फुल वडि-स्प्रे ‘घातक’, अस्पतालमा फरक तबरले प्रयोग गरिने

सिर्जना पन्त, बागलुङ

कोरोना भाइरस (कोभिड–१९) सँग बच्न सतर्कता अपनाउनु राम्रो कुरा हो । तर कोरोनाबाट बच्न अहिले अपनाइएको कतिपय तौर तरिका,उपकरण, विकल्पका बारेमा विश्वभर वहस भइरहेको छ ।

पछिल्लो समय देशका विभिन्न स्थानमा फुल वडि स्प्रे गर्न थालिएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङमा पनि गत शुक्रबार मात्र फुल बडि स्यानिटाइजर टनेल जडान गरिएको छ ।

इथानोल, सोडियम हाइपोक्लोराइट जस्ता भाइरुसिड मिसावट गरेर बनाएका स्प्रे मानव शरिरको लागि घातक हुने चिकित्सक बताउँछन् । विशेष गरी कृषि भेटेरिनरी तर्फ प्रयोग गर्ने, भाइरसको संक्रमण हुन सक्ने कडा सतह भएका स्थानमा प्रयोग गरिने केमिकल मिसावट गरेर बनाईएको स्प्रे मानिसको पुरै शरीर भिज्ने गरि प्रयोग गर्दा उच्च जोखिम हुने चिकित्सकको भनाई छ । शौचालय, बाथरुम सफा गर्दा समेत प्रयोग गरिने यस्ता केमिकल मानव शरिरमा प्रयोग गर्दा छाला, आँखा, मुख, घाटी र फोक्सोमा असर पु¥याउने उनीहरुको ठहर छ ।

धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डन डाक्टर शैलेन्द्र वि पोखरेलले विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार भारतका विभिन्न स्थानमा गरिदै आएको फुल वडि स्प्रेमा रोक लगाइएको समयमा अस्पतालमा टनेल उपलब्ध गराइए पनि यसको फरक तवरले मात्र उपयोग गरिने बताए । ‘सबैलाई फुल वडि सेनिटाइजरको बेफाइदाको बारेमा जानकारी नहुन सक्छ’,डा.पोखरेलले भने, ‘अस्पताललाई सहयोगको रुपमा प्रयोग भएको टनेल फिर्ता गर्दा सहयोग गर्नेहरुको भावनामा चोट पर्न सक्छ, यसलाई फुल वडि सेनिटाइज भने पनि हातको सेनिटाइजमा मात्र प्रयोग गर्छाै ।’ तत्काल सर्वसाधारणमा प्रयोग नगर्ने र अस्पतालकै कुनै वार्डमा स्वास्थ्यकर्मीको हात सेनिटाइज गर्न प्रयोगमा गरिने उनले बताए । फुल वडि सेनिटाइज गर्दा कोरोना संक्रमण हुदैन भन्ने बैज्ञानिक रुपमा अझै पुष्टि हुन नसकेको डा.पोखरेलको भनाई छ ।’

कोरोना भाइरसको बारेमा फैलाईएका अफवाहलाई रोक्न विश्व स्वास्थ्य संगठनले ‘मिथ्स बस्टर्स’ वेबसाइट नै सञ्चालन गरेको छ । जसमा विश्व स्वास्थ्य संगठनले प्रष्ट रुपमा अल्कोहल, क्लोरिन जस्ता केमिकलहरुले शरीर भित्र रहेको कोरोना भाइरस नमार्ने, बाहिरी लुगामा हुने भाइरस मार्ने प्रमाण पनि नभएको र उल्टै शरिरको अंगहरुमा हानी गर्ने हुँदा यसको प्रयोग नगर्न सचेत समेत बनाएको छ ।

विश्व स्वास्थ्य संगठनको चेतावनीका बाबजुद पनि सन् २०१४–२०१६ मा इबोला महामारीको क्रममा दक्षिण अफ्रिकामा पनि यस्तै क्लोरिन स्प्रे गरिएको थियो । त्यसको असरबारे ‘एन्टिमाइक्रोबिएल रेसिस्टेन्स एन्ड इन्फेक्सन कन्ट्रोल’ जर्नलमा प्रकाशित एउटा वैज्ञानिक लेखमा एक पटक क्लोरिन स्प्रे गरिएको स्वास्थ्यकर्मीहरुको तुलनामा पटक पटक क्लोरिन स्प्रे गरिएको स्वास्थ्यकर्मीहरुमा श्वास प्रश्वास सम्बन्धी समस्या ३० गुणाले बढी, आँखाको समस्या २५ गुणाले बढी र छालाको समस्या २० गुणाले बढी पाइएको देखाएको थियो । यस अध्ययनले भविष्यमा मान्छे माथि क्लोरिन स्प्रेलाई प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *