–दिल शिरीष
आँफैले राखेको नाम
आफैले बिर्सिने पण्डितहरु जस्तै
आँफैले दिएको आश्वासन
आफै बिर्सिने नेताहरु जस्तै
आफैले खाएको कसम
आफैले बिर्सिने प्रेमीप्रेमिका जस्तै
उनीहरुले पनि बिर्सिएका हुन्
आफ्नो घर, गाउँ र माटो
तर, आज फेरी ‘सुरक्षा’ खोज्दै
दाजै ! उनीहरु गाउँ आएका छन् ।
भुलेर रनबन, पाखा पखेरा
सरापेर पूख्यौली घर गाउँ
रमाएर शहर र रेमिट्यान्समा
बाहना बनाउदै बुढेसकालका बाआमा
पठाउदै बृद्धा आश्रमहरुमा
भर्खर जन्मेका नाबालक सन्तान
रुवाउदै जर्बजस्त राखेर होस्टेलहरुमा
उनीहरु गएका थिए शहर
र शहर भन्दा पर ‘परदेश’ ।
गाउँमै हलो जोतेर, घन हानेर खाने बले दाई
श्रम बेचेर जिविका चलाउने हर्के काका
दैनिक ज्यालामा काम गर्ने अमिकला भाउजु
असिन पसिन भएर घर गोठ गर्ने साइली दिदी
यि सबलाई तिनीहरुले
लाहुर र शहरबाट आउन साथ
निकै स्मार्ट बनेर भनेथे
यस्तो गाउँमा पनि अब को बस्छ ?
उजाड बन्दै गरेका घरहरुमा
एैठन हुन्छ होला सुत्दा पनि
यस्तो ठाउँमा अब को बस्छ ?
त्यसबखत एकसाथ भनेथे गाउँलेले
यो गाउँमा तब सम्म बसिरहनेछन् मानिसहरु
जब सम्म ‘आदर्श’ र ‘इमान’हरु बाँकी रहनेछन्
हामी गाउँलेलाई यति मात्र थाहा छ
बैंशको रहरको शहरहरु त
पैसाको रहरको परदेशहरु त
बर्षाैमा ‘लाहुरे’ घर गाउँ आउँदा
बसाउन छर्किने ‘सेन्ट’ जस्तै न हो ।
हामी गाउँलेलाई त
गाई, भैसी, बाख्राका गोबर पनि बसाउँछन्
र त मल बनाउछौ, हुर्काउछौ अन्नबाली
र हात फैलाउनु पर्दैन सरकारले जस्तो
लाज समेत लजाउने गरी देश दुनियामा
हामीलाई तिमी ‘लाहुरे’ दाइ जस्तो
कदापी कृतिम बसाउनु छैन
मारेर आफ्नै आत्मा
देखावटी हासो हसाउनु छैन
आफ्नै मान्छे पनि अपरिचित ठान्ने
आफ्नै मान्छे पनि विरानो लाग्ने
त्यो शहर, त्यो परदेश भन्दा
बाँच्नुको नाममा सबथोक गर्न तयार
त्यो शहर, त्यो परदेश भन्दा
मेरो गाउँ कति हो कति सुन्दर छ
मेरो ठाउँ कति हो कति पवित्र छ ।
ओ, दाजै !
देशमा आउने हर संकट र विपत्तिमा
हर मान्छेको सम्झनामा आउँछन् गाउँ घर
जसरी हर मानिस खुट्टामा ठेस लाग्दा
एैया ! आमा भन्दै आफ्ना आमाहरुलाई सम्झन्छन्
हो, दाजै !
अहिले ‘आदर्श’ र ‘इमान’हरु मात्रै होइन
गाउँमै छ ‘शान्ति’, ‘सुरक्षा’ र ‘सन्तुष्टि’ पनि
जहाँ क्रान्ति गर्छौ भन्नेहरुलाई पनि
पटक–पटक दिइएको थियो आश्रय
संरक्षण र न्यानो आतिथ्यता
भलै ति कथित क्रान्तिकारीहरुले
बिर्सिए गाउँ बदल्छु भन्ने अठोटहरु ।।
–बागलुङ