जेसीजको सहयोगमा बागलुङ नगरले शुरु ग¥यो ‘फुड बैंक’

तस्बिरः फुड बैंक स्थापनका लागि खाद्य सामग्रीको पत्र बुझ्ने बुझाउने क्रममा ।

आदर्श अनलाइन,बागलुङ

कोरोना संकटका कारण रोजीरोटी गुमाएकाहरुलाई सहयोग गर्न बागलुङ नगरपालिकामा फुड बैंक स्थापना गरिएको छ ।

देशमा जारी लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्दै आएका श्रमिक मजदुर, गरिब, विपन्नलाई सहयोग गर्न नगरपालिकाले बागलुङ जेसीजको सहयोगमा फुड बैंक स्थापना गरेको हो ।

जेसीजले शुरुवातमा ६० हजार बराबरको खाद्य सामग्री प्रदान गरेर फुड बैंकको स्थापना गरिएको बागलुङ जेसीजका अध्यक्ष सुरेन्द्र शाक्यले बताए । शाक्यका अनुसार, पहिलो चरणमा ५ सय केजी चामल, ७५ केजी दाल, ५० केजी नुन, ५० केजी तेल, २ सय केजी आटा सहयोग गरिएको छ । ‘जिल्ला सदरमुकाम र मुख्य बजार क्षेत्र भएकाले बाहिरबाट आएका श्रमिक मजदुरले नपाएको गुनासो छ,’ अध्यक्ष शाक्यले भने, ‘कसैलाई पनि भोकै बस्ने अवस्था नआओस् भन्ने अभिप्रायले फुडबैकंका लागि जेसीजले पहल र सहकार्य गरेको हो ।’

नगरपालिकाको फुडबैंक स्थापनाकै दिन अधिकारकर्मी राम शर्माले ३० हजार बराबरको २० बोरा चामल र पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरीनारायण गौतमले २० बोरा चामल, दाल र नुन सहयोग गरेका छन् । फुड बैंकमा अहिले प्रदान गरिएका खाद्य सामग्री बाहेक पनि भोलीका दिनमा समेत जेसीजले थप संकलनका लागि आवश्यक पहल कदमी लिने जेसीजका पूर्व अध्यक्ष एवम् फुड बैंक स्थापनका अभियन्ता सुदिप राजभण्डारीले बताए ।

फुड बैंकबाट खासगरी बाहिरबाट श्रम गर्नका लागि आएका श्रमिक मजदुर र तीनका परिवारलाई सहयोग गरिने बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । ‘हामीले नगरपालिकाका सबै वडाका गरिब, विपन्न, मजदुरको पहिचान गरेर पहिलो चरणमा राहत बाँडिसकेका छौ,’ मेयर पौडेलले भने, ‘फुड बैंकबाट थप समस्यामा परेका र बिशेष गरी बाहिरबाट आएर लकडाउनका कारण अलपत्र श्रमिक मजदुरलाई तत्काल सहयोग गर्नेछौ ।’ नगरपालिकाले कोरोना रोकथाम तथा व्यवस्थापनका लागि ३० लाखको कोष समेत बनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *