आदर्श अनलाइन, बागलुङ
छोरी भेट्ने र घुम्ने अभिलाषाका साथ बेल्जियम पुगेकी बागलुङ नगरपालिका ३ गौडाकोटकी ६५ बर्षिया महिला कोरोनाको चौतर्फी हल्ला पछि घर फर्कने हतारोमा थिइन् । उनी नेपालबाट कान्छी छोरी भेट्न गत फागुन १४ गते बेल्जियम पुगेकी थिइन् । कम्तीमा एक महिना उतै बस्ने डुल्ने सोचले विदेश पुगेकी उनलाई छोरीको पनि आएको बेला सम्भाव्य ठाउँ घुमाएर देखाएर फर्काउने चाह थियो । विदेश बोलाएकी छोरीलाई बल्लतल्ल मनाएर भ्रमण छोट्याउदै उनी चैत्र ४ गते नेपाल फर्किइन् पनि । तर, कोरोना सन्त्रासबाट भाग्दै नेपाल फर्किएकी उनलाई अन्ततः कोरोना भाइरसले पछ्याउदै घर सम्मै आएको पुष्टि भयो ।
गत चैत्र २० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको स्वाब परीक्षणमा पोजेटिभ रिपोर्ट अर्थात आँफुमा कोरोना संक्रमण पुष्टि भएको समाचारले उनी अचम्मित भए । किनकी उनमा कोरोनाको अहिले भनिएको रुघाखोकी, ज्वरोको कुनै लक्षण नै थिएन । ‘विदेशमा कोरोनाको जोखिम हुन्छ होला भनेर डर लाग्यो, झन् छिटो छिटो गरेर नेपाल फर्किए,’ उनले कोरोना अनुभव सुनाउदै फोनमा भनिन्, ‘शुरुमा पत्यार लागेन तर, समाचारसँगै घरमा फोन आउन थालेपछि नपत्याउने आधार पनि बाँकी रहेन, कोरोनादेखि भाग्दा भाग्दै खोई कसरी संक्रमण भएछ ।’ यात्राकै क्रममा कोरोना जोखिम बढि हुने र आँफु त्यसकै शिकार भएको उनको अनुमान छ ।
झण्डै २०÷२२ बर्ष देखी दमको रोगी समेत रहेकी उनी बेल्जियमबाट दोहा हुदै कतार एयरवेजको क्यूआर ६५२ नम्बरको फ्लाइटमा नेपाल आएकी थिइन् । सोही बिमानमा आएकी काठमाण्डौंकी १९ बर्षिया किशोरीलाई संक्रमण देखिए पछि उनको खोजी भएको थियो । त्यस क्रममै बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ बर्षिया किशोरीमा कोरोना संक्रमण भेटियो । जुन युवति सँगै उनी बेल्जियमबाट काठमाण्डौ र त्यहाँबाट पोखरामा यति एयरको विमान हुँदै बागलुङ सम्मै सँगै आएकी थिइन् । त्यसपछि कुनै लक्षण नदेखिए पनि स्वाब परीक्षणमा पठाउने दबाब पछि स्वास्थ्यकर्मीको टोलीले नमुना लिएर काठमाण्डौ पठाएको थियो । यही चैत्र २० गते परीक्षणमा पोजेटिभ रिपोर्ट आयो । त्यसयता उनी धौलागिरी अञ्चल अस्पतालको आइशोलेशन कक्षमा उपचाररत छन् ।
विदेशबाट बागलुङ फर्किएको दिन उनी छोरीको घरमा बसिन् । अर्को दिन बल्ल गौडाकोट स्थित घरमा पुगिन् । घरमा बस्दा गाउँका केही मानिस र बालबालिका पनि उनलाई भेट्न घरमा पुगेका थिए । उनीहरुलाई चकलेट पनि बाँडेको महिलाले बताईन् ।
अस्पतालमा उपचाररत उनले आँफुलाई अहिले पनि कोरोना लागेको अनुभव नै नभएको प्रतिक्रया दिन्छिन् । ‘म बरु पहिले देखी दमको रोगी हो, यसले साह्रै दुख र पीडा पनि झेल्दै आएको थिए’ उनले थपे, ‘त्यो पनि घरमै क्वारेन्टाइनमा बस्दा सञ्चो भए जस्तो भाको थियो, अहिले अस्पताल बसे पनि रोग लागेको अनुभूति विश्वास नै छैन । मेरो आत्मबल नै कडा छ ।’ अहिले परिवारका सदस्य, आफन्तहरु सग फोनमा कुरा गरेर आराम गरेरै दिन बिताउने गरेको उनी बताउँछन् ।
आँफुलाई कोरोना संक्रमण भए पछि एम्बुलेन्स चालक भागेकोदेखि गाउँ मानिसहरु पनि निकै डराएको आफुले सुनेको उनको भनाई छ । ‘यस्तो बेलामा सबैको साथ सहयोग र बचन चाहिने रहेछ,’ महिलाले भनिन्, ‘ मान्छेहरु सचेत हुनु त राम्रै हो । तर हाम्लाई देखेर भाग्ने र घृणा गर्ने धेरै हुँदारहेछन । अहिले को कस्ता रहेछन् चिन्न पाएकी छु ।’ उनलाई आफुलाई भन्दा परिवारका सदस्यलाई संक्रमण स¥यो कि भन्ने बढि पिरलो थियो । परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आए पछि उनी खुशी देखिन्छिन् ।
आमालाई कोरोना संक्रमण भयो भन्दा शुरुमा अत्तालिए पनि विस्तारै सम्हालिएको बृद्धाका छोराले बताए । अस्पतालबाट तपाइको आमालाई कोरोना संक्रमण देखियो, अस्पताल ल्याउनु पर्ने भो भनेर पहिलो फोन आँफुलाई आए पछि आफ्नो केहिबेर बोलीनै अवरुद्ध भएका उनी सम्झन्छन् । ‘साहस गरेर आमालाई हजुरलाई कोरोना देखियो रे भने,’ अत्यास लाग्दो क्षणका कुराकानीबारे उनले भने–‘आफुलाई रोग लागेको भन्दा पनि हामीलाई र गाउँका मानिसलाई पनि स¥यो कि भनेर चिन्ता गर्नुभएको थियो ।’ संक्रमित महिलाले अहिलेको कठिन घडीमा डराउने भन्दा सचेतता अपनाउनु पर्नेमा जोड दिइन् । आफ्नो स्वास्थ्य अवस्था सामान्य भएकाले केहि दिन पछि पुनः ठिक भएर घर फर्किने उनले बिश्वास व्यक्त गरिन् ।