डम्मर बुढामगर, बागलुङ
भुक्तानी नपाएपछि रोकिएको ढोरपाटन नगर अस्पतालको काम पुनःन सुरु भएको छ । ढोरपाटन सिकार आरक्ष क्षेत्रमा बन्दै गरेको नगर अस्पताल वि.सं. २०८० कात्तिक महिनादेखि काम ठप्प भएको थियो । स्वास्थ्य मन्त्रालयले निर्माण कम्पनीलाई रु आठ करोड ७६ लाख भुक्तानी गर्ने सुनिश्चित गरेपछि वैशाख १ गतेदेखि काम सुरु भएको हो ।
ढोरपाटन नगरपालिका–९ पाखाथरमा वि.सं. २०७९ असार २३ गतेदेखि निर्माण सुरु भएको नगर अस्पताल आगामी असार २३ गते सक्नु पर्ने हो । तर बजेट नआउँदा काम गर्न नसकिएको निर्माण जिम्मा पाएको एसी कन्स्ट्रक्सनका प्रमुख दिपक अदैले बताउनुभयो । काम सुरु गर्दा नगरपालिकाले पेश्की स्वरुप रु दुई करोड ४६ लाख उपलब्ध पनि त्यस यता काम गरेको भुक्तानी नपाएपछि काम रोकेको उहाँको भनाइ छ ।
उहाँले वि.सं. २०८० कात्तिक महिनासम्म रु आठ करोड ७६ लाखको काम सम्पन्न गरि नगरपालिकामा बिल बुझाए पनि अहिलेसम्म रकम नपाएको भन्दै नगरपालिका र स्वास्थ्य मन्त्रालयले यसै आर्थिक वर्ष भित्र उक्त रकम भुक्तानी हुने आश्वासन दिएपछि काम सुरु गरेको अदैले बताउनुभयो । बजेटको समस्या नभएको भए अहिलेसम्म काम अन्तिम चरणमा पुग्ने उहाँ बताउनुहुन्छ ।
अस्पातलको भवन निर्माणका रु १७ करोड ५० लाखमा सम्झौता भएको थियो । वि.सं. २०७९ असारदेखि सुरु भई वि.सं. २०८२ असार २३ गतेसम्म सक्ने गरि सम्झौता भएको अदैले बताउनुभयो । हालसम्म अस्पतालको ५२ प्रतिशत काम सकिएको उहाँको भनाइ छ ।
अदैले भन्नुभयो – “बजेट अभावले गर्दा अस्पतालको काम प्रभावित भयो, यतिबेलासम्म धेरै काम सकिसक्थ्यो, तर अहिलेसम्म आधा मात्रै भएको छ, झण्डै दुई वर्ष काम रोकियो, समयमा भुक्तानी पाउन नसक्दा धेरै समस्या भोग्नु प¥यो, यही आर्थिक वर्ष भित्र भुक्तानी आउने आश्वासनपछि काम सुरु गरेका छौँ, बजेट आयो भने काम गर्न समस्या छैन ।”
ढोरपाटन सिकार आरक्ष क्षेत्रका नागरिकलाई लक्षित गरि यहाँ १५ शैयाको नगर अस्पताल बनाउन सुरु गरिएको हो । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले निर्माण कम्पनीले पाउनु पर्ने भुक्तानी केही दिनमै पाउने बताउनुभयो । संघीय सरकारको लगानीमा बन्न थालेको अस्पताल समयमा बजेट नपठाउँदा निर्माण व्यवसायीले काम रोक्नु परेको उहाँको भनाइ छ ।
अस्पतालका लागि बजेट नपाउँदा अस्पतालको कामले गति लिन नसकेको भन्दै स्वास्थ्य मन्त्रलायलाई समयमै भुक्तानीका लागि बजेट पठाउनु आग्रह गरेको अदैले बताउनुभयो ।