मन कुमारी केसी, बागलुङ
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका १३ वटा विभिन्न प्रकृतिका सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को दफा ७१ उपदफा (३) अनुसार लगातार २ वर्ष कुनै पनि कारोबार नगरी निष्क्रिय रहेका सहकारीको दर्ता खारेजी गरिएको रजिष्ट्रार कार्यालयले सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ । कार्यालयको बैशाख ९ गतेको निर्णय अनुसार बागलुङको एक सहित कास्कीका ३, तनहुँका ३, लमजुङको एक र गोरखाका ५ सहकारीको दर्ता खारेजी भएको हो ।
बागलुङको बडिगाड गाउँपालिका खरबाङमा रहेको सारथी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले दर्ता खारेज गरी पाउँ भनि निवेदन दिएकाले खारेज गरिएको कार्यालयले जनाएको छ । संस्थाले दिएको निवेदन अनुसार आवश्यक प्रक्रिया पुरा गरी सारथी सञ्चार सहकारीलाई खारेजी गरिएको सहकारी रजिष्ट्रार भेषराज रिजालले जानकारी दिनुभयो । अन्य १२ वटा संस्थालाई निष्क्रिय रहनुको कारण सहित सम्पर्कमा आउन सार्वजनिक सूचना, पत्राचार गरिएको, जिम्मेवार व्यक्तिहरु सम्पर्कमा नआएपछि संस्थाको स्थलगत अनुगमन गरेर संस्था सञ्चालन हुन नसक्ने अवस्था देखिएकोले खारेज गरिएको रिजालले बताउनुभयो ।
रजिष्ट्रार कार्यालयले कास्कीको ग्लोवल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पद्य नर्सिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड र मदी हिमाल कृषि सहकारी संस्था लिमिटेड खारेज गरेको छ । यस्तै तनहुका अजम्बरी कृषि सहकारी संस्था लिमिटेड, उपभोक्ता सहकारी संस्था लिमिटेड र माझकोट उपभोक्ता सहकारी संस्था लिमिटेड खारेज भएको कार्यालयले जनाएको छ । लमजुङको लघुउद्यम कोशेली घर सहकारी संस्था लिमिटेड तथा गोरखाका गोरखा सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड, जनता सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड, नागरिक वचत तथा ऋण सहकारी संस्था लिमिटेड, सत्यनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सहयोगी कृषि सहकारी संस्था लिमिटेडको दर्ता खारेजी भएको हो ।
गण्डकी प्रदेश सहकारी ऐनमा भएको व्यवस्था अनुसार लगातार दुइ वर्षसम्म कुनै पनि कारोबार नगरी निष्क्रिय रहकेो पाइएमा दर्ता अधिकारीले सहकारी संस्थाको दर्ता खारेजी गर्न सकिनेछ भन्ने व्यवस्था अनुसार अद्यावधिक हुन नआएका, लगातार दुई वर्षसम्म विवरण पेश तथा प्रतिवेदन पेश नगरी निष्क्रिय रहेका सहकारी संस्थाको खारेजी गर्ने प्रक्रिया अगाडि बढाइएको रजिष्ट्रार रिजालले जानकारी दिनुभयो ।
रजिष्ट्रार कार्यालयले खारेज भएका सहकारी संस्थाले तिर्न बुझाउन पर्ने कुनै दायित्व रहे, भएमा संस्थाका सञ्चालक लगायत जिम्मेवार पदाधिकारी÷व्यक्तिहरुले तिर्न बुझाउन समेत जानकारी गराएको छ । ‘सहकारी संस्थासंग कुनै लिनु दिनु पर्ने दायित्व भएमा सम्बन्धित सहकारी संस्थाका सञ्चालक, पदाधिकारीसंग सम्पर्क राख्नुहुन सम्बन्धित शेयर सदस्य लगायत सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ’ रजिष्ट्रार कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।