आदर्श सञ्चार, म्याग्दी
म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा भएको छ । गाउँपालिकाका ९२८ जना १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुले पूर्णखोप पाएपछि मंगलबार गाउँपालिकालाई पूर्णखोप सुनिश्चित दिगोपना घोषणा गरिएको हो ।
मालिका गाउँपालिकामा जन्मेदेखि १५ महिना भित्रका २५५ जना बालबालिकाहरुले सम्पूर्ण खोप लगाइसकेको मालिका गाउँपालिकाले जनाएको छ । राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सम्पूर्ण खोपको मात्रा पुरा गरेको र निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीले बताउनुभयो ।
बालबालिकाहरु जन्मेपश्चात् ५९ महिनासम्म पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् ।
गाउँपालिकाको सबै घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो ।
निस्कोट, रुम, डाँडागाउँ, ओखरबोट, देवीस्थान, दरबाङ र विमसहित ७ वटा वडा रहेको मालिकामा यी सबै वडालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि मङ्गलवार पालिकालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।