ताराखोलामा लकडाउनमै अनुगमन, ८० पसलमा अखाद्य सामग्री

आदर्श अनलाइन, ताराखोला

लकडाउनको कारण गाउँपालिकामा अत्यावश्यक खाद्यबस्तुको आपुर्तिको अवस्था तथा कालो बजारी नियन्त्रण र गुणस्तरीय खाद्यबस्तुको सुनिश्चितता गर्न ताराखोला गाउँपालिकाले पसल अनुगमन गरेर बरामद गरेको सामान नष्ट गरेको छ ।

गाउँपालिका क्षेत्रभित्र रहेका करिव १ सय पसलहरुको गाउँपालिकाको उपाध्यक्ष दिल कुमारी पुनको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, लेखा अधिकृत, ईलाका प्रहरी कार्यालयका ईञ्चार्ज, स्वास्थ्य शाखाका सहसंयोजक वडाका जनप्रतिनिधी तथा अन्य समाजसेवीको उपस्थितिमा एक पाँच वार्डमा पाँच दिन व्यापारिक पसलहरुको सघन अनुगमन गरिएको थियो ।

बजार अनुगमन टोलीले गाउँपालिकाको करिव १०० पसलहरुमा सघन अनुगमन गर्दा ८० वटा पसलमा बेच्न राखिएका खाद्य बस्तुहरुको मिति गुज्रिएको भेटेर बरामद गरेको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले आदर्श अनलाइनलाई जानकारी दिइन् । अधिकांश पसलहरुमा रहेका जंकफुडहरुः चाउचाउ, विस्कुट, पेय पदार्थ, चिउरा, भुजा, चकलेट, मिठाईहरु बढि मिति गुज्रिएको भेटिएको थियो । चामल, औषधी, सौन्दर्य सामाग्रीहरु समेतमा मिति गुज्रिएको भेटिएको उपाध्यक्ष पुनले बताइन् ।

बजार अनुगमनको क्रममा भेटिएका अखाद्यबस्तु गाउँपालिकामा संकलन गरी सोमवार बिभिन्न राजनैतिक दल, पत्रकार, जनप्रतिनिधी, कर्मचारी, स्थानीय प्रहरी लगायतको रोहवरमा नष्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । प्रत्येक पसलबाट जफत गरिएका त्यस्ता अखाद्य वस्तुहरुको विवरण सहित सम्पुर्ण पसल सञ्चालकलाई आउदा दिनमा यस्ता बस्तुहरुको बिक्री वितरण नगर्न र गरेको भेटिएमा कारवाही हुने जानकारी सहित लिखित निर्देशन समेत दिईएको छ । जंकफुड सेवन गर्दा मिति गुज्रिएको छ छैन हेरी प्रयोग गर्न उपभोक्ताहरुलाई सचेत समेत बनाइएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । यस्तो अनुगमनलाई आगामी दिन पनि निरन्तरता दिइने उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *