विदेशबाट फर्किएकाले भरिए गाउँ, तर रित्ता छन् क्वारेन्टाइन

सिर्जना पन्त, बागलुङ

चैत १० गते धौलागिरी अञ्चल अस्पताल बागलुङको आइशोलेशन कक्षमा १ जना कोरोना संक्रमणको आशंका गरिएका विरामी भर्ना गरियो । उनी १३ गते कोरोना संक्रमण नभएको पुष्टि सहितकाको नेगेटिभ रिपोर्ट आएपछि घर गए ।

१५ गते सोही आइशोलेशन वार्डमा कोरोना संक्रमण भएको पुष्टी भएकी एक युवतीलाई भर्ना गरेर उपचार गरिरहेको छ भने बिहिवार मात्र बानपा ३ गौडाकोटकी महिलालाई पनि धौलागिरी अस्पतालकै आइशोलेशन वार्डमा राखेर उपचार गरिएको छ ।

नेपालमा अहिले सम्म बिदेशबाट फर्किएका बाहेक अन्यमा कोरोना संक्रमण पुष्टि नभएको हुँदा बाहिरबाट आएका नागरिकलाई सुररिक्षत क्वारेन्टाईनमा बस्नको लागि सरकारले निर्देशन दियो । कोरोनाको जोखिम बढ्नुमा बिदेशबाट आएका नागरिकलाई मुख्य पात्र ठानिएको छ । जसका कारण अहिले परदेशबाट आएकाहरुको केन्द्र, प्रदेश र स्थानीय सरकारदेखि स्थानीय वासिन्दाले समेत निगरानी गरिरहेका छन् ।

गण्डकी प्रदेशमानै कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बागलुङका स्थानीय तह, संघ संस्था र सरोकारवाला क्वारेन्टाइन निर्माणमा जुटे । बैदेशिक रोजगारिबाट फर्किएकाहरुमा कोरोना संक्रमण हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न त्यस्ता व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्नको लागि निर्माण गरिएका क्वारेन्टाइन अहिले पनि सुनसान छन् । तर, बैदेशिक रोजगारीबाट फर्किएकाहरुले गाउँ भरिभराउ छन् । बागलुङ जिल्लामा ६ सय ६१ भन्दा बढी व्यक्ति फागुनको अन्तिम सातादेखि चैत महिनामा बैदेशिक रोजगारीबाट घर गाउँ भित्रिएको तथ्यांक छ । जिल्लाका १० वटा स्थानीय तहमा १ सय ६६ शैयाका क्वारेन्टाइन निर्माण गरिएको छ ।

बागलुङ नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको संख्या १ सय भन्दा बढी छ । नगरपालिकामा २० शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । तर, नगरपालिकाको रामरेखामा निर्माण गरिएको उक्त क्वारेन्टाइनमा अहिले सम्म एक जनालाई पनि राखिएको छैन ।

बागलुङको ढोरपाटन नगरपालिकमा चैत महिनामा मात्र २१ जना व्यक्ति बैदेशिक रोजगारिबाट फर्किएका छन् । नगरपालिकामा १२ शैयाको क्वारेन्टाइन निर्माण गरिए पनि अहिले सम्म क्वारेन्टाइनमा कसैलाई राखिएको छैन । त्यस्तै जैमिनी नगरपालिकामा ८१ जना बैदेशिक रोजगारीबाट फर्किएका छन् । नगरपालिकाले ७ शैयाको क्वारेन्टाइन निर्माण गरे पनि कसैलाई राखेको छैन ।

जिल्लाको गलकोट नगरपालिकामा १ सय ३७ जना वैदेशिक रोजगारिबाट फर्किएकाको तथ्याङ्क छ । नगरपालिकाले १० शैयाको क्वारेन्टाइन निर्माण गरेको छ । जिल्लामामै गलकोट नगरपालिकाले मात्र ३ जना नागरिकलाई शिव माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइन राखेर वडा कार्यालय मार्फत खान र स्वास्थ्य सरसफाईको व्यवस्था गरेको छ ।

जिल्लाको काठेखोला गाउँपालिकामा सबै भन्दा धेरै ४६ वटा क्वारेन्टाइन निर्माण गरिएको छ । यहाँ ४६ जना नागरिकनै वैदेशिक रोजगारिबाट फर्किएको तथ्याङ्क छ । तर, अहिले सम्म कसैलाई पनि क्वारेन्टाइनमा राखिएको छैन । तमानखोला गाउँपालिकामा ४ जना बैदेशिक रोजगारिबाट फर्किएका छन् । गाउँपालिकाले ५ शैयाको क्वारेन्टाइन तयार पारे पनि कसैलाई राखेको छैन । ताराखोला गाउँपालिकामा २२ जना बैदेशिक रोजगारीबाट फर्किएका छन् । गाउँपालिकाले २ शैयाको क्वारेन्टाइन तयार पारे पनि कसैलाई राखिएको छैन ।

जिल्लाको निसीखोला गाउँपालिकामा ८७ जना बैदेशिक रोजगारिबाट फर्किएका छन् । गाउँपालिकाले ४ शैयाको क्वारेन्टाइन तयार पारे पनि अहिले सम्म कसैलाई राखिएको छैन । बागलुङको बडिगाड गाउँपालिकामा जिल्लामै सबै भन्दा धेरै १ सय ३४ वैदेशिक रोजगारिबाट फर्किएका छन् । गाउँपालिकाले २० शैयाको क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाईनमा हालसम्म कसैलाई राखिएको छैन । त्यस्तै, जिल्लाको बरेङ गाउँपालिकामा ३८ जना बैदेशिक रोजगारिबाट फर्किएका छन् । गाउँपालिकाले ३८ शैयाको क्वारेन्टाइन तयार गरे पनि अहिले सम्म कसैलाई राखेको छैन ।

गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बस्नको लागि पटक पटक अनुरोध गर्दा पनि बैदेशिक रोजगारिबाट फर्किएकाले नमानेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउँछन् । ‘हामीले सबैलाई गाउँपालिकाकै क्वारेन्टाइनमा राख्न खोजेका हौ, थापाले भने’, ‘तर उहाँहरुले हामी हाम्रो घरमै सुरक्षित बस्छौं, कसैसँग सम्पर्कमा आउँदैनौ र होम क्वारेन्टाईनमा बस्छौ भनेपछि स्वास्थ्यकर्मीको नियमित निगरानीमा सेल्फ क्वारेन्टाइनमा बस्न दिएका छौं ।’

नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्न चाहनेलाई आफुहरुले व्यवस्थापन गरेको र नचाहनेलाई घरमै सुरक्षित बस्न आग्रह गरेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । ‘नगरपालिकाले ३ जनालाई वडा कार्यालयको सहकार्यमा क्वारेन्टाईनमा राखेको छ,’ शर्माले भने, ‘अरु आ–आफ्नै घरमा हुनुहुन्छ, जनप्रतिनिधी, महिला स्वास्थ्य स्वंसेविका र प्रहरीलाई निगरानी गर्न आग्रह गरिएको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *