कोरोना संक्रमणले विश्व आजित छ । यसले हरेक भुगोलमा मानवीय जीवनलाई त्राहिमाम त बनाएको छ नै । हर देशको अर्थतन्त्रलाई पनि ठुलो धक्का दिएको छ । अझै अनिश्चित देखिएको कोरोनाको कालो बादल कहिले फाट्ला ? टुंगो छैन । यसले नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पार्ने देखिन्छ ? आदर्श अनलाइनकर्मी सिर्जना पन्तले अर्थतन्त्रका बिषयमा बिशेष दखल राख्ने धौलागिरी बहुमुखी क्याम्पसका सह–प्राध्यापक सुदर्शन शिलवालसँग गरेको कुराकानीको सम्पादित अशंः
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्व आक्रान्त छ । आजको दिन सम्मको अवस्थालाई हेर्ने हो भने नेपालमा जनस्वास्थ्यमा भन्दा अर्थतन्त्रमा ठुलो प्रभाव परिरहेको छ । कोरोना रोकथामका लागि सरकारले सबै भन्दा पहिले भिजिट नेपाल–२०२० लाई रोक लगाउनु प¥यो । कोरोनाको प्रभावका कारण विस्तारै देशका साना–ठुला उद्योग, कलकारखाना, होटल, रेष्टुरेण्ट, बैंक तथा वित्तिय संस्थाहरु बन्द गर्नुपर्ने अवस्था आयो । यतिवेला देश पूर्ण रुपमा लकडाउनमा छ । देश मात्र होइन, देशको अर्थतन्त्र पुरै डाउन भएको छ । कोरोना महामारीको विषयमा सबै भन्दा प्रमुख चासोको बिषय मानव स्वास्थ्य भए पनि यो सँगै जोडिएर आउने आर्थिक पक्षमा परेको असर दिन प्रतिदिन बढ्दै गएको छ । कोरोनाले सामान्य व्यक्तिको जीवन देखि वृहत अर्थतन्त्रमा समेत प्रत्यक्ष प्रभाव पारिरहेको छ । कोरोनाको कारणले मानव जीवनसँगै आर्थिक रुपमा दिन प्रतिदिन विकसित भइरहेको खराब प्रभावले तत्काल यतिनै क्षति हुन्छ भन्न सकिने अवस्था छैन । यो वर्ष नेपाल सरकारले पछिल्लो तीन वर्ष यता हाँसिल गरेको उच्च आर्थिक वृद्धिदर हाँसिलल गर्न नसक्ने निश्चित छ ।
यो भन्दा अगाडी पनि कहिले इबोला, कहिले स्वाइन फ्लू, एड्स जस्ता विभिन्न रोगको कारणले विभिन्न देशहरु समय समयमा समस्यामा पर्दै आएका थिए । तर यो कोरोनाले भाइरस निकै डरलाग्दो र भयावह रुप लिदै गएको छ । कुनैपनि रोग, कुनै पनि महामारी एक, दुई देशमा हुन्थे तर यसपटक विश्व आक्रान्त छ । कोरोनाको भयले गर्दा विश्व ठप्प छ भन्दा हुन्छ । कोरोनाले महामारीको रुप लिएको लामो समय वित्दा पनि औषधी उपचार पत्ता लाग्न नसक्दा मेडिकल साइन्स नै असफल भएको त हैन भन्ने सम्मका प्रश्न उठ्न थालेका छन् । चाइनाले एउटा कुरा भन्छ, अमेरिकाले अर्कै कुरा गर्छ, भारतको आफ्नै कुरा छन् । कोरोनाले गर्दा वित्तिय क्षेत्र मात्र होइन, अर्थतन्त्रका सबै पाटोलाई क्षत विक्षत बनाउने अवस्था सिर्जना भएको छ । आइएलओले भर्खरै २ अर्व ७० करोड भन्दा बढी कामदारहरु पूर्ण वा आंशिक रुपमा वेरोजगार हुन सक्ने भन्दै रिपोर्ट सार्वजनिक गरेको छ । यसको मतलब संसारमा काम गर्न सक्ने श्रम ८१ प्रतिशत शक्तिको रोजगार गुम्न सक्छ । अमेरीको ४३ प्रतिशत व्यक्तिहरुको रोजगारी गुमिसकेको भन्ने बाहिर आएको छ । हिजोका दिनमा विश्वले भोगेका समस्या भन्दा अहिलेको अवस्था निकै जटिल हुने देखिएको छ । अहिले सम्म नेपालमा कोरोनाले माहामारीको रुप नलिएको संक्रमितहरुको तथ्याङ्कले देखाउछ । तर हामीहरु ढुक्क हुने अवस्थामा छैनौ । नेपालीहरुले समाजमा, परिवारमा तिरस्कार भोग्नुपर्ने डरले समस्या लुकाएर बसेका पनि हुन सक्छन् । भारतसंगका खुल्ला सिमा नाकाले गर्दा लकडाउन भनिए पनि धेरै मानिसहरु आउने जाने क्रम चलिरहेको छ । जसले गर्दा पनि हामीहरुकहाँ संक्रमित थोरै छन,् हामी सुरक्षित छौ भन्ने अवस्थामा छैनौ ।
यो वर्ष नेपाल सरकार पर्यटन बर्ष मनाउने तयारीमा थियो, कोरोनाले गर्दा रोकियो । होटलहरु बन्द छन्, यातायातका साधनहरु बन्द छन्, उद्योग, व्यवसाय बन्द गर्नुपर्ने अवस्था आयो । देशका ठुला ठुला परियोजनाहरु बन्द छन् । फागुन देखि असार मसान्त सम्ममा ७० प्रतिशत भन्दा बढी काम हुन्थ्यो । यहि सयमै सबै रोकिएको हुनाले विकास निर्माणमा समेत प्रत्यक्ष असर परेको छ । अन्य मुलुकको तुलनामा हाम्रो देशमा परेको असर र प्रभाव ठुलो होइन । किनभने अरु मुलुकका मानिसहरुको भन्दा हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी रहेछ भन्ने पुष्टी भयो जस्तो मलाई लाग्छ । संक्रमण पुष्टी भएकाहरु २२,२५ दिन हुँदा पनि सामान्य रुघाखोकी र ज्वरो समेत छैन । बिरामीमा कोरोना पोजेटिभ देखिए पनि उहाँहरुलाई केही असर प्रभाव देखिएको छैन भनेर डाक्टरहरुको भनाई सुन्दा साँच्चै कोरोनालाई पराजित गरिन्छ जस्तो पनि लाग्छ । तर, यस्तो लाग्दैमा हामीहरु गैरजिम्मेवार बन्न भने हुँदैन ।
यतिबेला मानिसहरुले कारोबार गर्न पाएका छैनन्, शैक्षिक संस्था बन्द छन् । निर्माण कार्य भए, शैक्षिक संस्था संचालन भए, उद्योग व्यवसाय सञ्चालन भए पो वैंक तथा वित्तिय संस्थाहरु चलायमान हुन्छन् । फेरी मलाई यी सबै कुरालाई नकरात्मक दृष्टिकोणले हेर्नुपर्छ जस्तो लाग्दैन । बेलायतमा यतिवेला २३ प्रतिशतले औद्योगिक उत्पादन घटेको, फ्रान्समा २४, २५ प्रतिशतले घटेको, जर्मनीमा पनि ४२ प्रतिशतले उत्पादन घटेको छ । यसरी हेर्दा नेपालमा पनि यसले प्रभाव र असर पार्छ नै । अमेरिकामा मात्र २७ हजार भन्दा बढी मानिसहरु मरेका छन् । ठुला ठुला शक्ति राष्ट्रहरुले पनि यतिबेला केहि गर्न सकेका छैनन् । अर्थतन्त्रको त कुरा छदैछ, मानिसहरुमा मात्र कोरोना संक्रमण बढ्न थाल्यो भने हामीहरुमा इटाली, चीन र अमेरिका भन्दा पनि भयवह अवस्था हुन्छ । यसको औषधी नै छैन भनिरहेको समयमा आफ्नो ख्याल आफैले गर्न सकेनौ भने सरकारले नजान भनेको ठाउँमा नजाने, नगर्न भनेको काम गरेनौ भने अवस्था विस्तारै सामान्य हुदै जानेछ । राजनीतिक नेता, सञ्चारकर्मी, उद्योगी, व्यवसायी सबैले आफ्नो–आफ्नो टोलमा सचेतना जगाउने गर्नुप¥यो । हामी रह्यौ भने मात्र अरु गतिविधि अगाडी बढाउन सक्छौ । यो सरकारले आब्हन गरेको लकडाउन हो । तर, कुनै पार्टीले गरेको बन्द जस्तो गरेर हिड्छौ । हामीहरुले नै जोखिम निम्त्याएको अवस्था छ ।
हामीले महाभुकम्प भोग्यौ । त्यो समयमा हामीहरुलाई संसारका अधिकाशं राष्ट्रहरुले सहयोग गरेका थिए । तर, आज ती सबै राष्ट्रहरु आफै घाइते भएको अवस्था छ । आफुले आफ्नो लागि आफै गरेनौ भने बाहिरबाट केहि पनि पाउन सक्ने अवस्था छैन । यसको विकल्प भनेको जहाँ छौ, जो–जो छौ र जस्तो अवस्थामा छौ । त्यसरी नै बस्नु हो । कोरोना उन्मुलन भयो भने देशको अर्थतन्त्र, वित्तिय संघ संस्थालाई जोगाउन सक्छौ । उत्पादन बढाउन सक्छौ । राज्यले आर्थिक विकासका लागि नीति र कार्यक्रम अगाडी सारेको थियो । दिगो विकास लक्ष्य प्राप्तीका लागि सबै लागेको अवस्था थियो । ८ प्रतिशतको दरले आर्थिक वृद्धिदर गर्ने कुरा भलै यो वर्ष सम्भव नहोला । २०७०/७१ सालमा ५ प्रतिशत वृद्धिदर थियो । भुकम्प पछि हामि जीरोमा झ¥यौ । तेसपछि सुधार हुदै ७ प्रतिशत ८ प्रतिशत सम्म पुग्यो । हाम्रा दाता राष्ट्रहरु समस्यामा छन् । त्यसैले हामीहरुलाई सुधार गर्न समय लाग्छ । यो समय नेपालको लागि अरुको लागि आश र भरोसा भन्दा पनि चुनौतीलाई अवसरको रुपमा लिएर आत्मनिर्भर बन्ने समय हो जस्तो लाग्छ । अमेरीका, चीन जस्ता शक्ति राष्ट्रहरुको कुल ग्राहस्थ्य उत्पादनमा ह्रास आउदै गएको छ । शक्ति राष्ट्रहरुको समेत अर्थतन्त्रको अवस्थामा अन्योलमा छ ।
यो समयमा रेमिट्यान्समा धानिएका हामीहरुमा ठुलो असर पर्छ । रेमिट्यान्स पठाउनेहरुनै समस्यामा छन् । यो समयमा हाम्रो देशले विकास निर्माणको लागि छुट्याएको बजेटलाई कृषि, उत्पादन, उद्योगमा रकामान्तर गरी गाउँ गाउँमा उत्पादन गर्ने र आत्मनिर्भर बन्ने बाटो अपनाउनु पर्छ । यो विश्वको लागि चुनौती भएपनि हाम्रो लागि अवसर बनाउने सोच हाम्रो सरकारमा हुनुपर्छ ।
कोरोनाको कहरसँगै स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी र अर्थशास्त्री बढी चिन्तनशील हुनुपर्ने अवस्था छ । अब जनप्रतिनिधि जनतालाई स्वनिर्भर अर्थतत्रमा नडोर्यााइ पुरानै विप्रेषणमुखी परनिर्भर शैलीमा राहात बाडेर फेसबुकमा फोटो चढाउने नीति लिएमा अवश्य डा सुदर्शन सरले भनेझै देशमा रोगको भन्दा भोकको समस्या भयावह नहोला भन्न सकिन्न । चेतना भया ।