बागलुङका चार पालिकामा क्षयरोग मुक्त अभियान

आदर्श सञ्चार, बागलुङ
बागलुङका चार पालिकामा क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको छ । क्षयरोग पत्ता लगाउने, सर्ने दर न्यूनिकरण गर्ने र पत्ता लागेका क्षयरोगीलाई उपचार गरेर क्षयरोग मुक्त पालिका निर्माणका लागि जिल्लाका १० पालिका मध्ये बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा क्षयरोग मुक्त अभियान थालिएको छ ।

गत वर्ष बडिगाड र गलकोटमा थालिएको अभियान यस वर्ष थप गरेर बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा पु¥याइएको छ । नेपाल सरकारले क्षयरोग मुक्त पालिका घोषणा कार्यविधि अनुसार चार पालिकामा क्षयरोग मुक्त अभियान अन्र्तगतका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयरोग निरिक्षक देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार क्षयरोग मुक्त अभियानले क्षयरोग पत्ता लगाउने कार्य भइरहेको बताउनुभयो । क्षयरोग मुक्त अभियानका लागि क्षयरोगी पत्ता लगाउने र उपचार गर्ने कार्यलाई अभियानमा जोडिएको छ । यस्तै पालिका देखि वडा सम्म क्षयरोग मुक्त समन्वय समिति गठन गर्ने, टोल–टोल तहमै स्वयंसेविका परिचालन गर्ने कार्यक्रम रहेको छ ।

“क्षयरोग सरुवा रोग भएकाले सर्ने दर घटाउन सक्नु नै मुख्य अभियान हो जस्का लागि क्षयरोगी पत्ता लगाउदै उपचार गर्दै जानुपर्दछ, क्षयरोग सम्बन्धी सचेतना समेत मुख्य कुरा हो, अभियानले क्षयरोगी पत्ता लगाउने दर बढेको छ, क्षयरोगी पत्ता लगाउदै उपचार गर्दै गएपछि क्षयरोगी दीगोरुपमा कम हुँदै जान्छन्” घिमिरेले भन्नुभयो “चालु आर्थिक वर्षमानै जिल्लामा २०३ क्षयरोगी पत्ता लगेका छन्, उनिहरुले औषधी सेवन गर्नाले क्षयरोग अरुमा सर्दैन र निर्मुलनमा सहयोग पुग्दछ ।”

क्षयरोग मुक्त अभियान सञ्चालन भएको बडिगाड गाउँपालिकामा गत वर्ष १३३ जनामा क्षयरोग पत्ता लागेको थियो । बडिगाडमा अहिले क्षयरोगीको संख्या घटेर ४३ जनामा आइपुगेको छ भने क्षयरोगीको सर्वेक्षण गर्नेक्रम जारी रहेको छ । यस्तै गलकोट नगरपालिकामा ३१ सक्रिय क्षयरोगी, बागलुङ नगरपालिकामा ३० सक्रिय क्षयरोगी रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

चार पालिकामा अहिले एआई प्रविधिबाट क्षयरोग पत्ता लगाउनेकार्यलाई तिब्रता दिइएको छ भने पालिकामा क्षयरोग संयोजक तोकिएको छ । पालिका प्रमुखकको अध्यक्षतामा क्षयरोग मुक्त समन्वय समिति, वडा स्तरीय समिति गठन गर्ने कार्य भइरहेको छ ।

यस्तै ढोरपाटन नगरपालिकामा समेत क्षयरोग मुक्त अभियान नचलेपनि क्षयरोग पत्ता लगाउनका लागि एक्सरे मार्फत परिक्षण भने भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । क्षयरोग मुक्त अभियानका लागि स्वास्थ्य शाखामा एकाई गठन गर्ने, पालिका स्तरीय क्षरोग मुक्त अभियान समन्वय समति गठन गर्ने र वडामा वडास्तरी समिति गठन गरिने छ ।

क्षयरोग पत्ता लगाउने, उपचार गर्ने, सर्ने दर घटाउने, रोकथाम गर्ने र मृत्युदर कम गरेर शुन्यमा क्षयरोगी झार्नका लागि अभियान सक्रिय भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनुभयो ।

नगरपालिकाका १४ वडा मध्ये १२ वटा वडामा सुक्ष्म योजना निर्माण कार्य सम्पन्न भइसकेको खनालले जानकारी दिनुभयो । सन् २०३५ साल भित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको नेपाल सरकारले खोजी अभियानलाई पनि तीव्रता दिइएको छ ।

 

यो पनि पढ्नुहोस्