डम्मर बुढामगर, बागलुङ
बागलुङ नगरपालिका–४ नियरघाटमा निर्माण भएको वृद्धाश्रम संचालनमा आउन सकेको छैन । दुई वर्ष अगाडि परिवारबाट हेलित भएरका वृद्धवृद्धालाई राख्नका लागि निर्माण भएको वृद्धाश्रम संचालनमा आउन नसकेको हो । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि भवन संचालन नहुँदा वरपर झाडी पलाएर ढाकिएर बेवारिसे जस्तै बनेको छ ।
आश्रम निर्माणका लागि जुम्ली निर्माण सेवाले वि.सं. २०७९ पौष ८ गते सम्झौता गरि काम सुरु गरेको थियो । निर्माण कम्पनीले वि.सं. २०८० असार २५ गते काम सम्पन्न गरेको थियो । नगरपालिकाको रु दुई करोड २६ लाख ५४९ मा निर्माण भएको सुविधायुक्त आश्रम बनेको हो । भवन एक तलाको भए पनि सुविधायुक्त रहेको छ ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले परिवारबाट तिरस्कारमा परेका वृद्धवृद्धाहरुको संरक्षणका लागि वृद्धआश्रम निर्माणको भन्दै अहिलेसम्म कोही पनि वृद्धवृद्धा आश्रय लिन नआउँदा संचालन नभएको बताउनुभयो । करोडौँ खर्चिएर बनाएको संरचनालाई प्रयोग नगरि छोड्नुभन्दा केही समयका लागि मानवसेवा आश्रमलाई संचालन गर्न दिने कार्यपालिकाले निर्णय गरेको उहाँको भनाइ छ ।
नगरप्रमुख श्रेष्ठले भन्नुभयो – “कोही पनि बाबाआमा आश्रममा बस्नु नपरोस्, सुखद भनौँ अहिलेसम्म हाम्रो सम्पर्कमा परिवारबाट हेलामा परे भनेर कोही पनि आउनु भएको छैन, नगरपालिकाले हेलामा परेका वृद्धवृद्धालाई संरक्षण गर्ने उद्देश्यले यो आश्रम बनाएको हो, यसलाई अब प्रयोग गर्नु पर्छ भन्ने हिसाबले मानव सेवा आश्रमलाई दिने निर्णय भएको छ ।”
वृद्धआश्रम नजिकै मानव सेवा आश्रमको भवन निर्माणाधिन छ । उक्त भवन नबन्दासम्म वृद्धआश्रम प्रयोग गर्न दिने उहाँ बताउनुहुन्छ । झाडीले ढाकिएको भवनलाई नगरपालिकाले केही समयमै व्यवस्थित बनाउने प्रमुख श्रेष्ठको भनाइ छ । उक्त भवनको संरक्षणका लागि घेराबार गर्ने, फोहोर व्यवस्थापन लगायतका काम गर्ने उहाँले बताउनुभयो । यदि कोही वृद्धवृद्धाहरु आश्रय लिन आए राम्रो सुविधा दिएर राख्ने श्रेष्ठले बताउनुभयो ।
निरयघाटमा रहेको जङ्गेश्वर महादेव लक्ष्मीनारायण गुठीको पाँच रोपनी जग्गामा आश्रम निर्माण भएको छ । भवनमा ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सासहित भवनमा २० कोठा रहेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो । भवनमा वृद्धवृद्धाका लागि शौचालय, स्नानगृह रहेको उहाँको भनाइ छ ।
बागलुङ नगरपालिका–१ का स्थानीय बालकृष्ण आचार्यले वृद्धआश्रम संचालन नहुँदा राम्रो ठूलो रकम नोक्सान भइरहेको बताउनुभयो । निर्माण सम्पन्न भएको दुई वर्षसम्म संचालन नहुनु दुःखद विषय भएको भन्दै नगरपालिकाले कुनै प्रयोजनका लागि भए पनि प्रयोग गर्नु पर्ने सुनाउनुभयो । नयाँ भवन प्रयोग नहुँदै झ्याल ढोका टुट्न फुट्न लागेको उहाँको भनाइ छ ।