आदर्श सञ्चार, बागलुङ
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले सुशासन कायम गर्दै परिणाम दिनका लागि जिहजुरी होइन कर्तव्य निष्ठ भएर काम गर्नु पर्ने बताउनु भएको छ । प्रदेश अस्पताल पर्वतमा रंगीन भिडियो एक्सरे सेवाको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
प्रदेश सरकारले ३५ लाख लगानीमा खरिद गरेको मेसिन मन्त्री पाठकले उद्घाटन गरेसँगै बुधबारबाट प्रयोगमा ल्याइएको छ । रंगीन भिडियो एक्सरे सेवाको शुभारम्भ गर्दै मन्त्री पाठकले आफु काम गर्न आएको भन्दै परिणाम दिनका लागि चाकडी र चापलुसीको आवश्यकता नभएको भन्दै सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी अनुसारको काम गर्नु पर्ने बताउनु भएको हो ।
मन्त्री पाठकले गण्डकी प्रदेश भित्र रहेका सबै प्रादेशिक अस्पतालहरुको स्तरोन्नति गर्न प्रदेश मन्त्री परिषदले सैद्धान्तिक सहमति प्रदान गरेको भन्दै प्रदेश अस्पताल पर्वत पनि १५ शैयाबाट पचास शैयामा स्तरोन्नति गर्न लागिएको बताउनु भयो । उहाँले प्रदेश अस्पतालहरु पनि आफ्नै खुट्टामा उभिन सक्नुपर्ने भन्दै प्रदेश र संघको मात्र मुखताकेर बस्न नहुने कुरामा जोड दिनुभयो ।
सो अवसरमा मन्त्री पाठकले गण्डकी प्रदेश सरकारको चालिस लाख लगानीमा निर्माणाधिन पोस्टमार्टम गृह तथा संघ सरकारको पच्चीस लाख लगानीमा निर्माण भैरहेको फोहोरमैला व्यवस्थापन गृह, अन्तर्रास्ट्रिय पर्वत समाजको पैंतीस लाख लगानीमा अस्पताल परिसरमा सम्पन्न भएका सेवाग्राही विश्राम स्थल, चिल्ड्रेन पार्क, ढुंगेधारा लगाएतको समेत निरीक्षण गर्नु भएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरि र अस्पताल प्रमुख हेमन्त बस्तोलाले अस्पतालको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।