आदर्श सञ्चार, बागलुङ
बागलुङको ढोरपाटन उपत्यकामा क्षेत्रमा बस्दै आएका ४८ तीब्बतीयन शरणार्थीको पचिरय पत्र नविकरण गरिएको छ । वि.सं. २०१८ सालमा तिब्बतबाट आएर बसेका शरणार्थीको जिल्ला प्रशासन कार्यालयको समूह शरणार्थी बसेको गाउँमै पुगेर परिचयपत्र नविकरण गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
पछिल्लो समय शरणार्थीहरु बसाईसराईका कारण पोखरा, काठमाडौँ लगायत देशका ठूला सहरमा जान थालेपछि परिचय पत्र नविकरण गर्नेको संख्यामा क्रमश कमि आउदै गएको छ । अघिल्लो वर्ष ५० जनाको परिचयपत्र नविकरण भएकोमा यस वर्ष ४८ जनाको परिचय पत्र नविकरण भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिनुभयो । नेपालमा बस्ने अस्थायी परिचयपत्र वार्षिक रुपमा नविकरण गरिदै आइएको पौडेलले बताउनुभयो ।
“उहाँहरुको बस्तीमै पुगेर नविकरण गरिन्छ, गत वर्ष ५० जनाको नविकरण भएको रहेछ, अहिले ४८ जनाको भयो, उहाँहरु विभिन्न शहर व्यापारका लागि जाने र नविकरणका लागि आफ्नो क्याम्प रहेको ढोरपाटने आउने गरेको पाइयो, केही विरामी भएर समेत नविकरणमा नआएको सुनियो” पौडेलले भन्नुभयो “उहाँहरु नेपालमा बस्ने अनुमतीका लागि परिचयपत्र दिइदै आएको छ ।”
जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार पछिल्लो चार वर्षमा शरणार्थी परिचय पत्र नविकरण गर्नेको संख्या पनि कम छ । जिल्ला प्रशासन कार्यालयका अनुसार २०७८÷०७९ मा ५६ जना, २०७९÷०८० मा ५३ जना र २०८०÷०८१ मा ५० र अहिले ४८ शरणार्थीले परिचय पत्र नविकरण गरेका छन् ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ स्थित चारगाउँ, छेन्तुङ लगायतका ठाउँ तीब्बतीयन शरणार्थीको बसोवास रही आएको वडा अध्यक्ष खिम बहादुर घर्तीले जानकारी दिनुभयो । अधिकांश शरणार्थी नविकरणका लागि मात्रै ढोरपाटन आउने गरेको बताउदै पोखरा र काठमाण्डौ जस्ता ठूला शहरमा बस्दै आएको वडा अध्यक्ष घर्तीको भनाई छ ।
उनिहरुका परिवार नेपालबाट विदेश समेत जान थालेकाले तीब्बतीयन शरणार्थी बस्ती क्रमश खाली हुँदै आएको छ । ढोरपाटन छोड्दा यहाँ बनेका घर भवन जीर्ण समेत बन्दै गएका हुन् । खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका शरणार्थीले अवसर खोज्दै शहर पस्न थालेपछि बस्ती रित्तो बन्दै जान थालेको हो ।
अहिले तिब्बतीयन बसेको ठाउँमा केही बुढापाका मात्रै बस्दै आएका छन् । व्यापार व्यवसायका लागि शहरमा जाने भएकाले क्याम शुनसान भइरहेको निमा ल्याह्मोले बताउनुभयो । उहाँले पहिले धेरै शरणार्थीहरु भएकोमा अहिले घटेर थोरै भएको बताउनुभयो ।