सम्पादकीय
डिजिटल प्रविधितिको तिव्रतर विकास भएको छ । पछिल्लो एक दशकमा कुनै क्षेत्रको सबै भन्दा धेरै विकास भएको छ भने त्यो प्रविधिको क्षेत्रमा भएको छ । प्रविधिसँगै विकास भएको सामाजिक सञ्जाल नेपाली समाजमा पनि सर्वाधिक प्रयोग र लोकप्रिय बनेको छ । यसले सिंगो विश्वलाई एउटा गाउँ (ग्लोबल भिलेज)मा रुपान्तरित गरिदिएको छ । यसले विश्वभर छरिएका नेपालीहरुलाई सन्निकट हुन सहयोग त पु¥याएको छ नै, थुप्रै बेथिति, विसंगति, अराजकता, अश्लिलता प्रश्रय दिने थलो समेत बनेको छ । कुनै बेला ‘नागरिक पत्रकारिता’को रुपमा लिइएको सामाजिक सञ्जाल पछिल्लो समय कुनै व्यक्ति, समूह प्रति ‘घृणा र द्वेष’ फैलाउने, एक अर्को प्रति प्रतिशोध, कुण्ठा र आक्रोश अभिव्यक्त गर्ने अस्त्र समेत बनेको छ ।
अहिले यसको प्रत्यक्ष सिकार लोकप्रिय अभिनेत्री सुरक्षा पन्त बनिरहेकी छिन् । उनले एक टेलिभिजनमा पूर्वराजाका नाति हृदयन्द्र शाहको तस्बिरमा दिएको प्रतिक्रियाको विषयलाई लिएर पूर्वराजा समर्थकहरु उनी अभिनित चलचित्र खेल बहिष्कार अभियान चलाइरहेका छन् भने पन्त प्रति सामाजिक सञ्जालमा तिव्र आलोचना गर्ने क्रम जारी छ । जबकी पन्तले केही नराम्रो आशय राखेर भनेका थिएनन्, राम्रो हुनुहुन्छ, उहाँका फ्यान पनि धेरै छन्, अभिनयमा आउन राम्रो हुने बताएकी थिइन् । यही प्रतिक्रिया दिँदा विवादको भुमरीमा परेकी छिन् । उनको अन्तर्वार्तापछि राजावादी समर्थकहरू आक्रोशित हुँदै सामाजिक सञ्जालमा तथानाम गाली गरिरहेका छन् र फिल्म बहिष्कार गर्ने अभिव्यक्ति दिइरहेका छन् । उसो त यसरी सामाजिक सामाजिक सञ्जालको निशानामा पर्ने उनी एक्ला व्यक्ति होइनन्, केही समय अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक विमोचन कार्यक्रममा उनका सकारात्मक पाटो उल्लेख गर्दा चौतर्फी सामाजिक सञ्जालमा गाली, आक्रोश र आक्रमणको शिकार बने । उनको पनि पहिलो डेब्यु निर्देशकीय चलचित्र वसन्त बहिष्कार अभियान समेत चलाइयो । यी त प्रतिनिधि घटना मात्र हुन्, यी र यस्ता घटनाहरु पछिल्लो समय छरपष्ट देखिन थालेको छ । जसले सामाजिक सञ्जालाई अ(सामाजिक सञ्जाल) बनाउने खतरा बढेको छ ।
सामाजिक सञ्जालको यथोचित उपयोग गर्न सक्दा जीवन दैनिकीमा सहजता मात्र होइन, यसको असली उपयोगले कैयनले डिजिटल माध्यमहरुबाटै आकर्षक आम्दानी समेत गरिरहेका छन् । तर, कतिपयले यसलाई पूर्वाग्रह, प्रतिशोध र कुण्ठा अभिव्यक्त गर्ने साधनको रुपमा दुरुपयोग गर्दा सामाजिक सञ्जाल नियन्त्रण गर्नुपर्ने बहस र आवाज बढ्दो छ । सरकारले सामाजिक सञ्जाललाई नियन्त्रणमा राख्नुपर्ने आवाज उठ्दा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको पक्षमा आवाज बुलन्दित हुन्छ । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर र महत्वपूर्ण उपलब्धि हो अभिव्यक्ति स्वतन्त्रता । यसलाई अंकुश लगाउने कुरा त सामयिक र सान्र्दभिक हुँदैन । अहिले सामाजिक सञ्जाल फेसवुक मेटालाई नेपालमा दर्ता गराउन सरकारले अल्टिमेटम पनि दिएको छ । तर, सामाजिक सञ्जालमा जे जस्ता मनपरीतन्त्रको झल्को दिलाउने भाषा र सामग्री जसरी सार्वजनिक भइरहेका छन्, ‘अरिंगाल’, साइवर सेना या यस्तै नाममा स्वतन्त्र विचारहरुलाई निषेध गर्ने गरी सामाजिक सञ्जाल प्रदुषित पारिएको छ, त्यसलाई नियन्त्रण होइन, नियमनको भने जरुरी देखिएको छ । आजको लोकतान्त्रिक प्रणालीमा आफ्ना असन्तुष्टि या फरक मतहरु स्वतन्त्र रुपमा राख्न पाउने र त्यसको शालिन र शिष्ट प्रतिवाद गर्न पाउने अधिकार र सुविधा छ । आफु र आफ्नो पक्षमा फरक मत जाहेर गर्न साथ तथानाम ‘धारे हात’ लगाउने, बहिष्कार अभियान नै चलाउने प्रवृत्ति सभ्य र सुसंस्कृत समाजका लागि निकै खराब कुरा हो । यसले नेपाली समाजलाई समृद्ध बनाउँदैन, त्यसले अराजकता र अस्थिरता तर्फ मुलुकलाई लैजाने छ ।