नयाँ वर्ष २०८२ को शुभकामना

सम्पादकीय
वर्ष २०८१ को अन्त्य अर्थात् अवसान र नयाँ वर्ष २०८२ सालको शुभारम्भ । पुरानो वर्षको विदाई र नयाँ वर्षको स्वागतका खातिर अन्तिम रातमा देशभर बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरिएका छन् । कुनै वर्ष बित्नु केबल समय मात्र होइन । समयसँगै समय सापेक्ष रुपमा गरिएका कर्म र उपलब्धिहरु त्यसका मापक हुन् । कुनै पनि व्यक्ति या संस्था या सरकारको उपलब्धि वर्षमा होइन, उसले गरेको कर्म, सत्प्रयास र उपलब्धिहकै आधारमा मापन हुन्छ र गरिन्छ । गएको एक वर्षलाई पनि त्यसरी नै हेरिनु पर्छ । चाहे त्यो नितान्त निजी जिन्दगीको गएको एक वर्ष होस् या संघ संस्था, कम्पनी, व्यवसाय या सरकारको कार्यकाल र समयमा होस् । सबैले गत वर्षको समिक्षा गर्दा मुख्यतः यसलाई आधार बनाउँछन् । जसले भोलिको प्रगति, उपलब्धिको थप आधार दिन सक्छ । उसो त कुनै उमेर या वर्ष बित्नु उति सुखद र खुसीको विषय होइन । जति नयाँ वर्षको आगमनमा उत्साह, उमंग हुन्छ । आज त्यही उत्साह, उमंगको नयाँ अध्याय सुरु भएको छ ।

समय अनुसार वर्षहरु बित्छन्, क्यालेन्डरका पानाहरु फेरिन्छन् । उसो त नेपालमा नयाँ वर्षमा पनि अनेकन बिबिधता भेटिन्छ । विक्रम सम्बत अनुसार नेपाली नयाँ वर्ष चैत्र महिनाको अन्त्य र बैशाख महिनाको सुरुवात हुन्छ । भिन्न–भिन्न जाति, समुदाय, भाषाभाषीको आ–आफ्नै नयाँ वर्ष पनि विशेष छ । वैशाखमा विक्रम् संवत्को ‘नयाँ वर्ष’ नेपाली भाषामा, नेपाल संवत्को ‘न्हुँदँ’ मा नेपाः भाषामा, मध्य पुसमा पर्ने इस्वी संवत्को ‘न्यु इयर’ अंग्रेजीमा र इस्लाम धर्मावलम्बीको असोज महिनामा पर्ने ‘हिजरी संवत्’, शेर्पा समुदायको ‘ग्याल्पो ल्होसार’, तामाङ समुदायले ‘सोनाम ल्होछार’, गुरुङ समुदायले ‘तमु ल्होछार’ सद्भावका साथ सुख, समृद्धि र शान्तिको कामना सहित नयाँ वर्षका रुपमा मनाउँछन् । किराँत समुदायको नयाँ वर्ष ‘येले संवत्’को, थारू समुदायको नयाँ वर्ष ‘माघी’को थारू भाषामा, चेपाङ समुदायको ‘न्वांगी छोनाम’को आफ्नै मौलिक भाषामा र मैथली समाजको नयाँ वर्ष ‘जुड शीतल’ पर्वका रुपमा मनाउँछन् । यसरी वर्षहरु फेरिँदै गर्दा फगत वर्षहरु मात्र फेरिएनन्, यसबिचमा व्यवस्था फेरियो, तन्त्र फेरियो, सरकार फेरियो, समाज फेरियो, परिवेश फेरियो । फेरियो यसैगरी अनेकन पात्र र प्रवृत्तिहरु । तर, जे फेरिनु पर्ने थियो, त्यो फेरिन सकेन, जो बदलिनु पर्ने थियो, त्यो बदलिएन ।

वर्ष २०८१ साल नेपालका लागि उति धेरै उत्साहप्रद रहेन । वर्षको अन्त्य तर्फ आउँदै गर्दा आन्दोलन नै आन्दोलन, हिंसा र अराजकता व्याप्त मात्र देखिएन, निर्दोष निहत्था दुई नागरिकले ज्यान नै गुमाउनु प¥यो । यही अप्रिय घटना, आन्दोलन चल्दा चल्दै नयाँ वर्ष २०८२ शुरु भएको छ । फेरि नयाँ वर्षको अर्को एउटा नयाँ संस्करण नेपाली समाजमा आएको छ । बितेको वर्ष राजनीतिक स्थिरता,सुधारिएको नीति र चुस्त जनमुखी प्रशासन नभएरै नेपाल र नेपालीले दुःख, सास्ती र सकस बेहोर्नु प¥यो । आम नागरिक दुःख, दरिद्र, अस्थिरता, अशान्त र बेथितिमै बाँच्न अभिशप्त रह्यौ । अबको नयाँ वर्ष राज्य सञ्चालकहरु जनभावनाको कदर गरुन् । निजामति कर्मचारीहरु जनता र देश प्रति उत्तरदायी जवाफदेही बनुन् । जन आकांक्षा शिरोपर गरी निःस्वार्थ जनसेवामा समर्पित हुने जमात बढुन्, आफ्नो कर्तव्य र दायित्वबोध गर्ने असल नागरिकको भूमिकामा हर नागरिक कटिबद्ध होउन्, देशलाई शिरमा, राष्ट्रियतालाई छातीमा र जनतालाई आँखामा राखेर राष्ट्र हाँक्नेहरु नै देशको नेतृत्व गरुन्, नयाँ वर्ष २०८२ तपाईँ सम्पूर्णका लाग उत्साह र उमंगको वर्ष बनोस्, हार्दिक मंगलमय शुभकामना ।

यो पनि पढ्नुहोस्