बजेट अभावले निसीखोला आधारभूत अस्पताल अलपत्र

डम्मर बुढा मगर, बागलुङ
बागलुङको निसीखोलामा निमार्णाधिन पालिका स्तरीय आधारभूत अस्पतला अलपत्र परेको छ । गत वर्ष पौष महिनामा सम्पन्न हुनु पर्ने अस्पताल बजेट अभावका कारण अलपत्र परेको हो । निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शैयाको आधारभूत अस्पताल निर्माणका लागि लागि वि.सं. २०७८ साल माघ २० गते सम्झौता भएर काम सुरु भएको थियो ।

रु आठ करोड २४ लाख रुपैयाँमा निर्माण सुरु भएको अस्पताल वि.सं. २०८० पौष महिनामा सम्पन्न गर्ने गरि निर्माण सुरु भएको थियो । तर हालसम्म ९० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस/एसी जेबी कन्ट्रक्सनका प्रमुख दीपक कुमार अदैले जनाकारी दिनुभयो । पालिकाले बजेट विनियोजन गरे दुई महिनामै काम सम्पन्न गर्ने सक्ने उहाँको भनाइ छ । अदैले वि.सं.२०८० भदौमा बुझाएको रु एक करोड १० लाख रुपैयाँको बिलको भुक्तानी अझै हुन नसकेको बताउनुभयो ।

पालिकाबाट भुक्तान गर्न बाँकी रहेको रु एक करोड १० लाखसहित थप रु ६० लाख व्यवस्थापन गर्न सके काम गर्न समस्या नहुने उहाँ बताउनुहुन्छ । लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको अदैले सुनाउनुभयो । पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्षनै अस्पताल सम्पन्न भई सक्ने उहाँको भनाइ छ ।

अदैले भन्नुभयो – “यो अस्पतालको काम अब धेरै छैन, रङरोघन, विद्युत जडान र फिनिसिङको काम बाँकी छ, बजेट हुने हो भने केही समयमै काम सम्पन्न हुने थियो, तर पालिकाले अहिलेसम्म करोड बढीको रकम भुक्तानी गरेको छैन, त्यो बाहेक अझै थप बजेट आवश्यक पर्छ, त्यसको व्यवस्थापन गर्न सके काम अगाडि बढ्थ्यो, पोहोर सालनै सकिने काम अहिलेसम्म बजेट नहुँदा आगामी वि.सं. २०८२ असारसम्मका लागि म्याद थप गरेका छौँ, बजेट नआएपछि कसरी काम गर्ने ?”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले केन्द्र सरकारले बजेट नपठाउँदा अस्पताल अलपत्र स्थितिमा पुगेको बताउनुभयो । गाउँपालिकाको आन्तरिक स्रोत निकै कम हुने हुँदा अस्पतालमा बजेट विनियोजन गर्न नसक्ने उहाँको भनाइ छ । आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयमा माग गरेको अध्यक्ष घर्ती मगर बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्