आदर्श सञ्चार, बागलुङ
बागलुङकाे बडिगाड गाउँपालिका-५ ग्वालीचाैर स्वास्थ्य चाैकीमा दुई दिने पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सुरू भएकाे छ । कल्प ईम्पावर वेमेन नेपाल र बडिगाड गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सुरू भएकाे हाे । शिविरको उद्धाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले पाठेघरको मुखको क्यान्सर चुनौतीको रुपमा देखापरेको हुँदा यसको न्यूनिकरणको लागि स्वास्थ्य मन्त्रालय गम्भीर भएको बताउनुभयो ।
पछिल्लाे समय नेपालमा प्रत्येक दिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखापरेको र त्यस मध्ये ४ जनाको ज्यान जानेगरेको पाठकको भनाइ छ । महिलाहरुमा देखिने यो क्यान्सर समयमै पत्ता लगाउन सके ८० देखि ९० प्रतिशतसम्म निको बनाउन सकिने उहाँले बताउनुभयाे ।
स्वास्थ्य मन्त्रालयले हालसम्म प्रदेश भित्र दुर्गम क्षेत्रका ७८ जना गर्ववती आमाहरुको हेलिकप्टर उद्धार गरेर ज्यान बचाएको उल्लेख गर्दै बागलुङको पश्चिम क्षेत्रबाट मात्र २३ जना गर्ववती आमाहरुको हेलि उद्धार गरिएको जानकारी गराउनुभयाे ।
कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी र कल्प ईम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोईराला लगाएतले अफ्ना भनाईहरु राखेका थिए । कार्यक्रमकाे संचालन २००५ की मिस नेपाल सुगारिका केसीले गर्नु भएकाे थियाे । शिविर बुधबार सकिने छ ।