गलकोट–७ का एक सय ८० गरिबलाई राहत

थम्मन थापा, बागलुङ
अहिले विश्व नै कोरोना भाईरस कोभिड १९ को सिकार बनिरहेको छ । नेपालमा पनि कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले चैत ११ गतेदेखि लक डाउन जारी राखेको छ । देशभर हालसम्म ४५ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

देश लक डाउन भएपछि अहिले दैनिक ज्याला मजदुरी गर्ने देखि विपन्न परिवारलाई खाद्यान्नको समेत संकट बढन थालेको छ । देशभर अहिले सरकार देखि संघ संस्था व्यक्तिहरुले राहत वितरण गरिरहेका छन् ।

गलकोट नगरपालिका वडा नम्बर ७ मा पनि सरकारको तर्फबाट राहत वितरण गरिएको छ । वैशाख १ गते वडाका जनप्रतिनिधि, राजनैतिक दलहरु, सरोकारवालाहरुको सर्वदलिय, सर्वपक्षिय बैठक बसी वडा भित्र राहत वितरणलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरि राहत वितरणलाई अगाडी बढाईएको हो ।

वडा नम्बर ७ को बामिया, आगाँखेतदेखि झिर्कासम्मका १ सय ८० घरघुरी विपन्न तथा ज्याला मजदुरी गर्नेहरुलाई चामल, तेल, नुन र साबुन वितरण गरिएको गलकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।

राहत वितरणको लागि विवरण संकलन गर्न सर्वपक्षिय बैठकले टोल टोलमा जिम्मा प्रदान गरेको थियो । विवरण संकलन पश्चात राहत वितरण अगाडी बढाईएको नेपाली काँग्रेसका वडा सभापति चिरञ्जीवी मरासिनीले जानकारी दिए ।

राहत वितरणमा जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, सरोकारवालाहरु टोल टोलमा पुगेको राष्ट्रिय जनमोर्चा वडा कमिटी अध्यक्ष दल बहादुर थापाले बताए । सर्वदलिय, सर्वपक्षिय बैठकले वडा भित्र लकडाउनको नियमलाई प्रभावतकारी कसरी बनाउने, लकडाउनको अवधि लम्बिदै गएमा वडामा खाद्यान्न संकट आउन नदिन के कस्ता उपायहरु अबलम्बन गर्ने, वडा भित्रका नागरिकलाई सचेतना सम्बन्धि जानकारी गराउने विषयमा छलफल गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वडा कमिटी सचिव होम बहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै वडामा राहत वितरणको विषयलाई लिएर सामाजिक सञ्जालमा भ्रम छर्ने कार्य भएको भन्दै मंगलबार सर्वदलिय सर्वपक्षिय बैठक बसेको छ ।

बैठक पश्चात संयुक्त रुपमा एक विज्ञप्ती प्रकाशित गरि राहत वितरणमा कुनै पनि अनियमिता, भेदभाव नभई नेपाल सरकारको नीतिगत अनुरुप राहत वितरण गरिएको गलकोट नगरपालिका ७ का वडा अध्यक्ष टिका बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वडा सचिव होम बहादुर बस्नेत, नेपाली काँग्रेसका सभापति चिरञ्जीवी मरासिनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष दल बहादुर थापा द्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *