गण्डकी प्रदेशमा चार हजार जनाको कोरोना ‘र्‍यापिड टेष्ट’ शुरु

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा चैत महिनामा छिमेकी मुलुक भारत लगायतका देशबाट आएका चार हजार १ सय ४६ जनाको कोरोना परीक्षण गर्न थालिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमण फैलावट रोक्न विदेशबाट प्रदेश भित्रिएका सबैको र्‍यापिड डाइगोनिष्टक टेष्ट (आरडिटी) गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमित फेला परेका नौ जनामध्ये आठ जना विदेशबाट आएका रहेकाले चैत महिनायता विदेशबाट फर्किएकाको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि सबैको परीक्षण गर्न लागिएको हो । गण्डकीमा हालसम्म दुई जनामा कोरोना देखिएको छ । विदेशबाट आएका बाग्लुङकी १९ वर्षीया युवती र अर्की एक ६५ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएपछि उनीहरुको धौलागिरी अञ्चल अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले संघीय सरकारबाट प्रदेश सरकारलाई कोरोना परीक्षणका लागि पाँच हजार थान आरडिटी किट प्राप्त भएको र त्यसबाट विदेशबाट आएका सबैको परीक्षण गर्न लागिएको जानकारी दिए ।

चैत ४ गते यता भारतलगायत विदेशबाट आएका सबैको आरडीटी किट्सद्वारा परीक्षण गरिने छ”, निर्देशक शर्माले भने । बाग्लुङबाट परीक्षण सुरुवात भएको र सबै जिल्लामा परीक्षण गरिनेछ । द्रुत परीक्षणका लागि निर्देशनालयबाट प्रदेशमा दुई टोली बनाएर शुक्रबारदेखि तोकिएको क्षेत्रमा परिचालन गरिएको छ ।

गोर्खा, नवलपुर, तनहुँ र लमजुङमा एक टोली र म्याग्दी, बाग्लुङ, पर्वत, स्याङ्जाका लागि अर्को टोली परिचालन भएको र जिल्लामा प्राविधिकलाई आवश्यक तालीम दिएर प्रत्येक जिल्लामा परीक्षणको काम हुने निर्देशनालयले जनाएको छ । कास्कीमा भने आवश्यक तालीम पछि टोलीले काम सुरु गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *