सम्पादकीय
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने खबर सार्वजनिक हुँदा पोखरेली त खुशी र उत्साहित थिए नै, सिंगो गण्डकी प्रदेशबासी खुशी थिए । निर्माणमा समय लागे पनि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बने पछि यस क्षेत्रका नागरिक उल्लेख्य मात्रा लाभान्वित हुने अपेक्षा थियो । तर, अन्तर्राष्ट्रिय विमानस्थल बनेको वर्षौ भइसक्दा पनि यहाँबाट एउटा पनि नियमित उडान हुन सकिरहेको छैन । बेला बेलामा चाइनाको केही शहरमा उडान हुने खबर सार्वजनिक हुन्छ । यद्यपि यसको पनि कुनै टुंगो छैन । अरु देशमा त तत्काल कुनै अन्तर्राष्ट्रिय उडान हुने सम्भावना देखिएको छैन । सरकारले यसतर्फ गम्भिरतापूर्वक सोच विचार गरेको पनि देखिदैन । बरु यस विमानस्थलबारे नकारात्मक खबरहरु सार्वजनिक हुन थालेको छ ।
नेपालको अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार, पर्यटकीय, आर्थिक एवं व्यावसायिक विकासको उद्देश्य लिई २०३२ सालदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि ३१०६ रोपनी जग्गाको अधिग्रहण गरिएको थियो । २०६८ मंसिर ११ मा अर्थ मन्त्रालयले ईपीसी मोडलमा विमानस्थल निर्माण कार्यअघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिएदेखि यसको निर्माण प्रक्रिया प्रारम्भ भएको देखिन्छ । नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको मार खेपिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमै भ्रष्टाचार भएको चर्चा थियो । अहिले निर्माणको प्रारम्भदेनि नै अनियमितता र भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको उपसमितिले ठहर गरेको छ । उपसमितिले तयार पारेको प्रतिवेदनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टाचार भएको उल्लेख छ । निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको, सार्वजनिक खरिद ऐन तथा प्रचलित मान्यता विपरीत भ्रष्टाचारलाई वैधता प्रदान गर्ने मनसायले ३ सदस्यीय कार्यदल गठन गरी लागत अंक वृद्धि गर्न नीतिगत निर्णय भएको प्रतिवेदनमा लेखिएको छ । मुल सम्झौताको प्रावधानविपरीत कर छुट दिएर आर्थिक अनियमितता गर्ने मनसायबाट नयाँ कार्यान्वयन सम्झौता गरी पटकपटक नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयले मास्टर लिस्टका आधारमा २ अर्ब २२ करोड ४० लाख आर्थिक अनियमितता गरेको उपसमितिको ठहर छ ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसक्दा पनि पूर्ण तथा व्यवसायिक रुपमा सञ्चालन हुन नसकेको बिडम्बना एकातिर छ । अर्कोतर्फ निर्माण प्रकृयामा नै अनियमितता तथा भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको निष्कर्षले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान थप अनिश्चित बन्ने खतरा बढेको छ । अब विमानस्थल पूर्ण रूपमा सञ्चालनयोग्य बनाएर मात्र व्यावासायिक सञ्चालनका लागि नेपाल सरकारले पहल गर्नुपर्ने अवस्था देखिएको छ । यसका साथै अहिले सार्वजनिक लेखा समितिले औल्याएको अनियमितता, भ्रष्टाचारका सन्दर्भमा तत्काल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन तथा अनुसन्धान गर्नुपर्छ । यदि यसमा अनियमितता वा भ्रष्टाचार गरेको पाइएमा दोषीउपर कानुनबमोजिम कारबाहीको दायरामा ल्याइनु पर्छ ।