डम्मर बुढा मगर, बागलुङ
“हाम्रो गाउँमा पाँच/सात ठाउँमा वर पिपलका रुख थिए, मान्छेले विहान–विहान आएर पूज्थे, गर्मीमा शीतल लिन यसको फेँदमा बस्थे, बटुवाहरु हिँड्दा थकाई मार्न एकछिन त्यसैको छहारीमा विश्रम लिन्थे, अहिले ति वर पिपल सबै बाटोले खायो, बटुवा पनि हिड्न छोडे ।”
बागलुङको निसीखोला गाउँपालिका–४ का ८३ वर्षीय धनबहादुर मगरले मौलिक सम्पदा मासिदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
धार्मिक महत्वसँग जोडिएको वर पिपल मोटरबाटोले पुरिएपछि अहिले गाउँनै उजाड जस्तै बनेको मगरले बताउनुभयो । बुढापाकाले रुख विरुवा नभएको ठाउँमा वर पिपल रोपेर धर्मकर्म गरे पनि अहिलेको पुस्तामा त्यो खालको सोँच नभएको उहाँको भनाइ छ । पछिल्लो समय गाउँका विकासका नाममा मौलिक सम्पदा मास्नेका भएको मगरले गुनासो पोख्नुभयो ।
जथाभावि रुपमा सडक निर्माण गर्दा बस्ती जोखिममा पर्नुका साथै धार्मिक आस्थासँग जोडिएका सम्पदाहरु भत्काउने गरेको उहाँको भनाइ छ । अव्यवस्थित सडक निर्माणले गाउँको स्वरुपर्न कुरुप बनाएको भन्दै यसलाई राज्यले व्यवस्थित गर्नु पर्ने मगर बताउनुहुन्छ । आधुनिक प्रबिधिको विकासले संचालनमा रहेका सम्पदासमेत प्रयोगविहीन हुँदै गएको उहाँले बताउनुभयो ।
ढोरपाटन नगरपालिका–९ का कुलबहादुर पुनले डोजरे विकासले गाउँ, बस्ती र पर्यावरणमा असर पु¥याएको सुनाउनुभयो । सडक निर्माण गर्दा धेरै ठाउँमा पानीको मुहान सुक्ने समस्या भएको उहाँको भनाइ छ । ढोरपाटन जाने बाटैमा रहेको रुद्रतालमा पनि डोजर चलाउँदा अहिले सुक्दै गएको पुनले बताउनुभयो । रुद्रतालमा पूजा गरि स्नान गर्दा मनोकांक्षा पूरा हुने र छाला सम्बन्धी रोग नलाग्ने जनविश्वास रहेको भन्दै अहिले उक्त क्षेत्र संरक्षण हुन नसकेको गुनासो गर्नुभयो ।
पुनले भन्नुभयो – “रुद्र तालमा देवता छन् भन्थे, यहाँ कसैले पनि फोहोर गर्दैनथे, एक दशक अगाडिसम्म यहाँ ठूला ताल थियो, पानी पनि भरीभरी हुन्थ्यो, अहिले डोजर लगाएपछि पानी सुकेको छ, पहिले–पहिले देशभरका मान्छे आएर पूजा गर्न, ध्वजा बाँने र वर माग्ने गर्थे, यहाँ पूजा गर्दा दुःख, दर्द र समस्याहरु आई पर्दैन भन्ने विश्वास थियो, अहिले तालनै मासिने स्थितीमा पुग्यो ।”
पछिल्लो केही वर्ष यता भरिया र स्थानीयले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटी पौवा र धर्मशालाको अस्तित्वनै समाप्त भएको स्थानीय प्रेमबहादुर बुढा मगरले बताउनुभयो । सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य त छोटाई दियो र मौलिक सम्पदाको पहिचान भने मेटाई उहाँको भनाइ छ । बागलुङको पश्चिम क्षेत्रबाट जिल्ला सदरमुकाम आउँदा बाटोका दर्जनौँ स्थानमा वर पिपलका चौतारा, ढुङ्गेधारा र धर्मशाला भेटिने गरेको स्मरण गर्दै अहिले ति सम्पदा मासिएको बुढा मगरको भनाइ छ ।
“सडकले सुविधा त दियो तर हाम्रो मौलिक संस्कृति र पहिचान भने मेटाउँदै गयो, पहिले हामीहरु दुई सता लगाएर बटौली पुगेर नुन, तेल र चामल बोकेर आउँथ्यौँ, बाटोमा अहिलेको जस्तो होटल हुँदैनथे, धर्मशाला हुन्थे, त्यही धर्मशालामा रात कटाउँथ्यौ, अचेल पाँच÷सात घण्टामै पुगिन्छ,” उहाँले भन्नुभयो – “ हाम्रो कुरा सुन्दा नयाँ पुस्ता छक्क पर्छन्, पाटीपौवा, धर्मशाला र चौतारा भन्ने बुझ्दैनन् ।”