मन कुमारी केसी, बागलुङ
नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसर पारेर आज काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरेको युथ सेलिब्रेसन विशेष कार्यक्रममा बागलुङकी अश्मिन शेख वक्ताको रुपमा रहनु भएको छ । लोकतन्त्र प्राप्ति भएको दिन, बैशाख ११ गते एमालेले ४० वर्ष मुनिका एक लाख युवालाई आज काठमाडौंमा उतारेर खुशीयाली मनाउदैछ ।
कार्यक्रममा ४० वर्ष मुनिका विभिन्न क्षेत्रका व्यक्तिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । धौलागिरी बहुमुखी क्याम्पसका स्ववियू सभापति अश्मिन शेख उक्त कार्यक्रमको वक्ताका रुपमा रहेको एमाले पोलिटव्यूरो सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मन कुमारी केसी जिसीले जानकारी दिनुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल सहित विभिन्न क्षेत्रका युवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
मुस्लिम समुदायबाट विद्यार्थी राजनीतिमा सक्रिय अश्मिन शेख धौलागिरी क्षेत्रकै एक मात्र आंगिक क्याम्पसमा अनेरास्ववियूबाट सभापतिमा निर्वाचित हुनु भएको हो । पहिलो पटक पार्टी केन्द्रले आयोजना गरेको कार्यक्रममा वक्ताको रुपमा सहभागि हुन पाउदा कस्तो अनुभव भएको छ, भन्ने प्रश्नमा अश्मिन शेखले भन्नुभयो,–‘युवा र रोजगारका विषयमा मेरो धारणा राख्ने अवसर पाएकी छु, अवसरसंगै डर पनि लागेको छ, तर पनि म आफ्नो भावना राख्न सक्दो प्रयत्न गर्छु ।’
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य सुहाङ नेम्बाङ, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, आनन्द सिंह, विष्णु पोखरेल, शिवकुमारी चौधरी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।