अत्यावश्यक सेवा प्रवाह गर्न बागलुङका सहकारीहरुलाई जिल्ला संघको आग्रह

आदर्श अनलाईन, बागलुङ
जिल्ला सहकारी संघ लिमिटेड बागलुङले सुरक्षालाई प्राथमिकतामा राखेर अत्यावश्यक सेवा प्रवाह गर्न सदस्य सहकारी संस्थाहरुलाई आव्हान गरेको छ ।

शुक्रबार बसेको जिल्ला सहकारी संघको वैठकले कोरोनाका कारण सरकारले जारी गरेको लकडाउनमा स्वास्थ्य लगायत सुरक्षाको आवश्यक प्रवन्ध गरेर अति आवश्यक सेवा प्रवाह गर्न आव्हान गरेको हो ।

सबै क्षेत्र जस्तै यतिबेला कोरोनाका कारण सहकारी क्षेत्र पनि प्रभावित भएको छ, सहकारी सदस्यहरुको सेवामा रहने संस्था भएकाले सदस्यहरुलाई अति आवश्यक पर्ने वित्तीय लगायतका सेवा प्रदानका लागि आव्हान गरेका हौ, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले भन्नुभयो, समस्याका बीचमा सेवा प्रवाह गर्दा स्वास्थ्यसंगै अन्य आवश्यक सुरक्षालाई बिर्सन हुदैन् ।

सेवा प्रवाह गर्दा आउन सक्ने वित्तीय व्यवस्थापन लगायतका समस्यामा संघले समन्वय गर्ने वैठकले निर्णय गरेको छ । सदस्य संघ संस्थाहरुलाई वित्तीय लगायतका क्षेत्रमा पर्न सक्ने समस्यामा
आवश्यक समन्वय संघले गर्ने निर्णय भएको संघका सचिव तेजेन्द्र बहादुर थापाले बताउनुभयो ।

कोरोनाका कारण सिर्जित समस्याले सहकारीहरुमा पनि समस्या पर्न सक्ने भएकाले सहजीकरणमा ध्यान दिइएको थापाको भनाइ छ । बागलुङ बजार क्षेत्रमा सञ्चालित अधिकांश सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएका छन्, सेवा सञ्चालन नभएका सहकारीहरुले पनि आवश्यक व्यवस्थापनका साथ सेवा प्रवाह गर्ने संघले जनाएको छ ।

विश्वमा देखिएको कोरोना नियन्त्रणमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सञ्चालन गरेका अभियानहरुमा सहकारी क्षेत्रको साथ रहनु पर्ने निष्कर्षका साथ संघले सहकारी संघ संस्थाहरुलाई आफ्नो अवस्था अनुसार राज्यका निकायहरुसंग समन्वय गर्न आग्रह गरेको छ ।

सहकारी क्षेत्र संकटको सारथी हो भन्ने सन्देश दिनका लागि पनि संकटमा सहयोगी बन्नुपर्छ भन्ने उदेश्यले सबै सहकारीहरुलाई आफ्नो भुगोल, संस्थाको अवस्था र स्थानीय आवश्यकताका आधारमा सहयोग गर्न सक्ने गरी आव्हान गरिएको अध्यक्ष गौतमको भनाइछ ।

कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले सञ्चालन गरेका राहत कोषहरुमा देशभरका सहकारीलले ६ करोड भन्दा बढी आर्थिक सहयोग गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले जानकारी दिनुभयो । सहकारी क्षेत्रले आर्थिक सहयोग संगै स्वास्थ्य, कृषि, दुग्ध, फोहोर व्यवस्थापन, सञ्चार लगायतका क्षेत्रमा समेत महत्वपूर्ण योगदान गरेको जिसीको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *