जनवादी गायक शर्माको ६०औं जन्मदिन:‘झन् ठूला दुःखले घेरेको’

आदर्श अनलाइन

सिमली छायाँमा बसी भरिया लामो सास फेरेको
उमेर भइसक्यो असी झन् ठूला दुःखले घेरेको ।

जनगायक भनेर चिनिने जीवन शर्माको यो कालजयी गीत नसुन्ने गीतका पारखी सायदै कोही नेपाली होलान्। कोरोनाले जनजीवन अस्तव्यस्त बनाएका बेला मजदुर, भरियालगायत निम्न वर्गलाई सास फेर्न गाह्रो भइसक्यो। २०४३ सालतिर रेकर्ड भएको यो गीत उत्तिकै सान्दर्भिक छ। २०१६ चैत २६ गते बागलुङको राङखानीमा जन्मिएका शर्मा बुधबार ६१ वर्षमा टेके।

शर्माको विशेषता के हो भने उनी आफूले गाउने गीत स्वयम् रच्छन्। त्यसमा संगीतरूपी प्राण आफैं भर्छन्। उनका सबै गीत युट्युबमा आएका छैनन्। जे जति आएका छन्, त्यसमा पनि उनको अभिनय देख्न सकिन्छ। उनले सस्ता खालका प्रेमगीत पस्केका छैनन्। सिसाको महल बोलको गीतमा उनको अभिव्यक्ति छ।

छैन मेरो शरीरमा अत्तरको सुगन्ध,
होला बरु जीउभरि पसिनाको गन्ध
होला मेरो खुट्टा बरु पटपट्टी फुटेको
तर मेरो जिन्दगी यसैमा उठेको
चाहिँदैन मलाई सिसाको महल
चाहिँदैन मलाई सम्पत्तिको रास

विदेशी कन्सर्टमा भन्दा उनले आफ्ना गीतबाट नेपालका गाउँ(सहर, कुना कन्दरामा गाएर जनचेतना जगाए। गाउँघरका दुःख, पीडा र अभावका कथाव्यथा गीत बनाएर गाउने हुँदा नै उनलाई ुजनगायकु भनेर चिनियो। जिम्मावाल परिवारमा जन्मेर पनि उनले भुइँमान्छेको जीवन शैली पछ्याए। पैदले यात्रा रोजे। शर्माका हजारभन्दा बढी गीत रेकर्ड भएका छन्। रेकर्ड गर्न नभ्याएका गीतको डायरीले एउटा बाकस भरिएको छ।

२०३२ सालबाट संगीतसँग सहकार्य गरे शर्माले। २०३५ सालमा एसएलसीपछि कलेज पढ्न बागलुङबाट काठमाडौं उक्लिएपछि उनको संगीतको आकाश फराकिलो भयो। पुल्चोक इन्जिनिरङ कलेजमा तेस्रो सेमेस्टर पढ्दै गर्दा २०३६ सालको आन्दोलन सुरु भयो। वेदना परिवारको सम्पर्कमा रहेका उनी आन्दोलनमा जनताका गीत गाउन पढाइ छाडेर गाउँ ओर्लिए।इन्जिनियिर बन्ने सपना तुहिए पनि पछि उनले मानवशास्त्र र अंग्रेजीमा एमए गरे। कुनै समय मुस्ताङ , सोलुखुम्बुमा समेत मास्टरी पनि गरे। पञ्चायती व्यवस्थाका दमन, अत्याचार अनि जागृतिका गीत गाएर देश त घुमे नै, छिमेकी भारतका हिमाञ्चलदेखि कन्याकुमारी, कोलकातादेखि मुम्बई, चेन्नईदेखि दिल्लीसम्मका नेपाली बस्तीमा गीतले राँको बाले। शर्मा २०४३ मा रक्तिम सांस्कृतिक परिवारको स्थापना गर्ने अभियानको पर्यायवाची जस्तै बने। शर्मा, मणि थापा र मोहन चित्रकारसँग मिलेर २०४२ सालमा जग हालेको सांगीतिक टिमले नै अर्को वर्ष २०४३ चैत १ गते रक्तिम परिवारको आकार ग्रहण गरेको थियो।

खासगरी दोस्रो जनआन्दोलन २०६२/६३ पछि शर्मा गीत गाउन विदेश पनि जान थाले। निम्ता पाएर हालसम्म उनले ३२ देशमा पाइला टेकेका छन्। विदेशी भूमिमा पनि उनले सचेतनाकै गीत गाए।

विदेशका गल्ली गल्ली डुल्दैछु कामको खोजीमा
गाउँमै फर्कन खोज्दै छ, दाम पैसा केही छैन गोजीमा

प्रधानपञ्च रहेका सामन्ती पृष्ठभूमिका पितासित विद्रोह गरेर ननिस्केको भए जीवन शर्मा यतिखेर कुनै जागिरमा अल्झिरहेका हुन्थे। तर उनको जिन्दगी गीतसंगीत कर्मकै लागि होमिएको छ। उनका ३३ एल्बम बजारमा आएका छन्।

तीन दशकभन्दा बढी संगीतकर्ममा बिताएका शर्मा राजनीतिक रूपले सचेत गायक हुन्। रक्तिम सांस्कृतिक परिवारका संस्थापक उनी अहिले पनि परिवारको अध्यक्ष छन्। अहिले कोरोनाले लाने हो कि भन्ने पिरलो छ धेरैलाई। तर गायक शर्मालाई त्यो पिरलो पनि छैन। र, त गाउँछन्ः

मर्छु बरु लडेर
मर्न के डर छ र सर्वहारालाई।

-अन्नपूर्ण पोस्टबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *