देशरुमा फैलिइरहेको थियो तर हाम्रो सरकार संवेदनशिल देखिएन । स्वास्थ्य सामाग्रीहरु तयार गर्नुपर्ने थियो । सरकार एकदमै उदासिन देखियो । सरकारको क्रियाकलाप प्रति म निकै दुखित छु । बागलुङमा कोरोना संक्रमित युवतीका परिवार र उनले भेटेका व्यक्तिहरुको स्वाब परिक्षण गराउनको लागि पटक पटक मुख्यमन्त्री र मन्त्रीहरु संग आग्रह गरेपछि सोमवार मात्र जाँच गर्न पठाइयो । हामी सांसद जनता सबै स्वयम् पनि सचेत सजग भएर बस्नुपर्ने भएको छ । सबैमा म यो आग्रह पनि गर्न चाहन्छु ।

कृष्ण थापा
प्रदेश सभा सदस्य, गण्डकी प्रदेश बागलुङ


पोखरामा बसेको छु । गाउँका सबै वडामा जिम्मेवार व्यक्तिसंग फोन सम्पर्क गरिरहेको छु । कोरोना संक्रमणबाट बच्नको लागि सबैलाई सचेत गराउनुस् भनेर जनप्रतिनिधी संग फोन सम्पर्क गरिहरेको छु । अन्य समय अध्ययन गर्ने, समाचार सुन्ने हेर्ने गरेर वितेको छ ।

चन्द्र बुढा सागर
प्रदेश सभा सदस्य,गण्डकी प्रदेश बागलुङ


मानिसहरुमा एकदम भय पैदा भएको छ । यो सयमा सबैभन्दा पहिले सचेतना र जागरणको आवश्यकता छ । त्यसैले व्यक्तिलाई भेट्न सम्भव नभए पनि फोन मार्फत सबैलाई सचेत रहन आग्रह गरेको छु । आफ्नो प्रदेश निर्वाचन क्षेत्रका जनताका समस्या, भावनाहरु सम्बोधन गर्न स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य, समन्वय गरिरहेको छु । व्यक्तिगत रुपमा त यो अवस्थामा के नै गर्न सकिन्छ र ? तर संस्थागत रुपमा पार्टीले सरकारले दिएको निर्देशनलाई पालना गर्ने गराउने गरिरहेको छु । विहान वेलुका बाहिर निस्केर अवलोकन गर्ने र दिनमा घरभित्र बस्ने पुस्तकहरु पढ्ने गरेको छु ।

कोपिला बोहोरा
प्रदेश सभा सदस्य गण्डकी प्रदेश बागलुङ


सबै जनता देश विदेशमा भएका नेपालीहरुलाई सचेत रहन आग्रह गरेको छु । दैनिक ज्याला मजदुरी गरेर खानेहरुलाई यो समयमा निकै समस्या भएको छ । त्यसैले पार्टीमा र प्रतिपक्षमा बसेर भए पनि सरकारको ध्यानाकर्षण गरिरहेको छु । सरकारले लकडाउनको घोषणा गरेको छ । यो सरकारको लागि नभएर हाम्रो लागि हो । त्यसैले सबैले पालना गरौ भनेको छु । मेरो बागलुङको हल्लनचोक र रामरेखामा घर छ । परिवारका सदस्यहरु पनि बाँडिएर बसेका छौ । एकै ठाउँमा बस्दा जोखिम हुन्छ भनेर छुट्टा छुट्टै बसेका छौं । सबैले घरभाडामा छुट गरेको घोषणा गरिरहनुभएको छ । यो अवस्था कहिले सम्म लम्बिने हो । परिस्थितिलाई हेरेर भाडामा बस्नेहरुको अवस्था हेरेर पछि निर्णय लिनुपर्ला भनेर सोचिरहेको छु ।

दिपा रोका
प्रदेश सभा सदस्य,गण्डकी प्रदेश बागलुङ


लक डाउनमा बसेका छौं । बाहिर निस्कने बातावरण नभए पछि फोनबाट सचेतना जगाउने काम गरेको छु । मासिक सेवा सुविधाबाट १५ दिनको तलब भत्ता कोषका लागि प्रदान गरेका छौं । त्यो पनि फोन मार्फत भएको छ । बालबच्चा हेर्ने, पुस्तक पढ्ने गरेर दिन विताएको छु ।
नोटः प्रदेश सांसद पियारी थापा मातृ शोकमा छिन् । अन्य केहि सांसदलाई सम्पर्क गर्ने प्रयास गरिए पनि कुराकानी हुन नसकेकाले छुट भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *