म्याग्दी जिल्लाले बागलुङका सबै नाकामा कडाई गर्दै

आदर्श अनलाइन,म्याग्दी

म्याग्दीको मंगला गाउँपालिकाले बागलुङका सिमा जोडिएका सबै नाकामा कडाई गर्न थालेको छ ।

कोरोना भाइरस (कोभिड-१९) को जोखिमलाई मध्यनजर गरी बागलुङसँग जोडिएका ग्रामिण नाकामा चेक पोष्ट स्थापना गरेर कडाई गर्न थालेको हो ।

बागलुङ तर्फबाट बिभिन्न नाकाबाट पैदल यात्रा मार्फत जिल्ला प्रवेश भइरहेको गुनासो पछि अनुगमन र निगरानी थालिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

छिमेकी ताराखोला गाउँपालिकाबाट बरंजा र अर्मनको किमचौर क्षेत्रमा दैनिकजसो आवत जावत हुने गरेको गुनासोसँगै स्थानीयलाई कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी पदैलमार्ग ‘सिल’ गरी प्रहरी सहित यूवाको टोलीले गस्ती गर्न थालेको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।

बागलुङकै काठेखोला गाउँपालिकाबाट बेनी नगरपालिका–३ भकिम्लीको मुसुङमा समेत आवतजावत नरोकिएको गुनासोसँगै बेलढुंगामा प्रहरी सहितको चेकपोष्ट राखिने प्रजिअ ढकालले बताउनुभयो । ‘जोखिम बढेको छ,‘स्थानीयले आवतजावत रोक्नुपर्छ’ प्रजिअ ढकालले भन्नुभयो । मोटरसाईकलमा नेपाल युथ काउन्सिलका टोलीसँगै बरंजा र भकिम्लीको अवस्थामा बारेमा बुझ्न पुग्नुभएका प्रजिअ ढकालले आफन्तसँग भेटघाट, ब्यापारिक कारोबार हुने भएकाले पनि निगरानी बढाइएको बताउनुभयो । ‘प्रवेश गर्नेलाई तत्कालै क्वारेन्टाइनमा १४ दिन राखिने छ,‘आवश्यक प्रहरीको जनशक्तीलाई समेत परिचालनको तयारी भइरहेको छ’ प्रजिअ ढकालले भन्नुभयो । बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरी गाउँपालिकाबाट पोष्ट सहित स्थानीयलाई समेत नियमित सूचना दिन अनुरोध गरिएको छ ।

भकिम्लीको बेलढुंगा, बरंजाको धापुङ, अर्मनको किमचौर, ओखरबोटको सोलेडाँडा धेरै आवतजावत हुने नाका मानिन्छन् । स्थानीय प्रशासनले गाउँमा अपरिचित ब्यक्ति देखिएमा सूचना दिन समेत आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्