संक्रमित आमाको अनुभवः कोरोनाको औषधि ‘उच्च मनोबल’

तस्बिरः कोरोना जितेर धौलागिरी अस्पतालबाट घर फर्किने क्रममा ६५ बर्षीया मनकुमारी पौडेल ।

दिल शिरीष, बागलुङ

कोरोनाको चौतर्फी चर्चा र सन्त्रास फैलिदो थियो । बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षीया मनकुमारी पौडेल त्यही बेलामा कोरोना संक्रमित बनिन् । चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएका उनमा चैत्र १७ गते मात्रै कोरोना संक्रमण पुष्टि भयो ।

मनकुमारीको उमेर नै बढि भएकाले चिकित्सक मात्र होइन । संक्रमण हुँदाका बखत परिवारका सदस्य, आफन्त र आम शुभेच्छुक पनि मनकुमारीले कोरोनालाई जित्नेमा निकै संशकित थिए । मनहरु भयभित देखिन्थे । त्यसमा अझ १५÷१६ बर्ष अघिदेखि दम र प्रेसरको बिरामी भएको थाहा पाए पछि यो शंकामा अझ निराशा थपिदै थियो । जसका कारण बृद्धा मनकुमारी १८ दिनमै कोरोना जितेर घर फर्किन्छन् भन्ने सायदै सोचिएको थियो । तर, कोरोनाबाट आंतकति देश दुनियाँलाई बृद्धावस्थामा पनि उच्च मनोबल भए सहजै जित्न सकिन्छ भन्ने सन्देश दिएर उनी गत शनिवार घर फर्किए ।

विदेशबाट आए लगत्तै कोरोना संक्रमण पुष्टि भए पछि होम क्वारेन्टिनमा बसेकी पौडेललाई चैत्र १७ गते राति धौलागिरी अञ्चल अस्पताल ल्याइएको थियो । अस्पतालको आइशोलेशन वार्डमा उपचाररत रहे पनि उनमा कोरोनाको यतिका दिन सम्म कुनै आभाष देखिएन । ‘कोरोना रोगको भन्दा पनि आइशोलेशनमा एक्लै भएकाले दिन कटाउन गाह्रो भो,’ पौडेलले भनिन् ‘परिस्थिति खराब भए पनि मनस्थिति बलियो बनाए कोरोनालाई जित्न सकिने रहेछ ।’ आइशोलेशनमा उपचारका क्रममा केहि दिन बसे पछि प्रेसर केही बढेकाले औषधि चलाइएको थियो । बीचमा दात र कान दुख्ने समस्या देखिए पनि अहिले कुनै समस्या नरहेको उनी बताउँछिन् ।

कोरोना लागेर बिभिन्न देशमा दैनिक मान्छे मरिरहेको एफएम रेडियो, परिवार र आफन्तबाट जानकारी हुँदा मनमा केही डर उत्पन्न भए पनि मर्छु भन्ने कहिल्यै नलागेको उनको भनाई छ । ‘किन किन मलाई केही हुँदैन भन्ने लाग्थ्यो, यसलाई जितेरै छोड्छु भन्ने सोच आउँथ्यो ।’ उनी भन्छिन् ‘यदी कोरोना लागेको छ भने मन बलियो बनाउनुस्, खानपानमा ख्याल गर्नुस्, तातोपानी अलि बढि पिउनुस् ।’ कोरोनासँग लड्न उच्च मनोबल सहित दिनमा पाँच लिटरसम्म उमालेको पानी पिउने गरेको पौडेलले अनुभव सुनाइन् ।

नर्स र चिकित्सक विहान बेलुका मात्रै आउने र धेरै चाही फोन गरेर सञ्चो बिसञ्चो सोध्ने गरेको उनको भनाई छ । ‘नर्स र डाक्टर विहान बेलुका मात्र आउँदा पनि गुनासो गर्ने कुरै भएन, रोगै यस्तै छ’ मनकुमारीले थपिन्, ‘गाह्रो भए फोन गर्नुस्, फोन गर्न जान्नु भएन भने घण्टी बजाउनुस् भन्थे, मैले कहिल्यै गरिन । अस्पतालमा सबै सेवा सुविधा राम्रो थियो ।’ उनले अस्पतालबाट डिस्चार्ज हुने बेलामा पनि स्वास्थ्यकर्मी भगवान सरह भएको भन्दै धन्यवाद दिएर मात्र घर लागिन् । संक्रमित हुँदाको दिन आँफु लिन जाने बेलामा एम्बुलेन्स चालक भागेको खबर समेत सुनेकी उनी उक्त खबरले दुखित नभई उसलाई पनि ज्यान माया लागेर भागे होला भन्ने लागेको बताइन् ।
आइशोलेशनमा रहँदा दैनिक बिहान बेलुका दूध पिउने, नियमित खाना, खाजा खाने गर्थिन् । खाना, खाजाको व्यवस्था धौलागिरी अस्पतालले निशुल्क उपलब्ध गराएको थियो ।

डिस्चार्ज हुने क्रममा अस्पताल आएका मनकुमारीका छोरा चिरञ्जिवी पौडेलले सामान्य ज्वरो आउँदा समेत आमाले सबै आफ्नै वरिपरि बसुन् भन्ने चाहना राख्ने स्वभाव भए पनि अनौठो रोगका कारण संकटमा सेवा गर्न नपाएकोमा ठुलो चिन्ताले सताएको अनुभव सुनाए । अहिले निको भएर घर फर्किने खबरले भने ती सबै कुरा बिर्साएको उनको कथन छ ।

गत चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुदै बागलुङ आएकी पौडेललाई चैत १७ गते कोरोना संक्रमण भएको पुष्टी भएको थियो । उनी भन्दा अघि जिल्लामा पहिलो र नेपालमा पाचौ संक्रमण देखिएकी बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेकी १९ बर्षीया अंशु सापकोटा भने अझै निको भएकी छैनन् । यसले बरु मनमा पिरलो थपिएको पौडेलको भनाई छ । ‘बेल्जियमदेखि काठमाण्डौ, पोखरा हुँदै बागलुङ सम्मै हामी सँगै आएका हौ, उनी त झन् तरुनी । छिटो निको होला भन्ने सोचेकी थिइ,’ उनले भनिन्,‘तर अहिले सम्म अवस्था सामान्य भए पनि निको हुने संकेत नदेखिएको सुन्दा दुःख लागेको छ, ती नानी पनि निको भए म अझ बढि खुशी हुने थिए ।’ एकै अस्पतालमा उपचाररत १९ बर्षीया युवतिको चौथो स्वाब परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । ६५ बर्षीया मनकुमारीको भने पहिलो र दोस्रो पोजेटिभ आए पनि तेस्रो र चौथो रिपोर्ट भने पोजेटिभ आएको थियो ।
चिकित्सक, स्वास्थ्यकर्मी उत्साहित
धौलागिरी अञ्चल अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ बर्षीया मनकुमारी पौडेल निको भए पछि स्वास्थ्यकर्मी पनि उत्साहित देखिएका छन् ।

कोरोनाको चौतर्फी सन्त्रास र भय बढिरहेका बेला जिल्लामा कोरोना संक्रमित देखिन साथ अस्पतालमा ल्याउन र उपचार गर्न कठिन मानेका चिकित्सक र स्वास्थ्यकर्मी अहिले उत्साहित देखिएका छन् ।

निकै जोखिम मोलेर उपचार सेवामा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी बृद्धा आमा निको भएको सूचना पछि कार्यक्षेत्रमा थप उत्साहित बनेर लागेको धौलागिरी अञ्चल अस्पतालका प्रमुख डा.शैलेन्द्र बि पोखरेलले बताए । धौलागिरी अस्पताल शुरुमा कोरोना संक्रमित बिरामीको उपचार गर्ने सवालमा केही हिच्किचाहट देखिएको थियो । जसका कारण स्थानीय प्रहरी प्रशासन र धौलागिरी अस्पतालका बीचमा त्यस समय केही दुरी समेत बढेको थियो । सुरक्षित सेवाका सामग्री, पूर्वाधार, उपकरण र जनशक्ति अभावका कारणले शुरुमा उपचारमा केहि समस्या भए पनि अहिले भेण्टिेलटरदेखि आइसियूको काम समेत अघि बढेकाले अब कोरोना संक्रमितको उपचारमा कुनै समस्या नहुने डा.पोखरेलले बताए । दम र प्रेसरको समस्या भए पनि ६५ बर्षीया महिलाले उच्च मनोबल र खानपानका कारण कोरोनालाई सजिलै जितेर घर फर्किन लागेको डा.पोखरेलले बताए । अस्पतालबाट डिस्चार्ज गरिए पनि उनलाई केही समय घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *