डम्मर बुढामगर, बागलुङ
निर्माण व्यवसायिको लापरबाहीका कारण बागलुङमा दुई वटा मेटरेवल पुल ९ वर्षदेखि अलपत्र परेका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु–ओडारबोट जोड्ने भूजीखोला पुल र गलकोट नगरपालिका–७ को दरमखोला पुल अलपत्र परेको हो । लामो समयसम्म पुल नबन्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।
दुई वटै पुल निर्माणका लागि वाइटी रफिना जेभी कन्ट्रक्सनले जिम्मा पाएको थियो । भूजीखोला पुल वि.स.ं २०७४ माघमा सक्ने गरि वि.सं. २०७३ असोज ४ गते सम्झौता गरेको थियो । उक्त पुलको हालसम्म ३५ प्रतिशत मात्रै काम भएको सडक डभिजिन कार्यालय बागलुङले जनाएको छ ।
दरमखोला पसलका वि.सं. २०७४ माघ ४ गते सक्ने गरि वि.सं.२०७३ असोज ४ गतेको ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले समयमै काम नगरेपछि अन्तिम पटक वि.सं. २०७७ मंसिर १४ मा थपिएको म्याद थप गरिएको थियो । पुलको काम ४० प्रतिशत मात्रै भएको भएको छ ।
भुजीखोला पुल निर्माणका लागि रु दुई करोड १६ लाख र दरमखोलाको मोटरेबल पुलका लागि रु तीन करोड ३२ लाखमा सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । अहिलेसम्म निमार्ण भएका संरचनाहरू जीर्ण बनेर काम नलाग्ने भएका छन् । दुई वटै पुलको दुई वर्ष अगाडिनै ठेक्का तोडिएको प्रमुख सुवेदीको भनाइ छ । नयाँ ठेक्का लगाउनका लागि अर्थ मन्त्रालयमा स्रोत सहमतीका लागि पत्रचार गरेको उहाँले बताउनुभयो ।
समयमा पुल नबन्दा अधिकारीचौरका किसान बढी मारमा परेका छन् । हिउँदको समयमा गाडी बारैमै पुगेर फलफूल र तरकारी बजार पु¥याउने गरे पनि बर्खाको समयमा समस्या भएको ढोरपाटन नगरपालिका–५ का कृषक कृष्णलाल कँडेलको बताउनुभयो । सबैभन्दा बढी तरकारी बर्खामा उत्पादन हुने र बजारमा पु¥याउन नपाउँदा कुहिएर लाखौँको नोक्सानी व्यहोर्नु परेको गुनसो पोख्नुभयो ।
“यत्ति पुल बने त हाम्रा लागि सबैभन्दा ठूलो विकास यही हुने थियो, धेरै वर्ष भयो पुल बन्न लागेको तर अहिलेसम्म बन्न सकेन, सुरुमा खोलाको दुई किनारमा पिल्लर उठायो, अहिले जीर्ण भएको छ, केही भाग खोलाले बगायो” कँडेलले भन्नुभयो – “हामीहरु धेरै मारमा प¥यौँ पुल बन्ने आशमा यतिका वर्ष बित्यो, अब त बन्छ भन्ने आश पनि मरि सक्यो ।”
गलकोट नगरपालिका–८ का कुलप्रसार शर्माले पुल नबन्दा सबैभन्दा बढी मारमा विद्यार्थी परेको बताउनुभयो । अलपत्र परेको पुल नजिकै विद्यालय रहेको हुँदा बालबालिकाहरु जोखिम मोलेर खोला तर्ने गरेको उहाँको भनाइ छ ।
हिउँदको समयमा खोलामा पानीको बहाव कम हुँदा जसोतसो तर्न सकिने भए पनि बर्खाको समयमा करिब सात किलोमिटर टाढाको अर्को सडकको प्रयोग गर्नु पर्ने बाध्यता रहेको शर्मा बताउनुहुन्छ । पुललाई समयमै सम्पन्न गर्नका लागि राज्यले ध्यान दिन नसकेको गुनासो पुख्नुभयो ।