बागलुङ सेवा समाज दोहा कतारद्वारा एक करोडको अक्षकोष स्थापना हुँदै

आदर्श सञ्चार, बागलुङ
बागलुङ सेवा समाज दोहा कतारले एक करोड रुपैयाँको अक्षकोष स्थापना गर्ने भएको छ । आगामी वैशाख ५ गते दोहामा भव्य कार्यक्रमको आयोजना गरि अक्षकोषको घोषणा गरिने भएको हो । मंगलबार बागलुङमा अक्षकोषका बारेमा पत्रकार सम्मेलन गरि समाजका संरक्षक होमनाथ शर्माले हालसम्म ५० लाख रुपैयाँ संकलन भएको जानकारी दिनुभयो ।

अब थप ५० लाख संकलन गरि अक्षकोषको घोषणा गरिने उहाँको भनाइ छ । बागलुङबाट वैदेशिक रोजगारीका लागि दोहा पुगेका युवाहरुले अक्षकोष स्थापना गर्न थालेको शर्माले जानकारी दिनुभयो । अक्षकोषमा अहिले एक करोडको स्थापना गरे पनि त्यसलाई विस्तारै बढाउने योजना रहेको उहाँको भनाइ छ ।

सबै बागलुङवासीलाई जोड्नका लागि हरेक परिवारबाट थोरै धेरै रकम संकलन गर्ने शर्माले बताउनुभयो । अक्षकोष घोषणा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले दोहो पुगेर गर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “अक्षकोष स्थापना गरेर कुनै पनि नाफामुलक क्षेत्रमा लगानी गर्ने होइन, यसलाई सामाजिक क्षेत्रमा प्रयोग गर्ने हिसाबले अक्षकोष स्थापना गर्न थालेका हौँ, अहिलेसम्म आधा करोड रकम संकलन भएको छ, यसलाई एक करोड पु¥याएर घोषणा गर्ने संघारमा छौँ, यस अक्षकोषमा धेरैभन्दा धेरै बागलुङलाई जोड्ने छौँ ।”

समाजका सदस्य भरत पौडेलले विभिन्न प्रकोपबाट विपत्तिमा परेका नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले अक्षकोषको स्थापना गर्न थालिएको जानकारी दिनुभयो । पछिल्लो समय धेरै नागरिकहरु मुटु, मृगौला तथा जटिल प्रकारका रोग लागेर सहयोग याचना गरि रहेको सन्दर्भमा यो कोषबाट पनि उनीहरुलाई ठूलो राहत मिल्ने उहाँको भनाइ छ ।

जिल्लामा हुने विभिन्न समस्या समाधान गर्न र विदेशमा अलपत्र परेर फर्किएका युवालाई पुनःस्थापन गर्नका लागि अक्षकोषबाट सहयोग गर्ने लक्ष्य रहेको पौडेलले बताउनुभयो । बागलुङको पर्यटन प्रवद्र्धन, विकास निर्माण र सुशासनका लागि पनि अक्षकोषले भूमिका खेल्ने उहाँ बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्