कोरोना जितेकी बागलुङकी ‘आमा’ अचानक अस्पताल आएपछि…

फाइल तस्बिरः बैशाख ६ मा धौलागिरी अस्पतालबाट डिस्चार्ज हुने क्रममा ६५ बर्षीया मनकुमारी ।

दिल शिरीष, बागलुङ

बृद्धा अवस्थामा पनि देश दुनियाँलाई दंग पार्दै कोरोना जितेर घर फर्किएकी जिल्लाकी दोस्रो तथा नेपालकी छैठौ कोरोना संक्रमित ६५ बर्षीय मनकुमारी पौडेल सोमवार अचानक धौलागिरी अञ्चल अस्पतालमा देखिइन् ।

अस्पतालमा आकस्मिक देखिए पछि केहिबेर बातावरण भयभित देखियो । पछिल्ला दिन खोप कार्यक्रम र अन्य सेवाग्राहीको समेत बाक्लो उपस्थितिले भीड भइरहेको अस्पतालमा अचानक पुर्व संक्रमित आमालाई देखे पछि स्वास्थ्यकर्मीदेखि सेवाग्राही सम्म भयभित देखिएको प्रत्यक्षदर्शी रुपा थापाले बताइन् । ‘सबै आ आफ्नो काम र उपचारको प्रतिक्षामा थियौ, पहिले संक्रमित भएका आमा अस्पताल आएको भन्ने भए पछि अस्पतालको माहोल एकैछिनमा भिन्न देखियो,’ थापाले भनिन्, ‘केहि आत्तिरहेका देखिन्थे, नर्सहरु बीच पनि कसले उनको परीक्षण गर्ने भन्नेमा एक आपसमा कानेखुशी गरेको देखिन्थ्यो ।’

बृद्धावस्थामा पनि कोरोना जितेर अस्पतालबाट भव्य बिदाई गरिए पनि १९ दिन पछि अस्पताल आउँदा आँफुलाई पहिलेकै जस्तो फरक व्यवहारको अनुभूति भएको मनकुमारीले बताइन् । ‘डाक्टरले नै बोलाएको हुनाले घरबाट बुहारीलाइ लिएर अस्पताल पुगेकी थिए’ उनले भनिन्, ‘कोरोना लागेको भनेर मलाई त्यहाँ कतै बस्दा पनि समस्या, उठेर यता उता गर्दा पनि समस्या भए जस्तो बुहारी मार्फत कुरा आएको रहेछ, यसलाई ठुलो रुपमा नलिए पनि मन केहि खिन्न भने बनायो ।’ मनकुमारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भए पश्चात घरमा लिन जाने क्रममा रेडक्रसको एम्बुलेन्स चालकनै फरार भएका थिए । अस्पतालमा रहेका स्वास्थ्यकर्मी र अन्य व्यक्तिको बुहारी मार्फत यस्तो कुरा सुनेपछि स्वयम् आफै अरुबाट सर्ने जोखिमलाई ध्यानमा राखेर सचेतता अपनाइरहेको प्रतिक्रिया दिएको उनले बताइन् ।

बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षीया पौडेललाई गत चैत्र १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएका उनी बैशाख ६ गते निको हुँदै डिस्चार्ज भएकी थिइन् । अस्पतालको आइशोलेसन वार्डबाट डिस्चार्ज गरिए पनि होम क्वारेन्टाइनमै बस्न सुझाव दिइएको थियो । दम र प्रेसरको समस्याबाट ग्रसित उनमा सुगरको समेत संकेत देखिए पछि प्mलो अपका लागि बोलाइएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताए । ‘सुगर र प्रेसर जाँचकै लागि अस्पतालबाट बोलाएर आउनुभएको हो’, गौतमले भने,‘तर अस्पताल परिसरमा ठुलै संख्यामा सेवाग्राही भएकाले केही भयको अवस्था बन्यो, त्यो पुरानो संक्रमितको मनोविज्ञानसँग जोडेर हो ।’

धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले पूर्व संक्रमित मनकुमारीको अवस्था सामान्य रहेको बताए । ‘पहिलेकै उपचारका क्रममा सुगरको आंशका भएकाले चेकअपका लागि बोलाइएको हो, अहिले सुगर बढ्न लागेकाले औषधि दिएर पठाएका छौ,’ डा.पोखरेलले भने, ‘डिस्चार्ज भएर जाँदा दुई साता होम क्वारेन्टाइनमै बस्न भनेका थियौ, अझै केहि दिन सचेतता अपनाउनुस् भनेका छौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *