खेमराज गौतम, बागलुङ
बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले पाउने तलबभत्ता सामाजिक कार्यमा खर्चनु भएको छ ।
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर तलबभत्ता खर्चदै आउनुभएको छ ।
खड्काले चार विद्यालयमा कोष स्थापना गर्नुभएको छ भने गरिब तथा शहिद परिवारलाई खाद्यन्न प्रदान गर्दै आउनुभएको छ ।
राजु खड्काले उपप्रमुखका लागि प्राप्त सेवासुविधा वापतको रकम सामाजिक काममा क्रमश लगाउदै जाने बताउनुभएको छ ।
जनप्रतिनिधिलाई प्राप्त सेवासुविधा सामाजिक क्षेत्रमा खर्चिने गरी घोषणा अन्र्तगत क्रमश कार्यान्वयनमा गएको खड्काल जानकारी दिनुभयो ।
खड्काले बागलुङ विपन्न विद्यार्थीले अध्ययन गर्ने सामुदायिक विद्यालयमा आर्थिक सहयोग गर्नुभएको छ । उहाँको सहयोगले पोषाक तथा शैक्षिक सामाग्रीमा सहयोग गर्दै आउनुभएको छ । अहिले सम्म पाँच लाख भन्दा बढी रकम सामाजिक र शैक्षिक क्षेत्रमा खर्चनुभएको छ ।
खड्काले बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयमा एक लाखको अक्षय कोष, बागलुङ नगरपालिका–२ स्थित रुद्रेपिपल माध्यामिक विद्यालयमा रु. एक लाखको अक्षय कोष, बागलुङ नगरपालिका–१२ स्थित कृष्ण प्रावीलाई रु. ५० हजार सहयोग गरेको खड्काले बताउनुभयो । यस्तै बागलुङ नगरपालिकाको पहिलो बालमैत्री विद्यालयको रुपमा घोषणा गरिएको सिगाना माध्यामिक विद्यालयलाई तलबभत्ताको रकमबाटै ४४ हजारको पुरस्कार प्रदान गरेको जानकारी दिनुभयो ।
हालै बागलुङका क्रियाशिल पत्रकारहरुलाई लेखनवृद्धिमा सघाउनका लागि पत्रकार महासंघमा खडा गरिएको लेखनवृद्धि कोषमा रु. ३५ हजार सहयोग प्रदान गर्नुभएको पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले जनाकारी दिनुभयो । नगरउपप्रमुले प्रत्येक दशैंमा सहिद, बेपत्ता र घाइतेका परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्नुभएको थियो । सामुदायिक विद्यालयमा गरिब तथा जेहेनदार विद्यार्थीको हितका लागि खर्चिने गरी कोष स्थापना कार्यलाई १४ वटा वडामै पु¥याइने बताउनुभयो ।
“जनप्रतिनिधि जनताको सेवक हो, नगर उपप्रमुखको हैसियतमा विभिन्न सेवा सुविधा वापतको रकम आउने रहेछ, उक्त रकमलाई सामाजिक काममा लगाउने घोषणापत्रमै उल्लेख गरिएको थियो, त्यही घोषणापत्र कार्यान्वयनमा लागेको हुँ” उहाँले भन्नुभयो “आफूलाई प्राप्त सेवा सुविधा सहिद परिवार, बेपत्ता, घाइतेको उन्नयनका लागि र शैक्षिक सुधारमा खर्च गर्ने गरी अगाडि बढेको छु ।”
उहाँले उत्कृष्ट अध्ययन तथा अध्यापन भइरहेको सामुदायिक विद्यालयका विद्यार्थीको हितका लागि अक्षयकोष स्थापना गर्दै जाने लक्ष्य रहेको बताउनुभयो । काम गर्ने क्रममा जनताकामा पुग्दा जहाँ सहयोगको आवश्यकता देख्छु, त्यही प्रत्यक्ष सहयोग समेत गर्दै आएको छ ।