लकडाउन: सचेत बन्दै बागलुङ, यस्तो छ जिल्लाको रणनीति

सिर्जना पन्त, बागलुङ

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा व्यवस्थापनको लागि सरकारले लकडाउन घोषणा गरेको आज २२ दिन पुरा भएको छ ।

चैत ११ गते पहिलो पटक एक हप्ताको लागि लकडाउन घोषणा गरेको थियो । सरकारले चौथो पटक वैशाख ३ गतेदेखि लागु हुने गरी १२ दिनको लागि मंगलबार लकडाउन थप गरेको छ । लकडाउन घोषणा गरेको पहिलो साता लकडाउन पूर्ण रुपमा पालना गराउन प्रहरी प्रशासनलाई हम्मे हम्मे परेको थियो ।

देशमा कोरोना संक्रमितहरुको संख्या थपिदै जाँदा दोस्रो पटक लकडाउन थप गरिएको अवधिमा सर्वसाधारण सचेत भएर घर भित्रै बसे पनि लकडाउनको मिति थपिदै गर्दा सडकमा विस्तारै चहल पलह बढ्न थालेको देखिन्छ ।

लकडाउन थपिदै गएपनि कोरोना रोकथाम र व्यवस्थापनको लागि नयाँ रणनिती भने नभएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजु बताउनुहुन्छ । अहिले सम्म सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्वास्थ्य कार्यालयले दिएको निर्देशन बागलुङ जिल्लाबासीले पालना गरिरहेको भन्दै थप रणनीति तयार गर्न आवश्यक नरहेको उहाँले बताउनुभयो । लकडाउनको पालना नगरेका केहि व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको खबर सार्वजनिक भएसंगै बजारमा अनावश्यक हिड्डुल गर्नेहरु पनि कम भएको उहाँको भनाई छ । ग्रामिण सडकमा सवारी साधनको चहल पहल बढेको, गाउँ गाउँमा मानिसहरु जम्मा भएर भीडभाड गरेर बसेको भन्ने सूचना प्राप्त भएपछि जनप्रतिनिधि सचेत भएको उहाँ बताउनुहुन्छ ।

अन्य जिल्लामा जनप्रतिनिधी र प्रहरी प्रशासनको विचमा समन्वय नभएको गुनासो आए पनि बागलुङमा कोरोना रोकथाम र न्यूनिकरणको लागि सबै एकजुट भएर लागेको उहाँको भनाई छ । एकद्वार प्रणली मार्फत राहत वितरण गर्ने, पाउनु पर्नेले पाए नपाएको विषयमा सचेत हुने र आफुहरुले दैनिक रुपमा गरेका क्रियाकलाप जनप्रतिनिधीले प्रशासनमा जानकारी गराउँदै आएका छन् । कोरोना रोकथाम र नियन्त्रणको लागि सरकार र सरोकारवालाको मात्र नभएर सबैको बराबर जिम्मेवारी रहेको सर्वसाधारणले बुझेको भन्दै थप कडाई गर्नुपर्ने अवस्था नआउनेमा प्रहरी प्रशासन बिश्वस्त देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले अति आवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कनु भन्दै सूचना जारी ग¥यो । अनावश्यक काममा बजार डुल्नेलाई नियन्त्रणमा लिएर सम्झाएर छोड्यो । प्रहरीले दुध, तरकारी र खाद्यन्न जस्ता अति आवश्यक बस्तु उपभोक्ताको घर घरमै पु¥याईदिन भन्दै सूचना पनि जारी ग¥यो । तर यो सम्भव हुन सकेन ।

सर्वसाधारणले हेर्दा सडकमा मानिसको चहल पहल देखिए पनि सबै कुनै न कुनै कामले बाहिर निस्कन बाध्य भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवराज भट्ट बताउनु हुन्छ । ‘कोहि दुध, कोहि तरकारी, कोहि औषधी त कोही खाद्यन्न लिन भन्दै बाहिर निस्केको भेटिन्छ’ भट्टले भन्नुभयो ‘हजारौको बसोबास रहेको ठाउँमा हरेक मिनेट कसै न कसैको काम परिरहेकै हुन्छ, यसलाई कसरी भीड भन्नु, कसरी बजार डुलेको भन्नु ?’ दुध, तरकारी, फलफुर र अति आवश्यक बस्तुको पोका पारेर घर–घरमै पु¥याउने व्यवस्था नभए सम्म साँझ विहान बाहिर निस्कनेहरुलाई रोक्न नसकिने उहाँको भनाई छ । ‘कोरोना रोकथाम र संक्रमण फैलिन नदिने मुख्य उपाय घरभित्र बस्नु, बाहिरी व्यक्तिको सम्पर्कमा नआउनु नै हो’ उहाँले भन्नुभयो ‘यो समयमा व्यापारीहरुले साथ दिनुप¥यो ।’ प्रहरीले किसानको बारीमा तरकारी फलफुल नकुहियोस् भन्दै ढुवानी समस्या समाधानको लागि आफैले सवारी चालक सहितको टिम तयार गर्ने बताएको छ ।

कोरोना रोकथामको लागि सर्वसाधारण र आम नागरिक सबै भन्दा धेरै जिम्मेवार बन्नुपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ बताउनु हुन्छ । नयाँ भाइरस भएको कारणले यसको असर, प्रभाव र रोकथामको लागि अझैसम्म बैज्ञानिक व्यवस्थापन हुन नसकेको अवस्थामा सामाजिक दुरी कायम गर्दै सरकारले आब्हन गरेको लकडाउनको पालना नै यसबाट बच्ने मुख्य उपाय भएको गुरौको भनाई छ । स्थानीय तह, प्रहरी र प्रशासनले जिल्ला र स्थानिय तह प्रवेशद्वारमा गरिएका कडाई र नियन्त्रलाई सहज रुपमा लिएर सबैले साथ दिनुपर्ने उहाँको भनाई छ । बैदेशिक रोजगारी संगै अन्य जिल्लाबाट बागलुङ भित्रिएकाहरुलाई कडा निगरानीमा राखिएको उहाँले बताउनुभयो । सबै स्थानीय तहका स्वास्थ्य संयोजक सँग प्रत्येक दिन बाहिरबाट आएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएका व्यक्तिलाई ज्वरो नाप्ने, रुघाखोकी लागे नलागेको बारेमा सूचना लिने र उनिहरुलाई अन्य व्यक्तिको सम्पर्कमा आउनबाट रोक्ने काम भइरहेको उहाँले बताउनुभयो । कोरोना संक्रमण भएको र संक्रमणको आशंका गरिएका व्यक्तिलाई स्वास्थ्य संस्थासम्म ल्याई पु¥याउनको लागि सबै जिम्मा सम्बन्धित स्थानिय तहलाई दिईएको भए पनि जिम्मेवार नदेखिएको उहाँको भनाई छ । जिल्लाका ६ वटा एम्बुलेन्सलाई पाटेशन गरिएको र त्यसका चालकलाई आवश्यक तालिम दिएर पीपीई उपलब्ध गराउदा पनि समान्य समस्या देखियो भने चलक फरार भइदिने र जिम्मेवार निकाय संवेदनशिल नबनेको उहाँले बताउनुभयो ।

कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै आइसोलेशन वार्डको थप गरिएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र वि. पोख्रेलले जानकारी दिनुभयो । चार वटा वेड रहेकोमा त्यसलाई वृद्धि गरेर ८ वेडको आइसोलेशन वार्ड तयार गरिएको उहाँले बताउनुभयो । अबको ५ दिन मित्रमा आइसियू सेट अप भइसक्ने उहाँले बताउनुभयो । हवाई मार्फत नेपाल भित्रिने क्रम बन्द भएपनि भारतिय नाकाबाट राति राति नेपाल भित्रिनेहरु नेपालका लागि सबै भन्दा खतरा भएको उहाँको भनाई छ । कैलाली, रौतहट संगै बागलुङमा पनि भारतबाट आएकाहरु शंकास्पद भएको भन्दै उहाँले लकडाउनलाई अझै कडाइ गर्नुपर्ने उहाँले बताउनुभयो । भारतबाट भित्रिनेहरुलाई रोक्न नसक्ने हो भने केहि दिनमै नेपालमा कोरोनाले महामारीको रुप लिने उहाँको भनाई छ । खुल्ला सिमानाको फाईदा उठाएर नेपाली मात्र होइन भारतीयहरु पनि नेपाल भित्रिएको भन्दै उहाँले सिमा नाकामा कडाई गर्नुपर्नेमा जोड दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *