राम बहादुर जि.सी.
२०५० साल चैत २६ गते जिल्ला सहकारी संघ लिमिटेड बागलुङको कर्मचारी नियुक्त भएर म सहकारी अभियानमा छिरेको थिए । सहकारी क्षेत्रको शुरुवात संयोग थियो, जिल्ला सहकारी संघ लिमिटेड बागलुङमा कर्मचारी मागेको रहेछ, संयोगले म परे, अर्थात अरु कसैको आवेदन नपरेका कारण म परे । त्यतिबेला सहकारी भन्ने के हो ? मलाई थाहा थिएन, गाउँमा एक जना अग्रज (काका) हुनुहुन्थ्यो, प्रेम बहादुर कुँवर, उहाँ मेरो माइला दाईसँग पढ्नु भएको हो, उहाँको स्वभाव सबैसंग साथी हुने, म ९ कक्षा पढ्दा देखि नै काका मेरो पनि साथी भइसक्नु भएको थियो, हामी धेरै सँगै हिड्थ्यौ, राजनीति लगायत धेरै विषयमा हामी छलफल गथ्र्यौ । उहाँ खाट्टी कांग्रेस हुनुहुन्थ्यो, हामीलाई अखिल पाचौको भूत जागेको थियो । २०४६ को जनआन्दोलनका बेला हामी डाँडाको चौपारीमा बसेर रेडियो सुन्दै आन्दोलनका कुरा गथ्र्यौ । उहाँले हामीलाई राजनीतिका माथिका कुरा सुनाउनु हुन्थ्यो ।
२०५० चैत दोस्रो साता सँगै बजार आएका थियौ, दिनभर आ–आफ्नो काममा व्यस्त भइयो । फर्कने समयमा उहाँले नै मलाई जिल्ला सहकारी संघमा कर्मचारी चाहिएको छ, आवेदन देउ भन्नुभयो, मैले निवेदन लेखेर दिए, उहाँले नै ल तिम्रो मात्र आवेदन परेछ, भन्नुभयो । केही नजानेको त्यो क्षेत्रमा यसरी संयोगले प्रवेश गरेको आजदेखि ३१ वर्ष पुरा भएको छ । मलाई सहकारी अभियानमा जोड्ने प्रेम बहादुर कुँवर काकाहरु बसाई सराई गरेर कावासोती जानुभयो । उतै उहाँको निधन भयो, सहकारी अभियानमा जोड्ने स्वर्गीय प्रेम काकाप्रति श्रद्धासुमन अर्पण गर्दछु ।
जिन्दगी सिकाई हो । संघको कर्मचारी भएपछिको एउटा रमाइलो प्रसंग छ, संघको प्रवन्धक बाबुराम आचार्य हुनुहुन्थ्यो । म सहायक थिए, संघले काम खासै केही गरेको थिएन, के गर्ने भन्ने पनि एकीन थिएन, अफिस आउने जाने काम भैरहेको थियो, सञ्चालक समितिले छिट्टै कारोबार शुरु गर्ने भनेको थियो । एक दिन प्रवन्धकले भौचर सकिएछ भन्नुभयो, म आफै अग्रसर भएर म लिएर आउछु भने, उहाँले हुन्छ भन्नुभयो, म सिधै नेपाल बैंकमा गएर ५ वटा भौचर मागेर ल्याए । मैले भौचर ल्याएको देखेर प्रवन्धक पहिला हाँस्नु भयो, पछि रिसाउदै यस्तो हुन्छ ? भौचार भनेर कराउनु भयो । खासमा भौचर उठाउने भन्ने पनि थाहा नभएको मान्छे म, भौचर भनेको बैंकमा पैसा जम्मा गर्नका लागि प्रयोग गर्ने कागज मात्र हो भन्ने जानकारी भएको मैले त्यो दिन भौचर उठाउने विषयमा जानकारी पाएको थिए ।
१६ हजार ५ सय तलब तोकिएको थियो । ३९ महिना संघको कर्मचारी हँुदा ४ महिना कालिका सहकारी संस्थामा काजमा रहेर काम गर्दा र पछि संघले खाद्यान्न पसल राख्दा ८ महिनाको गरी जम्मा १ वर्षको तलव बुझेको थिए । बाँकी तलब २०६४ मा जिल्ला सहकारी संघ विघटन हँुदा लेना देना केही छैन, दावा गर्ने छैन भनेर कागज गरिदिएको हुँ । त्यसपछि केही समय अन्य क्षेत्रमा काम गरेपछि २०५८ साल पुस १० गते जन्म गाउमा रेश बहुउद्देश्यीय सहकारी दर्ता गरियो, म त्यसको अध्यक्ष भए । त्यति बेलासम्म म पत्रकारितामा समेत संलग्न भइसकेको थिए । त्यसपछि पत्रकारिता र सहकारीता संगसंगै आजसम्म चलिरहेकै छ । सहकारी अभियान र पत्रकारिता सँग सँगै अगाडि बढेको थियो ।
म नेपाल समाचार पत्र दैनिक पत्रिकाको बागलुङ जिल्ला सम्वाददाता थिए, २०६० असार २५ गते राष्ट्रिय सहकारी बैंक लिमिटेड दर्ता भएको रहेछ, बैंकले सदस्यता लिनका लागि सहकारी संघ सस्थाहरुका लागि नेपाल समाचार पत्रमा सूचना प्रकाशित गरेको भेटाए, बजारमा बसेर पत्रकारिता गर्दै थिए, गाउँमा सहकारी थियो । भदौको नियमित बैठकमा बैंकको सदस्यता लिने निर्णय भयो । असोजमा मेडम एउटा कार्यक्रमका लागि काठमाडौं जानु पर्ने भयो । सानो छोरा रोहन १ वर्षका थिए । कार्यक्रममा बाबु पनि हेरिने, बैंकको सदस्य पनि लिने भनेर काठमाडौं गयौ र संस्थालाई बैंकको सदस्य बनाइयो ।
२०६० पुसको तेस्रो साता बैंकको प्रारम्भिक साधारणसभा हुने भयो, पत्र पुगेपछि म सहभागी भए । त्यसपछिका २१ वटा साधारणसभामा प्रत्यक्ष सहभागी भएको छु । बैंकले २०६१ साउन १९ गतेदेखि कारोबार शुभारम्भ ग¥यो । म त्यो कार्यक्रममा पनि सहभागी भए । साउन २० गते बैंकको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा गएको थिए, अध्यक्ष राजेशहरी जोशी, प्रवन्ध सञ्चालक केवी उप्रेती र सञ्चालक रमेश प्रसाद पोखरेलसँग भेट भयो, परिचय भयो ।
बैंकको कारोबार शुभारम्भको समाचार कुनै पनि पत्रपत्रिकामा आएको थिएन, अहिले जस्तो सहज समाचार आउने अवस्था पनि थिएन । सहकारी सञ्चारको प्राथमिकतामै थिएन । उहाँहरुले खै त हजुर पत्रकार ? हाम्रो साधारणसभाको समाचार कही आएको रहेन्छ भन्नुभयो, मैले बैंकमै बसेर समाचार लेखे अनि बैंककै फ्याक्समार्फत नेपाल समाचार पत्रमा पठाए, अहिले जस्तो प्रविधिको सुविधा पनि थिएन । भोलीपल्ट बैंकको समाचार मेरो बाइलाइनमा आयो । संयोग नै मान्नुपर्छ, त्यही समाचारका कारण म सहकारी बैकको टिमसंग नजिकिए । म बैंकमा औपचारिक प्रवेश नगर्दा पनि हरेक साधारणसभा लगायत कार्यक्रमका रिपोर्टिङ गर्नका लागि मलाई जिम्मेवारी दिइन्थ्यो ।
बैंकको पहिलो शाखा विराटनगरमा खुल्यो । अनि मैले बागलुङमा पनि शाखा खोलौ भनेर प्रस्ताव गरे । शाखा त सम्भव छैन, प्रतिनिधि संस्था खोलौ, ४० वटा संस्थालाई सदस्य बनाउनु पर्छ, लाग्नुस् भनेपछि म आएर जिल्लामा साथीहरुसंग छलफल गरे । म गाउँको सहकारीको अध्यक्ष बजारमा ठुलो कारोबार गर्ने सहकारीका अध्यक्षहरुले शुरुमा पत्याउनु भएन । त्यतिबेलासम्म धौलागिरीका जम्मा ४ वटा संस्था सदस्य थिए, बागलुङका रेश बहुउद्देश्यीय सहकारी, एकता सहकारी संस्था र सहयोगी वचत तथा ऋण सहकारी र म्याग्दीको बेनी वचत तथा ऋण सहकारी । बैंकको प्रारम्भिक साधारणसभामा यी ४ मध्ये रेशबाट म, एकताबाट तत्कालिन प्रवन्धक कृष्णप्रसाद शाक्य र बेनी वचतबाट तत्कालिन अध्यक्ष हरिकुमार श्रेष्ठ सहभागी थियौ । बागलुङमा शाखा सञ्चालनका लागि हामीले निरन्तर प्रयास गर्दै गयौ ।
२०६२ असोज १ गते बेनी बचत तथा ऋण सहकारी संस्थाको साधारणसभामा बैंकका तत्कालिन अध्यक्ष राजेशहरी जोशी प्रमुख अतिथि बनेर आउने जानकारी पाएपछि मैले बागलुङमा असोज २ गते बैंकको शाखा सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम राख्ने प्रस्ताव गरे । बैंकमा आवद्ध संस्थाका साथीहरुबीच सहमति भयो । २ गते नै ७ वटा संस्था सदस्य थपिए, शाखा स्थापनार्थ समन्वय समिति गठन भयो । कृष्ण शंकर श्रेष्ठ संयोजक र म सदस्य सचिव रहेको समितिले असोज १२ गते बागलुङ म्याग्दी र पर्वतका सबै सहकारीका प्रतिनिधिलाई सहभागी गराएर भेला गर्ने, भेलाको खर्चका लागि ८ वटा संस्थाले सहयोग गर्ने योजना बनायौ ।
बजारमा सञ्चालित एकता सहकारी, बागलुङ बहुउद्देश्यीय र शंखधर बहुमुखीले ७/७ हजार तथा गाउँमा सञ्चालित रेश बहुउद्देश्यीय, गाजा वचत तथा ऋण, भीमापोखरा बहुउद्देश्यीय, जनकल्याण दुग्ध र कालिका महिला सहकारीले ५/५ हजार गरी ४६ हजार रुपैया जम्मा गरेर भेला गरिएको थियो । भेलामा सहभागी हुने सहकारीका प्रतिनिधिलाई २/२ सयका दरले यातायात खर्च समेत दिने भनेर पत्र काटेका थियौ । यो सबै गर्नका लागि डिभिजन सहकारी कार्यालयका तत्कालिन प्रमुख ढुण्डीराज शर्मा सरले धेरै सहयोग गर्नु भएको थियो । उहाँ र मेरो नामबाट संयुक्त पत्राचार गरिएको थियो ।
बैंकले ४० वटा सस्था भएपछि प्रतिनिधि संस्था दिने जानकारी गराएकोले त्यति बेला म हाम्रो क्षेत्रका सबै सहकारीका अध्यक्षको घर घरमा गएर बैकको सदस्य बन्न आग्रह गरेको थिए । हामीले ४२ संस्था बनाएपछि बैंकले प्रतिनिधि संस्था तोकिदिने र त्यही संस्थामार्फत बैंकको कारोबार गर्ने गरी एकता सहकारी संस्थालाई प्रतिनिधि संस्थाका रुपमा तोकियो, २०६२ फागुन २२ गते बैकका अध्यक्ष राजेशहरि जोशीले प्रतिनिधि संस्थाको शुभारम्भ गर्नुभयो । त्यसपछि बैंकको कारोबार शुरु भयो । त्यति बेलासम्म सहकारीहरुको पैसा नेपाल बैंकमा रहन्थ्यो, बैंकले १/२ प्रतिशत ब्याज दिन्थ्यो । जब सहकारी बैंकको कारोबार शुरु भयो, ६ देखि ८ प्रतिशत ब्याज पाउन थाले । विस्तारै सहकारीहरु सदस्य बन्ने क्रम बढ्यो । २०६५ मंसिरसम्म ८२ वटा संस्था सदस्य बनेका थिए, प्रतिनिधि संस्था मार्फत सहकारीहरुको कारोबार राम्रो भएको थियो । बैकलाई नाफा पनि भएको थियो ।
मंसिरको पहिलो हप्ता एक दिन सांझ बैकका तत्कालिन प्रवन्ध सञ्चालक केवी उप्रेतीले मलाई फोन गरेर १ सय वटा संस्था बनाउन सकिन्छ ? भनेर सोध्नु भयो । मैले सहजै सकिन्छ भने । तत्काल सकिने अवस्था थिएन, तर प्रयास निरन्तर थियो । अर्को दिन अध्यक्ष जोशीले फोन गरेर १ महिना भित्र १ सय संस्था पु¥याउछौ भनेर समन्वय समितिबाट निर्णय गराएर पठाउन भन्नुभयो । हामीले तत्काल समन्वय समितिको वैठक बसेर शाखा सञ्चालनको माग गर्दै १ महिना भित्र १ सय सदस्य बनाउने प्रतिवद्धता गरेका थियौ ।
बैंकको सञ्चालक समितिको वैठकले बागलुङमा दोस्रो शाखा सञ्चालन गर्ने निर्णय गरेको कुरा अध्यक्ष राजेशहरि जोशीले फोन मार्फत जानकारी गराउनु भयो । मंसिर मसान्त भित्र शाखा उद्घाटन गर्ने गरी निर्णय भएको जानकारी पाएपछि हामी तयारीमा लाग्यौ । पहिलो त बैंकका लागि घर खोज्ने काममा लागियो । हाम्रो संस्था आदर्श सञ्चार सहकारीका लागि घर लिएका थियौ, तत्काल अर्को घर नपाएपछि त्यही घर बैंकका लागि सम्झौता गरियो ।
बैंकको दोस्रो शाखा २०६५ मंसिर २६ गते बागलुङमा स्थापना गरियो । बागलुङ, म्याग्दी र पर्वतका बैंकमा आवद्ध संस्थाका प्रतिनिधि साथीहरुको सक्रियता तथा डिभिजन सहकारी कार्यालयको सहयोगका कारण त्यो सम्भव भयो । बैंक सञ्चालक समितिले पहिलो शाखा सञ्चालन त भएको तर राम्रो कारोबार नभएको अवस्थामा दोस्रो शाखा हेरौ भनेर निर्णय भएको उहाँहरुले पछि बताउनु भएको थियो । त्यसपछि लगातार बैंकका शाखाहरु थपिदै गए ।
२०६५ पुसको १२/१३ गते तिर हुनु पर्छ, साँझ म धौलागिरी जागरण दैनिक पत्रिकाको कार्यालयमा समाचार सम्पादन गरिरहेको थिए, बैकका तत्कालिन सञ्चालक (हाल पूर्व अध्यक्ष) रमेश प्रसाद पोखरेलको फोन आयो, उहाँले तपाई सहकारी बाहेक के–के मा आवद्ध हुनुहुन्छ ? बायो डाटा पठाउन भन्नुभयो । म त्यतिबेला नेपाल पत्रकार महासंघ बागलुङको उपाध्यक्ष थिए, जिल्ला सहकारी संघको पनि उपाध्यक्ष थिए, म आवद्ध भएर काम गरिसकेका र गर्दै गरेका सबै संघ संस्थाको विवरण उहाँलाई पठाए ।
अर्को दिन दिउसो अध्यक्ष राजेशहरी जोशीले फोन गरेर, बैंकको पाचौ वार्षिक साधारणसभाले नयाँ सञ्चालक समितिको निर्वाचन गर्दैछ, तपाई चुनाव लड्न प¥यो भन्नुभयो । मेरो कल्पनामै नभएको कुरा उहाँले गरेपछि मैले झट्ट निर्णय दिन सकिन, म जिल्लामा बस्ने मान्छे, पत्रकारिता गर्ने मान्छे, अरुलाई नै बनाउनुस्, म पत्रकारितामै लाग्छु भने । मैले यस्तो कुरा सोचेको छैन भने पछि उहाँले अझै विचार गर्नुस् है, यो तपाईका लागि अवसर हो भनेर फोन राख्नु भयो । म पत्रकार महासंघको उपाध्यक्ष थिए, अध्यक्ष बन्ने रहर थियो, महासंघको अध्यक्ष हुने मान्छे अरु संघ संस्था र राजनीतिको जिम्मेवारीमा नहुने मेरो सोच थियो ।
त्यही साँझ फेरी रमेश प्रसाद पोखरेलले फोन गरेर हजुरले पत्रकारितालाई निरन्तरता दिदै काम गर्न मिल्छ, सहकारी बैंकको सञ्चालक भएर डेढ महिनामा काठमाडौं आउने हो, बैंकमा पनि सञ्चारको काम हुन्छ भन्नुभयो । मैले सहमति जनाइन । त्यसको भोलीपल्ट केबी उप्रेतीले फोन गरेर सञ्चालक समितिमा नबस्ने भए लेखा समिति सदस्य हुनुस्, ३ महिनामा एक पटक काठमाडौं आए हुन्छ भन्नुभयो । भर्खर भर्खर बागलुङमा सहकारीमार्फत सञ्चारको अभियान शुरुवात गरेका थियौ । काठमाडौं केन्द्रीत हुँदा यता समस्या हुन्छ भन्ने लागेर सञ्चालक बन्न इन्कार गरेको थिए, ३ महिनामा एक पटक जाने हो भन्ने कुरा भएको छ, भनेर मेरो संस्थाको टिमसंग छलफल गरेपछि सबैको सहमतिमा बैंकको लेखा समितिको सदस्यमा उमेदवार बन्न सहमत भए ।
२०६५ पुस तेस्रो साता बैंकको पाचौ वार्षिक साधारणसभामा लेखा समितिको सदस्य पदमा उमेदवारी दिए, ६ सय भन्दा केही बढी मत खसेको थियो, ४९१ मत पाएर विजयी भए । सहकारी बैंकमा मेरो प्रवेश पनि संयोग नै हो । यदी नेपाल समाचार पत्र दैनिकको सम्वाददाता नभएको भए, मैले त्यो सूचना पाउने थिइन सायद । त्यो सूचना नपाएको भए, बैंकको सदस्य ढिला भइन्थ्यो, सदस्य ढिला भएको भए, प्रारम्भिक साधारणसभामा जाने कुरा हुने थिएन, प्रारम्भिक साधारणसभामा सहभागी नभएको भए सञ्चालकहरुसंग भेट हुने थिएन वा यो प्रक्रियाबाट टाढै भइने थियो ।
बैंकको लेखा समिति सदस्य भएर ५ वर्ष काम गर्ने क्रममा बैंकका आन्तरिक तथा बाह्य गतिविधिमा सक्रिय हुने अवसर मिल्यो । आन्तरिक त जिम्मेवारी नै भयो, बाह्य भूमिका चाही पत्रकारका हिसावले प्राप्त भएको थियो । काम गर्दै जाने क्रममा बैकको साधारणसभा लगायत मुख्य औपचारिक कार्यक्रमहरु सञ्चालन गर्ने, २०६८ देखि बैंकको मुखपत्रका रुपमा सहकारिता मासिक पत्रिका प्रकाशित गर्ने र त्यसको सम्पादनको जिम्मेवारी मलाई दिने निर्णय भयो । त्यस यता करिव ८ वर्ष सहकारिता प्रकाशित भयो, त्यसपछिका ५ वर्ष अनलाइनको सम्पादनको जिम्मेवारी सम्हाले । १३ वर्ष बैकको मुखपत्रको सम्पादनको जिम्मेवारी पुरा गर्दा त्यसका लागि अतिरिक्त सेवा सुविधा केही पनि लिएको छैन ।
२०७० मा सञ्चालकमा उमेदवारी दिए, मित्र केदार मानन्धरसंग चुनाव लड्नु प¥यो । धेरै साथीहरुले काठमाडौंको मान्छेसँग चुनाव नलड्न सुझाव पनि दिनु भएको थियो । चुनाव हो हार जित हुन्छ भनेर सहभागी भए, तर म विजयी भए । २०७५ र २०७९ मा सर्वसम्मत निर्वाचित भएको थिए । जिल्लामा ३ वर्ष, केन्द्रमा १६ वर्ष प्रत्यक्ष र २ वर्ष कुनै भूमिकामा नहुदा पनि बैंकको प्रवद्र्धनमा काम गरेको छु । २१ वर्ष बैंकको प्रवद्र्धनमा काम गर्दाको समयका धेरै तिता मिठा अनुभवहरु छन् । सहकारी बैंकको सञ्चालकको जिम्मेवारीमा रहदा मेरो संस्थागत ऋणको बारेमा प्रश्न उठेपछि मैले २०८१ पुस १ गते राजिनामा दिएको छु, बैंकको सञ्चालक समितिको पुस ४ गते बसेको वैठकले स्वीकृत गर्ने निर्णय गरेपछि म औपचारिक रुपमा बैंकको जिम्मेवारीबाट हटेको छु ।
जिम्मेवारीबाट हटेको विषयमा धेरै कोणबाट टिका टिप्पणी भएका छन्, चर्चा परिचर्चा भएका छन् । समाचारका हेडलाइनहरु मिसन अनुसार बन्ने गरेका छन् । धेरै साथीहरुले फोन म्यासेज मार्फत के भएको हो ? सोध्नु भएको छ । मैले यसलाई स्वभाविक लिएको छु । कतिले कुरा गर्न दकश मान्नु भएको छ, कति नजिक आउन अप्ठेरो मान्नु भएको छ, भेट हुने साथीहरुलाई मेरो कुरा राखेको छु, शंका आशंका गर्ने, जिज्ञासा राख्ने सबैलाई फोन म्यासेज मार्फत मेरा कुरा भनिरहनु भन्दा सार्वजनिक रुपमा आफ्ना कुरा राख्दा ठिक हुन्छ कि ? भनेर लेख्दैछु ।
सहकारीमा लागेर, सहकारीमा नलागेरै सहकारीलाई प्रयोग गरेर अकुत सम्पत्ति कमाउनेहरुलाई देखेको समुदायले सबैले त्यसै गरेका होलान् भन्ने अड्कल काट्नु स्वभाविक नै छ । तर, बैंकको जिम्मेवारीमा रहदा व्यक्तिगत र संस्थागत फाइदा हुने कुनै पनि काम गरेको छैन । बैंकको नियम अनुसार सञ्चालकले पाउने सुविधाको उपयोग गरेको बाहेक कही कतै अनुचित लाभ लिएको छैन । बैंकबाट मात्रै होइन कुनै पनि संघ संस्था, व्यक्तिबाट अनुचित लाभ लिएको छैन् ।
ंसस्थागत रुपमा नियम अनुसार नै ऋण लिएको विषयका कारण यतिबेला मैले बैंकबाट विदा लिएको छु । यो सहकारी क्षेत्रमा लागेका धेरै साथीहरुका लागि शिक्षा पनि हुनेछ । ऋण संस्थागत लिएको हो, बागलुङका केही सहकारीमा देखिएको समस्याका कारण वचत फिर्ताको चाप बढ्यो, नेतृत्वदायी भूमिकामा रहेका कारण सहकारीका समस्या समाधानमा अगुवाई गर्दा अलि बढी प्रहार भयो, कुनै दिन खास बनेकाहरुले सिध्याउनै खोजे, बद्नाम गर्न खोजियो, जसका कारण वचत फिर्ता अलि बढी गर्नु पर्ने भयो, संस्थाले वचत फिर्ता र बैंकको ऋण भुक्तानीलाई तालमेल बनाउने क्रममा केही समय ऋणको किस्ता भाखा नाघेको हो ।
किस्ता भाखा नाघेकै विषय यति धेरै अतिरञ्जित हुन्छ भन्ने मेरो कल्पनामा थिएन, ऋणको भाखा बेला बखत धेरै संस्थाको नाघेकै थियो । कहिलेकाही भाखा नाघ्ने र पुनः नियमित हुने गरेका थुप्रै उदाहरण छन् । तर अरु धेरै कारणले यो विषय उठ्यो, उठाइयो । कसलाई के चाहिएको थियो ? किन यसो गरिएको हो ? यस विषयमा अहिले म धेरै चर्चा गर्न चाहन्न । जसरी चर्चा भएको छ, समय सन्दर्भका हिसावले अन्यथा हो भन्ने लाग्दैन । किन उठाइयो, कुन अदृष्य शक्तिको दबाब र प्रभाव परेको छ, समयक्रममा पर्दा उघारिदै जानेमा म विश्वस्त छु । किन यसरी विषय चर्चामा ल्याइयो, सहकारी अभियानमा लागेका धेरै साथीहरुले बुझेकै विषय हो । विषय ‘ओपन सेक्रेट’ नै छ । भन्न, लेख्न र प्रतिवाद गर्न कतिले सक्छौ, कतिलाई त्यो छुट छैन, म बुझ्छु । कतिलाई आफ्नो स्पेश खुल्ला भएकोमा खुशी होला, कतिलाई सहयात्रीलाई मर्का परेको पीडा होला । त्यो मनको अन्तरंगको कुरा हो । व्यक्तिगत कुराकानीमा गलत भयो भन्ने साथीहरुले पनि सामूहिक रुपमा भन्न नसक्ने अवस्था धेरै कारणले बन्छन् ।
कहिलेकाही सोचेको भन्दा फरक अवस्था आइपर्छ, आज मलाई त्यही भएको छ । सहज अवतरणको अपेक्षा थियो, अध्यक्षको रेशमा थिए, सञ्चालक मध्ये सिनियर थिए । आज धेरै कुरा सोच्दैछु । बितिसकेपछि सोचेर केही अर्थ हुदैन । म कहाँ चुके, मलाई किन यसो गरियो ? समयक्रममा लेख्ने नै छु । प्रकाशित हुने नै छ ।
म यति भन्छु, जति दिन बैंकमा रहे, पुरै इमान्दारिताका साथ पुरै लगनशिलताका साथ काम गरे । बैंकमा सदस्य बन्दा सानो छोरा १ वर्षको थिए, अहिले २२ वर्ष भए, मलाई सल्लाह सुझाव दिने भएका छन् । मैले मेरो छोरालाई भन्दा बढी समय सहकारी बैंकलाई दिएको छु, सहकारी अभियानलाई दिएको छु, कति पटक उनको जन्मदिनमा समेत म बैंककै कार्यक्रममा हुन्थे । परिवारका अरु सदस्यलाई समय दिने कुरा धेरै परको कुरा भयो । आज अलि गम्भिर भएर सोच्दैछु, अभियानको नाममा, अरुको भलाईका नाममा परिवारलाई ठुलै अन्याय गरे कि ? मैले मेरो यो ३१ वर्षको सहकारी यात्रामा सबै भन्दा दुख, सबै भन्दा पीडा कसैलाई दिएको छु भने त्यो मेरो परिवारलाई दिएको छु, परिवारलाई पीडा दिएर सहकारी यात्राबाट पाएको त्यही एउटा इमान हो ? त्यही इमानलाई हेरेर मेरो परिवारले आफ्नो पीडा भुलेको थियो, तर आज त्यही इमानका बारेमा चर्चा भइरहेको छ । इमान माथि प्रश्न उठेको छ ? ऋण चलाउने अरु, ऋण नतिर्ने अरु अनि इमानमाथि प्रश्न उठ्ने मेरो भएकाले परिवारलाई अलिकति दवाव छ, यद्यपी यो विषयमा पनि परिवार र मलाई राम्रोसंग बुझ्ने साथीहरु स्पष्ट हुनुहुन्छ ।
केही साथीहरुले बैंकको सञ्चालक भएर हामीलाई केही गरिनस् भन्ने गुनासो पनि गर्नु हुन्छ, अनि म भन्छु, म आफैलाई केही गरिन त हजुरलाई के गर्ने ? काम गर्ने क्रममा सहयात्री, सहकर्मी, शुभेच्छुकहरुबाट व्यक्तिगत वा संस्थागत हित हुने कुनै निर्णय गरिन, म जहिल्लै खुल्ला किताव बने । मेरो आज पनि व्यक्तिगत व्यवसाय केही छैन । परिवारका सबै सदस्यले सानो तिनो काम गर्छौ, गुजारा चलेकै छ, अहिले पनि बजारमा मेरो घर छैन भाडामा बस्छु, गाडी छैन, सार्वजनिक यातायात चढ्छु । सहकारीमा लागेर आलिसान बंगला, करोडौको गाडी चढेका मान्छे देखेको समाजले त्यस्तै धारणा बनाउने कुरा अन्यथा हुदै होइन ।
मान्छेले दुनियालाई ढाट्न सक्छ, तर आफैलाई ढाट्न कहिल्यै सक्दैन । मैले मलाई ढाटेको छैन । मैले मलाई नढाटेकै हुनाले म खुशी छु, मेरा आवश्यकता कम छन्, त्यसकारण मेरो जीवन सहज छ । सहकारीको पैसा अनुचित तरिकाले आफ्नो वा आफन्तको व्यवसायमा लगाएको देखेका आँखाले सबैले यसै गरेका त होलान् भन्ने ठान्नु पनि अन्यथा होइन, तर मैले त्यसो गरेको छैन, मेरो टिमलाई त्यो कुरा सबै थाहा छ । तर पनि प्रचार विभिन्न खालको हुँदा रहेछन्, बुझ्दैछु ।
काम गर्दा कमजोरी भएका हुन्छन्, व्यक्तिगत कमजोरी पनि भए, कतिपय व्यवहारिक कमजोरी भए, सहकारी सदस्यको हितका लागि बनेको हो भन्ने सोचियो । सदस्यको सारो गारोमा साथ दिनु पर्छ भनियो, सदस्यले दुःख देखाएपछि त्यही अनुसारको व्यवहार गरियो, सहयोग गरियो । तर, सबै सदस्य संस्थाको हितमा लाग्ने हुँदा रैनछन्, कतिपय सदस्यले संस्थाको सारो गारोमा साथ दिनु भएन, सबैले होइन, केही थान साथीहरुले असहयोग गर्नु भयो । परिस्थितिले पनि साथ दिएन होला । यतिबेला मैले साथीहरुका कारण आफुले काम गरेको संस्था छोडेको छु । साथीहरुलाई समस्या नपरोस् भन्ने चाहना राखेको छु । तर पनि साथीहरुले गरेको असहयोगका कारण व्यक्तिगत रुपमा समस्या परेको विषय चाही पीडादायक हँुदो रहेछ ।
सहकारी बैंकको सञ्चालकका तर्फबाट बैकमा मेरो आफ्नो मान्छे भर्ना गर्ने कहिल्यै सोचिन, कर्मचारी सबै मेरा आफ्ना हुन भन्ने ठाने । तर, कतिपय कर्मचारीले हँुदै नभएका कुरा प्रचारमा ल्याएर बद्नाम गराउन पनि खोजे । बैंक भित्रबाट गरिएको प्रचारलाई धेरैले पत्याएको हुन सक्छन्, किन यसरी प्रचारी गरिएको रहेछ, छ्वाङ्ग भएको छु । घरजग्गाको कारोबार छ, चितवनमा ठुलै प्लटिङ छ भन्ने प्रचार बैंक परिवार भित्रैबाट बाहिर ल्याइयो । यो विषयमा को–को संलग्न छन्, पत्ता त लागिसकेको छ, तर पनि म यतिबेला ती कुरामा चर्चा गर्न चाहन्न ।
घरजग्गाको कारोबार गरेको, ठुलै प्लटिङ भएको वा अन्य व्यवसायमा सहकारीको लगानी गरेको प्रमाण दिन सके त्यो सबै सम्पत्ति प्रमाण दिने व्यक्तिलाई राजीनामा गरिदिने र सदाका लागि सहकारी र सामाजिक अभियानबाट विदा लिएर बस्ने सार्वजनिक प्रतिवद्धता गर्दछु ।
हामीले अर्को एउटा सहकारीमार्फत अस्पताल सञ्चालन ग¥यौ । १ सय ७४ जनाले एक एक लाख शेयर राखेर सञ्चालन गरेको अस्पतालका लागि करिव डेढ करोड ऋण लिएका थियौ । अस्पताल घाटामा गएको छ, ऋण तिर्ने उपायको खोजीमा छौ, संस्थाको साधारणसभाबाट ऋणको सम्पूर्ण जिम्मेवारी सञ्चालकहरुले लिने निर्णय गरेका छौ । धेरै मान्छेले त्यही विषयलाई पनि अतिरञ्जना गरेको पाएको छु । सञ्चालकको घर जग्गा धितो राखेर १० जनाको नाममा व्यक्तिगत ऋण लिएका छौ । असल मनसायले काम गरेको हो, धौलागिरीमा स्वास्थ्य सेवा कमजोर भयो, प्रभावकारी सेवा दिनु पर्छ भनेर सेवाका लागि भनेर शुरु गरेको हो, ३ वर्षजति धेरै नै राम्रो भएको थियो, हामीले सञ्चालन गरेको अस्पतालबाट सेवा लिएका सेवाग्राहीहरुले अहिले पनि सम्झनु हुन्छ । सरकारले स्वास्थ्य विमा शुरु गरेपछि अस्पताल चल्न सकेन, घाटामा गयौ, संस्थाका लागि लिएको ऋण तिर्नका लागि सबै सञ्चालकको जति जिम्मा छ, मेरो पनि त्यति नै जिम्मा छ, र म आफ्नो जिम्माको ऋण भुक्तान गर्न प्रतिवद्ध छु, ऋण धन गरेर ब्याज तिरी नै रहेका छौ ।
सहकारी बैंकबाट ऋण लिएर व्यक्तिगत लगानी गरेको जस्ता अफवाह फैलाउने, बैंकको ऋण नतिर्ने जस्ता कुरा चर्चामा ल्याएर बदनाम गराउनेहरुलाई यत्ति भन्छु, आफ्नो स्वार्थ पुरा गर्न अरुलाई बदनाम गर्ने तपाईको नियतले कुनै दिन तपाई आफैलाई समस्या नपारोस्, शुभकामनाका दुइ शब्द भन्दा बढी के भन्न सक्छु र ?
संस्थाले बैंकबाट लिएको ऋण २०८० पुससम्म नियमित नै थियो । २०८० माघमा बैंकमा दृष्टिबन्धक रहेको एउटा जग्गा फुकुवा गर्ने समयसम्म पनि ऋण मिलान भएको थियो । त्यसपछि असारसम्म किस्ता भुक्तान भएन, सत्य यही हो । त्यही समयमा नेपाल राष्ट्र बैंकको अनुगमन भयो, राष्ट्र बैंकले असार मसान्तमा कैफियत जनायो, असार ३० गते ब्याज र किस्ता गरी ९८ लाख भुक्तान गरेर ऋण नविकरण गरियो । साउन पहिलो साता सहकारी बैंकले राष्ट्र बैंकलाई पठाएको जवाफमा ऋण असल वर्गमा भएको जानकारी गराएको छ ।
भाखा नाघ्यो, नाघ्नु हुने थिएन, समय परिस्थितिले त्यस्तो बनायो, त्यसको परिणाम स्वरुप म बैंकको जिम्मेवारीबाट हटेको छु । यसमा पहिलो कमजोरी मेरो हो, कुनै शंका छैन, मैले अलि टाइट गरेको भए, सदस्यहरु आफुले लगेको ऋण तिर्न वाध्य हुन्थे । तर यो अवस्था ल्याउनमा मेरो मात्रै कमजोरी छैन, अहिलेको अवस्था आउनमा विभिन्न तरिकाले ठुलै कसरत भएको छ । दबाब सिर्जना गरिएको छ । स्वयम् यो गर्ने गराउने साथीहरुले धारा प्रवाह भनेका कुरा म आफैसंग सप्रमाण छन्, आवश्यक पर्दा सार्वजनिक गरौला, यो विषयमा म अहिले धेरै जान चाहन्न ।
सहकारी अभियानमा ३ दशक बढी काम गरियो, बैंकमा २ दशक बढी काम गर्दै गर्दा अवतरण सुखद रहेन, मन अमिलो भएको छ, तर पनि म दुखी छैन, किनकी मैले म आफुलाई ढाटेको छैन, म जति समय बैंकमा बसे त्यो समयमा बैंकको आडमा व्यक्तिगत र संस्थागत फाइदाका लागि काम गरेको छैन । बैंकबाट ऋण लिनु गल्ती भयो, ऋण लिएर भाखा नघाउनु थप ठुलो गल्ती भयो । गल्तीको सजाय मैले भोग्दैछु । धेरै साथीहरु आदर्शका कुरा गर्नु हुन्छ, आदर्श र व्यवहार कहिलेकाही तालमेल खाँदैन, यस्ता विषय खोज्दै जाँदा धेरै ठाउँमा भेटिन्छन् । मलाई शुरुदेखि नै साथ सहयोग गरेका, मार्गदर्शन गरेका, उत्साह थपिदिएका अग्रज तथा सहकर्मीहरुलाई मैले सत्य कुरा भन्नु पर्छ भनेर आज यति लेख्दैछु ।
ऋणको किस्ता भाखा नाघेको विषयमा पुरै शक्ति लगाएर समस्या सिर्जना गर्ने साथीहरुको ऋणको भाखा नाघेको छ होला कि नाई प्रश्न गर्न मन लागेको छ ? यसरी दबाब दिने साथीहरु आवद्ध पार्टीको जिम्मेवारीमा रहेका, पार्टीबाट निर्वाचित जनप्रतिनिधि कतिको भाखा नाघेको छ होला ? कतिको सूचना प्रकाशित भएको छ होला ? र कतिको सूचना निस्कने लाइनमा छन् होला ? हाम्रै वरिपरीका कतिपय पार्टीको मुख्य नेता, जनप्रतिनिधि, व्यावसायिक व्यक्तिहरुका सूचना निस्केका छन्, सूचना निस्कने तयारीमा छन्, देशको बिग्रदो वित्तीय अवस्थाका कारण पनि समस्या परेको होइन र ? खेलाडि साथीहरुलाई ध्यानाकर्षण मात्र गराउन चाहन्छु । खोज्दै जाँदा खेलाडि र खेलाडिका वरिपरिका धेरै मान्छे ऋणको भाखा नाघेको मात्रै होइन, खराब नै भएको, कालो सूचिमा नै परेको पनि भेटिन सक्छ ?
विशेष गरी कोरोनाकालपछि सहकारी क्षेत्रमा रकम थुप्रियो । सहकारी बैंकले ऋण लैजाने सदस्य संस्थाहरु खोजी खोजी लगानी गरियो । मुख्य विषय १५ प्रतिशत नाफामा केन्द्रित भयौ । त्यही मेसोमा सम्भव हुने सञ्चालकका संस्थाले पनि ऋण लैजानु पर्छ भन्ने सल्लाह भयो । हाम्रो निर्णय ठिक बेठिक, राम्रो नराम्रो छलफलको विषय हुन सक्छ, त्यसको अपजस निर्णयकर्ता हामी सबैले लिनु पर्छ, ठिक बेठिक जे भए पनि त्यसबेलाको यथार्थ यही हो ? बैक बनाउन खोजेको हो तर बैंक ठग्ने जस्तो भइएको छ आज । खोज्न चाहने साथीहरुले खोज्दा पनि हुन्छ, १२ महिना भन्दा बढी भाखा नाघेका संस्थाको बारेमा । सबैलाई एउटै डालामा राखेर व्यवहार गर्ने, सबैलाई एउटै नजरले हेर्ने हो भने यहाँ कोही बाँकी रहदैन, कोही चोखो रहदैन, खोज्दै जादा सबैका केही न केही कमजोरी छन् । मेरा कमजोरी मिसन बनाएर खोजियो, मिसन बनाएर खोज्दा गाइको दुधले नुहाएको सायदै कोही होला ?
हामीले बैंकबाट ऋण लिदा सदस्यहरुको जग्गा नै धितो दिएका छौ । पटक पटक गरेर २५ जनाको जग्गा दृष्टि वन्धक गरेका थियौ । हाम्रो संस्थाको जग्गा सहित १५ जनाको जग्गा अहिले पनि बैंकमै दृष्टिबन्धक छ । बैंकबाट लिएको ऋण २५ जना शेयर सदस्यलाई लगानी गरेका हौ । उहाँहरु मध्ये १८ जनाले समयमा ऋण मिलान नगरिदिएका कारण पछिल्लो समय ऋणको किस्ता भाखा नाघेको हो । बैंकले ताकेता लगाएको पत्र नै देखाएर मैले साथीहरुलाई भनेको थिए, साथीहरुले वास्ता गर्नु भएन । मैले पनि यस्तो अवस्था आउला भन्ने कल्पना गर्न सकिन । जोडतोडले सक्काउने योजना बनेको भन्ने सुइको पनि पाइएन ? साथीहरुको इज्जत जोगाइदिदा म समस्यामा परे ।
यो गल्ती मेरो मात्रै अवश्य थिएन, मेरो संस्थाका धेरै ऋणी सदस्यहरुलाई मैले यो विषयमा जानकारी गराएको थिए, तपाईहरुका कारण मलाई समस्या पर्ने भयो भनेर भन्दा उहाँहरुले ऋण असुलीका लागि यसले यस्तो कुरा गरेको छ भनेर पत्याउनु भएन । वास्ता गर्नु भएन । प्रिय ऋणी साथीहरु (म आवद्ध प्रारम्भिक संस्था) अब भने तपाईहरुलाई पक्कै पोल्ने छ, मैले साथ दिएको भए, मलाई अप्ठेरोमा साथ दिने एउटा साथीलाई यस्तो समस्या आउने थिएन भन्ने पक्कै हुनेछ, हुन त म यसरी बिच बाटोमै यात्रा छोडेर हिँड्दा कतिपयको मन रमाएको पनि हुन सक्छ ? मन रमाएका साथीहरुलाई अझ धेरै शुभकामना छ ।
मैले सबैलाई आफै जस्तो ठाने, सबैलाई सहयोग गर्न पर्छ भने । सदस्यलाई परेको अप्ठेरो संस्थाको हो भने ? मैले बैंकको ऋण भन्दा सदस्यको वचत फिर्तालाई प्राथमिकतामा राख्नु पर्छ भने र सञ्चालक समितिलाई त्यही अनुसार कन्भिन्स गराए । जीवनमा गरेका कतिपय गल्तीले निरन्तर घोचिरहन्छ ? सानो संस्था सानै तरिकाले सोचियो । अहिले पनि म आवद्ध संस्थाले दैनिक, साप्ताहिक पत्रिका, अनलाइन, टेलिभिजन सञ्चालन गरेको छ । संस्थामा करिव ३५ सय जना सदस्य, ५ करोड ६० लाख शेयर रकम, १९ करोड वचत, ३१ करोड ऋण लगानी छ । बैंकमा डेढ करोड शेयर लगानीमा छ, जगेडाकोष लगायत सबै कोष २ करोड जति छ । संस्थाको आफ्नै करिब २ आना जग्गा पनि छ । ५१२ जनाले ऋण लगेका छन्, ऋणीका जमानतहरु करिव १ हजार जना छन्, । सञ्चालक र व्यवस्थापनसंगै संस्थाको दायित्व करिव १५ सय जनासंग छ ।
दिर्घकालिन वचत भनेर एक जना सदस्यबाट महिनामा एक सय वचत गर्दै आएका छौ, करिव साढे ३ करोड त्यही बचत छ । हामीले मात्र होइन, मेरो अग्रसरतामा साविकको धौलागिरीका धेरै सहकारीले दिर्घकालिन वचत गरेका छन् । सहकारी अभियानमा लागेको यो समयमा साविक धौलागिरीका करिव १ हजार सहकारी मध्ये ९० प्रतिशत संस्थामा पटक पटक पुगेको छु । गण्डकी प्रदेश लगायत देशका सबै गरेर १ हजार भन्दा बढी संस्थाका २ लाख भन्दा बढी सदस्यसंग प्रत्यक्ष भेट भएको छु ।
मोफसलमा बसेर अभियानमा सक्रिय हुन निकै गाह्रो छ । गाउँको एउटा सहकारीको एक दिनको कार्यक्रममा पुगेर आउन ३ दिनसम्म लागेको छ । काठमाडौं भ्यालीमा जस्तो हाम्रोमा हुदैन, यातायात खर्चले थेग्न नसकेर धेरै साथीहरुले समय छैन भन्ने गरेका उदाहरण पनि छन, तर मैले बजारको भन्दा गाउँको सहकारीको कार्यक्रमलाई प्राथमिकता दिएको छु । जहा गएको छु, सहकारीका बारेमा सकारात्मक सन्देश दिने प्रयत्न गरेको छु, उत्साह दिने प्रयास गरेको छु, अग्रसर हुन प्रेरित गरेको छु । मैले जीवनभर धेरै मान्छेलाई राम्रो गरेको भए पनि एउटा मात्रै (ऋणको किस्ता भाखा नाघेको) कारणले संस्थाको जिम्मेवारी बिच बाटोमै छोड्नु परेको छ । तितो यथार्थ धेरैले लुकाउने प्रयास गर्नु हुन्छ, मैले सार्वजनिक गर्दैछु । ९९ वटा राम्रा काम गरे पनि मान्छेहरु एउटा कमजोरी बोकेर सिध्याउन लाग्छन् भन्ने थाहा थियो, अहिले स्वयम भोग्दैछु ।
सहकारीलाई सहकारीकै रुपमा सञ्चालन गरौ भन्ने सोचका साथ हामीले सहकारी सञ्चालन गरेका छौ । बैंकबाट ऋण लिएर सदस्यहरुलाई व्यवसायका लागि घरजग्गा धितो राखेर ऋण लगानी गरियो, पछिल्लो समय ऋणी सदस्यहरुको व्यवसायमा समस्या भयो, उहाँहरुले ऋण मिलान गर्न सक्नु भएन, त्यसको असर मलाई व्यक्तिगत रुपमा परेको छ र यो सबै व्यवस्थापनको जिम्मेवारीमा रहेको हिसावले सबै जिम्मेवारी मैले लिनु पर्छ, लिएको छु ।
बैंकमा प्रत्यक्ष अप्रत्यक्ष सहभागी भएर काम गरेको २१ वर्षको समयमा बैंकको कार्यक्रममा सहभागी भए वापत सञ्चालकले पाउने सुविधा बाहेक करिव १० लाख रुपैया मलाई वैदेशिक भ्रमणका लागि बढी खर्च गरिदिएको छ । सञ्चालक समितिबाट एक पटकमा एक जना वैदेशिक कार्यक्रममा जाने विधि अनुसार गएको हो । २०६९ मा आइसिएको महासभामा दक्षिण अफ्रिका जादा बैंकले आवेदन शुल्क तिरिदिएको थियो ४० हजार, २०७४ मा भारतमा जादा यातायात खर्च २१ हजार, २०७४ मै ताइवान जादा यातायात खर्च १ लाख, २०७५ मा दक्षिण कोरियाका लागि यातायात खर्च ६१ हजार र सोही वर्ष अमेरिकामा पठाउदा आवेदन, यातायात सहित करिव ८ लाख बैंकले खर्च गरेको छ । बैंकबाट विदेश जानेमा सबै भन्दा कम जानेमा म पर्छु सायद । कम जाने भएकाले अमेरिकाको कार्यक्रममा जाने अवसर मिलेको थियोे, त्यही भएर अलि ठुलो खर्च भयो । बैंकको रेकर्डमा यि सबै छन्, कुन सञ्चालकले, कुन कर्मचारीले वैदेशिक भ्रमणमा कति खर्च गरे सबै प्रष्ट देख्न सकिन्छ । २१ वर्ष काम गर्दा १० लाख खर्च भएको छ, त्यो पनि फिर्ता गर्न पर्छ भने फिर्ता गर्न म तयार नै छु । ऋणको भाखा नाघेको विषयलाई उछाल्ने मित्रहरुले कुनै दिन नियमनकारी निकायबाट भ्रमण खर्च सम्बन्धित व्यक्तिबाट असुल गराउनु भन्ने निर्णय गराउनु होला ?
म सामान्य किसान परिवारबाट सहकारी बैंकको सञ्चालकको जिम्मेवारीमा पुगेको थिए, धेरै मान्छेले म अमेरिका गएपछि उतै बस्छ भन्ने अनुमान गरेका थिए, धेरै मान्छेहरु लायन्स, जेसिज लगायत विभिन्न संस्थाबाट विदेश गएर उतै बसेका थुप्रै उदाहरणहरु छन्, म बैंकका तर्फबाट १५ जना साथीहरुको नेतृत्व गरेर गएको थिए, मलाई चिन्ता म बस्ने होइन, अरु बस्छन् कि ? भन्ने थियो । म फर्केर आएपछि धेरै साथीहरुले अवसर गुमाइस भन्थे । मलाई मेरो बा आमाले सिकाएको इमान हो ? इमानका साथ काम गर्ने हो ? अमेरिका मलाई संस्थाले कार्यक्रममा पठाएको हो, कार्यक्रम सकेर संस्थाप्रतिको इमान देखाउनु मेरो कर्तव्य हो, त्यही भएर अमेरिका लुक्ने, छिप्ने भन्ने मेरो कल्पनामा थिएन र छैन ।
म कसैप्रति आक्रोश, आरोप, आलोचना गर्न गैरहेको छैन । कसैप्रति गुनासो पनि छैन, मान्छेहरु अरुलाई नसकेसम्म आफ्नो सम्भावना देख्दैनन्, राजनीतिक रुपमा जनताको बहुदलीय जनवादमा विश्वास गर्ने भएकाले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु पर्छ भन्ने मेरो मान्यता हो । तर यही सिद्धान्त मान्ने साथीहरु प्रतिस्पर्धा भन्दा पनि निषेधमा लाग्दा रहेछन् भन्ने कुरा पनि गहिरो गरी महुशुस गरिरहेको छु ।
म सहकारी क्षेत्रमा प्रवेश गरेको कुनै राजनीतिक कारण थिएन, संयोग थियो, म बैंक प्रवेश गरेको पनि कुनै राजनीतिक कारण थिएन, संयोग र सक्रियता नै थियो । तर पछि अलि बढी राजनीतिक प्रभाव पर्दै गयो, पार्टीले टिकट दिनु पर्ने अवस्था आयो, पार्टीको चिट नभए हारिने अवस्था आयो । सहकारीमा देखिएको यि तमाम विकृतिको अपजस भागवण्डा गर्दा मेरो जिम्मामा कति आउछ, त्यो सबै व्यहोर्न म तयार छु ।
मेरो नसा नसामा सहकारीको रगत बगेको छ, बिहान उठेदेखि नसुत्ने बेलासम्म सहकारीमै लागेको छु, यद्यपी त्यही सहकारी आज मेरा लागि चुनौतीको विषय बनेको छ, मलाई चुनौती स्वीकार छ, म चुनौतीलाई अवसरमा बदल्न तयार छु, हिजो बैंकको जिम्मेवारीमा हुदा अलि बढी अन्यत्र ध्यान गयो होला ? अब पूर्ण रुपमा आफ्नो संस्थामा ध्यान दिन थालेको छु, ५२ वर्षको भए, जानेर, नजानेर सहकारी अभियानमा ३ दशक भन्दा बढी लागे । अबका दिनमा पनि म सहकारी अभियानमै हुन्छु ।
मेरो नियत खराव छैन, सहकारीमा जम्मा भएको पैसा मेरो हो, मैले मेरो व्यक्तिगत सम्पत्ती आर्जन गर्न लगाउनु पर्छ भन्ने भावना मलाई कहिल्यै आएन, बरु सदस्यहरुलाई लगानी बढी गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । काम गर्ने क्रममा ऋणको किस्ता भन्दा सदस्यको बचत फिर्तालाई प्राथमिकता दिइयो, यो विषयमा मेसो मिलाउन जानिन कि, ध्यान पुगेन कि ? के के जानिन, त्यो पनि क्रमश लेख्दै जानेछु, अबको मेरो मुख्य काम लेख्ने भएकाले लेख्नेछु, बोलेर होइन, यथार्थ सबैका बीचमा ल्याउन प्रयत्न गर्नेछु ।
अन्तिममा म आवद्ध संस्थाका ऋणी सदस्यहरुलाई मेरो सन्देश छ, हजुरको साह्रो गाह्रोमा म उभिन्थे, तर हजुरहरु मध्ये केहीले मलाई अप्ठेरोमा पार्नु भयो । मैले धेरै कुरा सहज बनाउन खोज्दा, हजुरहरुको अप्ठेरोमा साथ दिन खोज्दा म अप्ठेरोमा परेको कुरा टुलु टुलु हरेर मात्र बस्नु भएन, कतिपयले त उल्टै अनावश्यक चर्चा परिचर्चा समेत गर्न भ्याउनु भयो । केही सदस्यहरुले विभिन्न बहाना बनाएर, अझै छुट पाइन्छ भन्ने गुलिया आश्वासनका पछि लागेर, कतिपयले अभियानमा सक्रिय भएको देखेर डाहले हामीलाई कमजोर बनाउन, कतिपयले व्यवसायमा आएको संकटका कारण ऋण मिलान सक्नु भएन, तपाईहरुका कारण म समस्यामा परे । मैले संस्थाबाट ऋण चलाएको छैन, मेरो एकाघरका मान्छेले ऋण चलाएका छैनन्, तर पनि मैले धैरे पीडा सहनु परेको कुरा एक पटक स्मरण गरिदिनु होला ।
म समस्यामा परेपछि मेरो टिमले तत्काल एक्सन लिन सुझाव दिएको थियो, टिमलाई थाहा छ, को कसले नियत राख्नु भयो, कसले मलाई अप्ठेरोमा पार्नु भयो । मैले धैर्यता राख्न आग्रह गरे । पुस २७ गतेको साधारणसभाबाट आगामी योजनाहरु प्रस्तुत भए, त्यहाँ मैले मेरो कुरा राखे ? अब यति भन्छु पछिल्लो ४ महिना हजुरहरुका लागि ग्रेस अवधी हो । चैत मसान्त हजुरहरुका लागि अवसर हो, २०८२ साल हजुरहरुका लागि सुखद बनोस्, यति मात्रै भन्न चाहन्छु ।
हाम्रो समाजमा, हाम्रो राजनीतिमा, हाम्रो सामाजिक संघ संस्थामा चाकडी भन्ने चिजले ठुलै घर गरेको छ, म संग त्यो पटक्कै भएन, बिहानदेखि रातीसम्म हजुर, हजुर, हजुर, हस्, हो त नि ? हजुर त कस्तो राम्रो गरिसिन्छ ? भन्ने भावना पटक्कै भएन, यो पनि मेरो एउटा महत्वपूर्ण कमजोरी हो भन्ने महसुस भएको छ । चाकडी, पैसा, पावर प्रयोग गरेर जिम्मेवारी प्राप्त गर्ने होडबाजीबाट अलि अलग भएका कारण पनि चुनौतीको सामना गर्नु पर्ने अवस्थामा पगेको ठानेको छु, यद्यपी म आफुलाई भाग्यमानी ठान्छु, म यि तिनै कुराबाट टाढा छु, मेरो आफ्नै दुनिया छ ।
सहकारी अभियानकर्मी साथीहरुलाई विनम्र अनुरोध छ, मेरा कारणले सहकारी अभियान र यहाँहरुप्रति पर्न गएको असुविधाप्रति मनको अन्तस्करणबाट क्षमा माग्दछु, मैले केही कुरा जानिन्, केही कुरामा अति विश्वास गरे, केही कुरामा यस्तो हँुदैन भनेर ढुक्क भए, अरुको अप्ठेरोलाई संस्थाकै अप्ठेरो ठाने, मैले केही कमजोरी गरे, जे भयो, गलत भयो, अब यसलाई सच्याउने भन्दा अर्को विकल्प छैन, मैले आफुलाई पुरै स्क्रिनिङ गरिसके, कहाँ कहाँ चुके, कहाँ कहाँ कमजोरी गरे, को कसलाई अति विश्वास गरे ? यि सबै कुराबाट पाठ सिकेर आगामी दिनमा थप संयमित, थप सचेत र थप सशक्त भएर अगाडि बढ्छु, मेरो अगाडिको यात्रामा तत्कालका लागि ब्रेक लागेको थियो, अब सहज बनेको छ । मेरा विगतका कमी कमजोरीलाई सुधार गर्दै पुनः यो अभियानमा तपाईहरुसँग हातमा हात समाएर संगै हिँड्ने छु । धन्यवाद, जय सहकारी ।