प्रविधिको तिव्र विकासले सिंगो बिश्व एउटा गाउँ ‘ग्लोबल भिलेज’ बनिसक्यो । यो बनाउनुमा डिजिटल पत्रकारिता (अनलाइन) ले अहम् भुमिका खेल्यो । अब खेल्नुपर्ने थप भुमिका, समय र समाजको कोलाजका लागि आदर्श सञ्चार डट कम शुरु गरिएको छ ।
यो आगमन सयौं अनलाइनको संख्यामा एउटा थपिनुको मात्र रहर बोकेर आएको छैन । हामी संख्यामा मात्र बिश्वास गर्दैनौ, गुणस्तर र सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा हाम्रो मुख्य चासो, सवाल र जिम्मेवारी हुनेछ ।
जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् । सामाजिक व्यथिति, अन्याय, अत्याचार, हिसां, आपराधिक क्रियाकलाप र लोकतन्त्र बिरोधी गतिविधि हाम्रो मुख्य निशाना हुनेछ ।
विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारका साथै जनताका नैसर्गिक अधिकार रक्षाका निम्ति सत्य र तथ्यमा आधारित पत्रकारिता गर्ने सवालमा कसैसँग कहिल्यै सम्झौता हुने छैन ।
सबै राजनीतिक दल, हरेक व्यक्ति र समाजका हरेक पक्षलाई गुण र दोषका आधारमा समर्थन वा आलोचना वा दुवै समानान्तर र सन्तुलित रूपमा अघि बढाउनु आदर्श सञ्चार डिजिटल पत्रिकाको विशेषता हुनेछ ।
आदर्श सञ्चारले स्थानीय, प्रदेश र केन्द्र सरकारको मूल्यांकन जनताले पाएको सेवाका आधारमा गर्नेछ । कुनै व्यक्ति बिशेषसँग नभई खराब पात्र, समूह र प्रवृत्तिका बिरुद्धमा हाम्रा कलम र आवाज केन्द्रित हुनेछ ।
नेपाली मन र नेपालीपनको पत्रकारिताबाट पृथक पहिचान बनाउने हाम्रो मुख्य कोशिस हुनेछ । जनताले समय सापेक्ष रुपमा अपेक्षा गरेको पत्रकारिताको तिर्सना मेटाउन सही समयमा सही सूचना दिनुको कर्तव्य र दायित्वबाट जस्तै बिषम परिस्थितिमा पनि बिचलित हुने छैनौ ।
हामी न कसैको पक्ष, न कसैको प्रतिपक्ष । हामी केवल निश्पक्ष भएर काम गर्नुको आदर्श भावना र उद्धेश्यमा अनवरत समर्पित हुने प्रतिवद्धता गर्दछौ । पत्रकार आचार संहिता हामी हाम्रो धार्मिक बेद, कुरान जस्तै आदर्श मार्गदर्शन ठान्नेछौ ।
ताजा र तथ्यगत समाचार, बिबिधतायुक्त बिचार, स्वस्थ जिवन, स्वस्थ मनोरञ्जनका पठनीय सामग्री पस्कने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ ।