नेविसंघको स्थापना दिवसमा रक्तदान, अञ्चल अस्पताललाई पिपिई हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ

नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवसको अवसरमा धौलागिरि अञ्चल अस्पताललाई पिपिई वितरण तथा रक्तदान गरिएको छ । नेपाल विद्यार्थी संघ बागलुङको आयोजनामा शनिबार कार्यक्रम गरिएको हो ।

नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले धौलागिरि अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेनडेन्ट डा. शैलेन्द्र विक पोख्रेललाई ७ थान पिपिई सेट प्रदान गरेका छन् ।

पिपिई सेट हस्तान्तरण गर्दै नेविसंघ निवर्तमान केन्द्रीय उपाध्यक्ष सुवेदीले विश्वको मानव समुदाय नै कोरोना भाईरसले संकटमा परेको बेला अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको जीवन रक्षाका लागि सहयोग पु¥याउनु सबैको दायित्व भएको बताए । ‘कोरोना भाईसले विश्वका शक्ति सम्पन्न र मै हुँ भन्ने देशहरुलाई पनि घुँडा टेक्न बाध्य पारेको छ,’ सुवेदीले भने,‘सबै ज्यानको माया गरेर घरभित्रै बस्दा डाक्टर र स्वास्थ्यकर्मीहरु अरु बेला भन्दा झन् बढि काममा खटिनुपरेको छ ।

उहाँहरुको जीवन रक्षाका लागि आवश्यक व्यवस्थापन मिलाउनु सबैको दायित्व हो ।’ सबैको साझा प्रयासबाट मात्रै कोरोनाबाट मुक्ति मिल्ने उनको भनाई थियो । ‘अहिले लक डाउन चलिरहेको छ, सबैले यो समयमा आ—आफ्नो भूमिका सम्झनुपर्छ,’ सुवेदी भन्छन्,‘हाम्रो स्वास्थ्य र जीवन रक्षाका लागि उहाँहरु युद्धामा होमिनुभएको छ । हामीले थोरै भए पनि उहाँहरुको सुरक्षामा सहयोग गर्नु आफ्नो कर्तव्य थानेर पिपिई सेट हस्तान्तरण गर्ने निधोमा पुगेका हौं ।’

मुलुकमा राजनीतिक परिवर्तनका लागि स्थापना भएको नेविसंघ अब शैक्षिक र आर्थिक परिवर्तनको अगुवाई गर्ने अवस्थामा पुगेको बताए । ‘आज नेविसंघ स्थापना भएको ५१ वर्ष पुगेको छ, नेविसंघ स्थापना हुँदा प्रजातन्त्रको अधिकार प्रखर मुद्दा थियो,’ उनले भने,‘अहिले शैक्षिक रुपान्तरण र आर्थिक समुन्नती मुख्य मुद्दाको रुपमा अगाडी आएको छ । यसमा नेविसंघले अगुवाइ गर्दै अगाडी बढ्छ ।’

धौलागिरि अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरीटेनडेन्ट डा. शैलेन्द्र बी पोख्रेलले स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि विभीन्न राजनीतिक र सामाजिक संंघ संस्था र व्यक्तिले खेलेको भूमिकाका प्रशंशा गरे । ‘राजनीतिक र सामाजिक व्यक्तित्वहरु र संघ संस्थाले हामीलाई हाम्रो काममा निरन्तर हौसला प्रदान गर्नुभएको छ,’ उनले भने,‘हाम्रो सुरक्षाका लागि आवश्यक पर्ने पिपिई सेट दिएर धेरैले गुण लगाउनुभएको छ । तपाईहरुको यो काम निकै प्रशंसनीय छ ।’

अस्पतालमा आईसियु निर्माणको अन्तिम चरणमा पुगेकाले अब कोरोना संक्रमित र अन्य बिरामकिा लागि पनि उपचारमा अझ बढि सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रम नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष खडक थापाको अध्यक्षता र जिल्ला सदस्य रामचन्द्र गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

सोही अवसरमा नेपाल रेडक्रस सोसाईटी बागलुङ अन्तर्गतको रक्तसञ्चार केन्द्रको सहयोगमा ७ जनाले रक्तदान पनि गरेका छन् । लक डाउनको समयमा कुनै पनि बिरामीले रगतको अभावले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको नेविसंघ बागलुङका अध्यक्ष खडक थापाले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *