गलकोटमा कागतीको व्यावसायिक खेती शुरु

आदर्श सञ्चार अनलाइन/बागलुङ

जिल्लाको गलकोटका किसान व्यावसायीक कागती खेती गर्न तर्फ अग्रसर भएका छन् ।

जिल्लाको गलकोट नगरपालिका–९ छिसमा स्थानीय मित्रलाल खरेलले व्यावसायीक रुपमा कागती खेती शुरु गरेका छन् । ४९ वर्षिय कृषक खरेलले परिक्षणका लागि तीन वर्ष पहिला लगाइएका एक सय कागतीका विरुवाले राम्रो फल दिन थालेपछि अहिले व्यावसायीक रुपमै कागती खेती थालिएको बताउनुभयो । गत वर्ष ४ सय कागतीका बिरुवा रोपेर व्यवसायिक रुपमै कागती खेती थालेको उहाँको भनाई छ ।

२० वर्ष स्थानीय सरस्वति आधारभूत विद्यालयमा अध्यापन पेशामा आवद्ध खरेल अवकाश पश्चात व्यवसायिक कृषि पेशामा सक्रिय हुनुहुन्छ । कागती भारतबाट गाउँमै आयात हुन थालेपछि यसलाई रोक्नका लागि व्यवसायीक कागती खेती गर्ने चाहना भित्रै देखि जागृत भएको खरेलले बताउनुभयो । ‘गाउँमै कागती सम्भव छ भन्ने लागेर परिक्षण गरे, त्यो सफ भएपछि यही व्यावसायीक उत्पादन गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेको छु,’ खरेलले आदर्श अनलाइनसँग भन्नुभयो ‘भारतबाट कागती गाउँ–गाउँमा आउने, हाम्रो खेतबारी बाझै हुने अवस्था नआओस् भन्नका लागि कागती खेती थालेको हुँ ।’

मेहनत थोरै गरेर पनि आम्दानी धेरै गर्न सकिने भएकाले कागती खेतीको यस क्षेत्रमा राम्रो सम्भाव्यता देखिएको छ । ‘कागतीको राम्रो सम्भावना देखेर तिन रोपनी बारीमा व्यावसायीक रुपमा कागती खेती थालेको छु’ उहाँले भन्नुभयो ‘वर्षेनी कागतीका बिरुवा थप्दै जाने योजनामा छु ।’

परिक्षणका लागि लगाइएको विरुवाले फल दिन थालेपछि कागती खेती प्रति उत्साहित खरेलले तीन रोपनी क्षेत्रफलमा कागती खेती बिस्तार गर्नुभएको छ । शिक्षण पेशावाट अवकास भइसके पछि खरेलले गलकोट कृषि तथा पशुपंक्षी उत्पादन तथा बिक्री केन्द्र नामको फर्म स्थापना गरी कृषि पेशा थाल्नु भएको हो । अहिले उहाँले व्यवसायीक तरुल खेती, जर्सी गाई तथा भैसी पालन समेत गर्दै आउनुभएको छ । नगरपालिकामा व्यवसायीक रुपमा कागती खेतीको राम्रो सम्भावना भएकाले नगरले कागतीको बिरुवामा अनुदानको कार्यक्रम समावेश गर्दै आएको गलकोट नगरपालिका–९ का वडा अध्यक्ष तेजबहादुर थापाले बताउनुभयो ।

समुन्द्रि सतहबाट १३ सय मिटर सम्म कागती खेतीको राम्रो सम्भावना भएका कारण गलकोट नगरपालिकाले गत वर्ष ६ हजार कागतीका बिरुवा अनुदानमा बितरण गरेको गलकोट नगरपालिकाका कृषि तथा पशु प्राविधिक चिन्तामणी शर्मा गैरेले जानकारी दिनुभयो । गलकोटममा मात्रै अहिले पाँच जनाले व्यावसायीक रुपमा कागती खेती शुरु गर्न लागेको गलकोट नगरपालिकाले जनाएको छ । गलकोट रिघाका दानबहादुर श्रीसले आँफ्नो बारीमा अहिले ५ सय कागतीका बिरुवा लगाउनुभएको छ । कागती स्वास्थ्यका लागि समेत निकै लाभदायक मानिन्छ भने भिटामिन ‘सि’ का लागि यसको प्रयोग गर्ने गरिएको छ । कागतीको अमिलो, अचारका लगायतका विभिन्न परिकार बनाउनका लागि कागतीको माग उच्च छ । गलकोट क्षेत्रमा कागती उत्पादन भएमा बागलुङमा भारतबाट आयातित गर्नुपर्ने बाध्यता समेत अन्त्य हुने कृषकहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *