श्रेष्ठ दाजुभाइले बनाए धौलागिरी अस्पतालमा फुल वडि सेनिटाइजर

आदर्श अनलाइन,बागलुङ

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि बागलुङमा पहिलो पटक निर्माण गरिएको फुल वडि स्वचालित सेनिटाइजर टनेल धौलागिरी अञ्चल अस्पताल बागलुङमा जडान गरिएको छ ।

बागलुङ केबल टिभी नेटवर्क व्यवसाय तथा गण्डकी प्रदेश स्तरिय धौलागिरी टेलिभिजन सञ्चालनमा समेत नेतृत्वदायक भुमिका निभाउदै आउनुभएका बागलुङ नगरपालिका–२ हरिशंकर रोड निवासी दुई भाईले फुल्ली स्वचालित सेनिटाइजर टनेल निर्माण गरेर धौलागिरी अञ्चल अस्पताललाई निःशुल्क रुपमा शुक्रबार हस्तान्तरण गर्नुभएको हो ।

प्रविधिको क्षेत्रमा लामो समय देखि अनुभव सगाल्दै आउनुभएका राजकुमार श्रेष्ठ र मनोज श्रेष्ठले फुल वडि स्वचालित सेनिटाइजर टनेल निर्माण गर्नुभएको हो । कोरोना संक्रमणको जोखिम रोक्न टनेल भित्र प्रवेश गर्दा साथ सर्वसाधरणले पुरै शरिर सेनिटाइज हुने गरी कोरोना भाइरस रोकथाम गर्न सकिने गरी स्थानीय स्रोत र साधनबाट टनेल निर्माण गरिएको राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालमा जडान गरिएको सेनिटाइजर टनेललले कोरोना भाइरसको संक्रमण रोक्नका लागि सहज पु¥याउने धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो । “हामीले स्थानीय स्रोत र साधन जडान गरी स्वचालित सेनिटाइजर टनेल निर्माण गरेका हौं” श्रेष्ठले भन्नुभयो “निर्माण तथा परिक्षण सम्पन्न भएको टनेल धौलागिरी अञ्चल अस्पताललाई हस्तान्तरण गरिएको छ ।” उहाँका अनुसार भीडभाड हुने स्थान र प्रवेशद्वार लगायतका ठाउँहरुमा सेनिटाइजर टनेल उपयुक्त हुने भन्दै धौलागिरी अस्पतालमा टनेल राखिएको हो । श्रेष्ठ दाजुभाइले करिब रु.५० हजारको लागतमा व्यक्तिगत खर्च तथा ज्ञानका आधारमा टनेल निर्माण गर्नुभएको छ ।

श्रेष्ठ दाजुभाइले यस अघि स्थानीय स्रोतबाटै ड्रोन क्यामेरा समेत निर्माण गरिसक्नुभएको छ । मानिस टनेलमा प्रवेश गर्दा साथ स्वचालित रुपमा सेनिटाइज हुने र मानिस बाहिरिदाँ साथ बन्द हुने गर्दछ । टनेलमा सेन्सर जडान गरिएको भन्दै श्रेष्ठले भन्नुभयो, मानिस आएको सेन्सरले थाहा पाउछ र मोटरलाई चालु गराई सेनिटाइज स्प्रे गर्ने गर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *