संकटमा सम्झना सहितको पत्र

दिल शिरीष

प्रिय मानिस,
बाँच्नुको नाममा श्वास प्रश्वास चलिरहनु एउटा कुरा, तर बाँचेर जिवन्त बाचिरहने काम गर्नु या बाँच्नुको सार्थकता खोज्नु अर्को कुरा । बाँच्नकै लागि जे जसो हर्कत, खराब र घृणित कर्म पनि गर्न तयार रहनु अझ अर्को कुरा । कतै पढेको थिए–‘मानिसका लागि जिन्दगीका दुई दिन महत्वपूर्ण हुन्छ । एक दिन आँफु जन्मेको दिन र अर्को आँफु किन जन्मेको भनेर थाहा पाएको दिन ।’ जन्मेको पहिलो दिन त सर्वथा सबैलाई कण्ठस्थ थाहा हुन्छ नै । तर, आफ्नो जन्म किन र केका लागि भएको भनेर थाहा नपाएरै उदास जीवन कथा बेहोर्ने कैयन पात्रहरु समाजमा छौ र छन् । प्रिय मानिस, तिमीलाई चाँही तिम्रो जन्म किन र केका लागि हो ? थाहा छ ?

सम्भवतः धेरै मानिसहरुले यो प्रश्न बिर्सिएर या बेवास्ता गरेर अहिले सम्म जीवन बाँचिरहेका छौ । यो प्रश्न बिर्सिनु या बेवास्ता गर्नु सामान्य कुरा हुन सक्छ । तर, यो प्रश्न बिर्सिएर सार्थक जीवन बाँच्न बिर्सिनु चाही असामान्य कुरा हो । आँफु, आफ्नो परिवार, सिमित स्वार्थ समूहको रंगरसमा भुल्ने आदत हामीलाई परिरहेको छ । र त्यसबाट मुक्त हुन कठिन पनि भइरहेको छ भने सम्झिनुस्–यसबेला विश्वमा एउटा भयानक कोरोना भाइरस आएको छ । जसले हाम्रा जीवन, सपना, रहर, सम्बन्धहरुको दुरी निर्धारण गरिदिएको छ । यो दुरी यति सम्म कि जीवनभर सँगै बाँच्ने, सँगै मर्ने कसम खाएका जोडीहरुलाई पनि झस्काउने गरि कायम छ । र सम्झाएको छ मानिसहरुको असली औकात । के धनी के गरिब ? के उच्च पदस्थ, के सर्वसाधारण ? के हिन्दु के मुस्लिम ? के जैन के यहुदी ? के पारसी के बौद्ध ? के इसाइ के इस्लाम के सिख ? के गोरा, के काला ? के सम्पन्न, के बिपन्न, के शक्तिशाली के विकासोन्मुख ? के पुरुष के महिला ? कोरोनाले न कुनै भुगोल भन्यो न कुनै देश । न कुनै जात भन्यो न कुनै वर्ग । न कुनै वर्ण भन्यो न कुनै लिंग र धर्म ? को सम्मानित पदको, को सेलिब्रेटी त्यो पनि जानेन । नत्र त कोरोना भाइरस कोभिड १९ का कारण प्रसिद्ध अमेरिकी गायक जोए डिफीले मृत्युको घातक चुम्बन बेहोर्नु पर्थेन । जापानी बिश्व चर्चित कमेडियन सिमुरा केनले ज्यान गुमाउनु पर्ने थिएन । कोरोना भाइरसको महामारीबाट उत्पन्न आर्थिक संकटका कारण जर्मनीको हेसे राज्यका अर्थमन्त्री थोमस स्याफरले आत्महत्याको निर्णयमा पुग्नु पर्थेन । स्पेनमा एथ्लेटिको पोर्ताडा अल्ताको युवा फुटबल टिमका प्रशिक्षक २१ वर्षे फ्रान्सिस्को गार्सियाले अल्पायुमै ज्यान गुमाउनु पर्ने बाध्यता हुन्थेन । बेलायतको रश्मुर बरो काउन्सिलका मेयर निर्वाचित फ्रान्क रस्ट आफ्नो कार्यकाल पुरा गर्थे होलान् । यस्तै अरु पनि अप्रिय मृत्यु अंगालेर सुन्दर जीवनको इहलिला समाप्त गर्नुपर्थेन ।

प्रिय मानिस,
याद गर्नु । जीवनमा जिन्दगीले मात्र परीक्षा लिदैन । समयले, परिवेशले, घटना र विपत्तिहरुले पनि बेला बेला मानिसहरुकै परीक्षा लिइरहेका हुन्छन् । यस्तो कठिन परीक्षा २०७२ सालको महाभुकम्पमा पनि दिइएको हो । त्यसपछि भारतिय नाकाबन्दीका बेलामा पनि उस्तै कठिन परीक्षामा उत्रिएका हौ । तर, यि परीक्षामा हामी एक किसिमले पास भएका थियौ । पास हुनुको भ्रम यति सम्म परेछ कि हामीलाई त्यसपछि अर्को यस्तै कठिन परीक्षा फेरी दिनुपर्ने दिन आउँछ भन्ने नै हेक्का राखेनौ । पास हुनुको अर्थात संकट काटेको खुशियालीमा गौरवान्वित महुशुस गरिरह्यौ, तर पास भएपछिको योग्यताको असली प्रयोग र प्रर्दशनमा कतै न कतै चुकिरह्यौ । र आज फेरी विपत्ति, महामारी आउँदाको बखतमा बिना हतियारका सिपाही जस्ता लाचार घर भित्रै कैद हुनुपरेको छ । तर, कर्तव्य, अनुशासन, सिमा, उत्तरदायित्व कति सम्म बिर्सिसकेका रहेछौ भने देश र सरकारले लकडाउन गरेर संकटमा घर भित्रै सुरक्षित बस भन्दा पनि हामी सडक, चोक, गल्लीहरुमै निक्लिएर आ–आफ्नो पद, पावर र हैसियत अनुसारको विरता प्रर्दशन गरिरहेकै छौ ।

प्रिय मानिस,
खै र यो बारेमा कति धेरै गुनासो गर्नु । प्रिय मानिसहरुका नाममा यति चाही भन्नै मन लागेको छ । यसबेला हामी जीवनकै कठिन संकटको घडीमा छौ । आमा छोरा भएर के गर्नु ? श्रीमान श्रीमति भएर के गर्नु ? प्रेमी प्रेमिका भएर के गर्नु ? असल साथीसंगती भएर के गर्नु ? यदी यो कोरोना भाइरसले संक्रमण ग¥यो भने न छुन पाइने, न सँगै काखमा रुन पाइने । यो कस्तो कहाली लाग्दो भयावहको क्षण ? यो कस्तो कठिन परीक्षाको घडी ? तर, यो सकसपूर्ण घडीमा मानिसहरु कसरी सक्छन् कात्रोमा नाफा खान ? कुन मनले सक्छन् व्यापारीहरु कालोबजारी गर्न ? अनि कुन सोचले सक्छन् राहत सामग्रीमा सरकार, मन्त्री, कर्मचारी र जनप्रतिनिधि अनियमितता गर्न ? कुन भावनाले सक्छन् सञ्चालकहरु अस्पताल बन्द गर्न ? आजीवन सेवा गर्छु भन्ने अठोट गरेका स्वास्थ्यकर्मीले कुन चाहनाले सक्छन् उपचारमा बाहना बनाउन ? कुन नैतिकताले सक्छन् राज्यको ढुकुटीबाट तलब खानेहरु संकटमा जिम्मेवारीबाट भाग्न ?

प्रिय मानिस,
हो, यसबेला आफ्नो जीवनको सबैलाई माया लाग्छ । अरु बेला जे जति आदर्श छाटे पनि आफ्नो ज्यान सबैभन्दा प्रिय सबैलाई हुँदोरहेछ नै । तर, यो कुरा पनि हेक्का राख्नुपर्छ कि हर मान्छेको असली परीक्षण अप्ठ्यारो कठिन घडीमै हुने गर्छ । तिम्रो आदर्श के थियो ? के भन्थ्यौ र अहिले के गरिरहेका छौ ? यति चिज काफी छ तपाइको असली रुप पहिचानका लागि । के तपाई हामी श्वास प्रश्वास मात्र लिइरहेको आवरणको मानव मात्र हौ कि मान्छे भित्रको मानवता सहितको मानिस हौ ? अहिले देखिइरहेको छ । थप देखिनेवाला छ । मेरो यत्ति कामना प्रिय मानिस । तिमी हामी सबै आवरणको संवेदनाहिन, सामाजिक उत्तरदायित्वबाट पन्छिएको आवरण मात्रको मानिस कदापी नबनौ । सुन्दर मान्छे, त्यो मान्छे भित्र अथाह मानवता र अविचलित दायित्वबोधको भावना र संवेगहरु व्यवहारिक रुपमा अभिव्यक्त होस् । तिमी जहाँ जहाँ छौ, जुन जुन भुमिकाहरुमा छौ । त्यही त्यहि इमान्दार भुमिका र जिम्मेवारी निभाउनु । तिम्रो स्वश्थ, व्यस्त र दीर्घ जीवनको कामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *