निर्माणमा खुकुलो, काममा सकस

डम्मर बुढा मगर, बागलुङ
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामको लागि सरकारले गत चैत ११ गतेदेखि देशभर जारी गरेको लकडाउन विस्तारै खुकुलो बनाउन थालेको छ ।

लकडाउन पछि देशमा निर्माण योजना देखि अन्य उद्योग, व्यापार व्यवसाय, सवारी साधन सबै ठप्प भए ।

यही बैशाख २५ गते बसेको मन्त्री परिषदको बैठकले विकास निर्माण, अत्यावश्यक उद्योग कलकारखाना लगायतका चार दर्जन बढि क्षेत्र सञ्चालनका लागि खुकुलो बनाउने निर्णय गरेसँगै सुनसा बनेका जिल्लामा अधिकांश विकास निर्माण योजनाहरुका काम अघि बढ्न थालेका छन् ।

तर, जिल्ला प्रशासन र प्रहरीको निकायबाट निर्वाध कामकाजका लागि सवारी आवागमनमा अवरोध भइरहेको निर्माण व्यवसायी बताउँछन् । योजना, आयोजनाको काममा खुकुलो बनाउने केन्द्र सरकारको निर्णय भए पनि जिल्लामा निर्णय कार्यान्वयनमा अझै केहि द्धिविधा र अन्यौलता देखिएको उनीहरुको भनाई छ । जसका कारण आँफु र आफ्ना योजनामा काम गर्नेहरुले दुःख र सास्ती पाइरहेको उनीहरुले गुनासो गरेका छन् ।

सरकारले लकडाउन खुकुलो बनाएर विकास निर्माणलाई तिव्रता दिने भनेर काम शुरु गर्न खोज्दा प्रक्रियागत झन्झट बेहोर्न परेको खुशु निर्माण सेवाका सञ्चालक खुम भण्डारीले बताउनुभयो ।

‘सरकारको निर्णय पछि काम शुरु गरौ भनेर लाग्यौ,’ काठेखोला गाउँपालिकामा रिङरोड र स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा लिनुभएका भण्डारीले भन्नुभयो, ‘काम शुरु गर्न लाग्दो निर्माण सामग्री लिएर आउने क्रममा ठाउँ ठाउँमा चेकिङ गर्ने र दुःख दिइरहने गरिएको छ । सवारी पासका लागि प्रशासन कार्यालय पुग्दा पनि बेवास्ता गर्ने गरिएको छ ।’

महत ब्लक उद्योकका संचालक रुद्र महतले पनि सरकारको निर्णय अनुसार प्रशासनले काम गर्नको लागि निश्चित समय तालिका बनाइ दिँदा काममा सहजता हुने बताउनुभयो ।

‘प्रशासनले काम गर्नको लागि निश्चित समय तोकिदिँदा समयमै सकिनु पर्ने कामहरु ढिला हुने देखिन्छ,’ उहाँले भन्नुभयो ‘यसले गर्दा निर्माण व्यवसायी मर्कामा पर्ने देखिन्छ, काम गर्नको लागि प्रशासनले त्यसरी समय तालिका दिनुहुँदैन ।’ महतले प्रशासनबाट वितरण हुने सवारी पास प्रायशः एक दिनको मात्र हुँदा काम गर्ने निर्माण व्यवसायीहरुलाई पटक–पकट बनाउनु पर्दा झण्झट हुने गरेको गुनासो गर्नुभयो । सामान बोकेको गाडी रोकि प्रहरीले विभिन्न ठाउँमा बिल माग्ने र अनावश्यक दुःख दिने गरेको उहाँको भनाई छ ।

जिल्ला कमाण्ड पोस्टका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले विकास निर्माणको कामलाई तिव्रता दिनका लागि सहज वातावरण सिर्जना हुँदै गएको बताउनुभयो ।

निर्माण व्यवसायीलाई सबै सवारी सधान सञ्चालन नगरी सिमित मात्रामा सञ्चालन गर्न आग्रह गरेको उहाँले बताउनुभयो । प्रजिअ सैंजूले निर्माण व्यवसायीहरुको सबै गाडीहरु संचालन गर्दा अत्याधिक भीडभाड हुने हुँदा सिमित मात्रै संचालन गर्न निर्देशन दिएको बताउनुभयो ।

‘अहिले हामीले निर्माण व्यवसायीहरुले सञ्चालन गर्दै आएका सबै गाडीहरु एकै पटक सञ्चाालन नगर्न भनेका छौँ, विस्तारै सञ्चालन गर्ने भनेका छौँ,’ प्रजिअ सैंजूले भन्नुभयो ‘एउटै आयोजनाको गाडी धेरै गुड्न थाले भने त लकडाउनको अर्थ हुँदैन, २/४ दिनमा सहज वातावरण हुँदै जान्छ ।’ उहाँले निर्माण व्यवसायीहरुले दिनु पर्ने सवारी पास जिल्ला प्रशासनले दिएको भन्दै विभिन्न ठाउँमा चेकजाँच हुनु स्वाभाविक भएको बताउनुभयो ।

सैंजूले लकडाउन खुकुलो भयो भनेर अनावश्यक रुपमा बाहिर ननिस्कन समेत आग्रह गर्नुभयो । उहाँले अनावश्यक रुपमा बाहिर निस्कँदा भिडभाड हुने र लकडाउन भएको अर्थ नरहने बताउनुभयो ।

‘सबै नागरिकले लकडाउन हाम्रै सुरक्षाको लागि हो भनेर बुझ्नु प¥यो, अति आवश्यक बाहेकका काममा निस्कन भएन,’ उहाँले भन्नुभयो ‘निर्माणको काम गर्न र अति आश्वयक कामको लागि यस अगाडी देखिनै प्रशासनले सहजिकरण गर्दै आएको थियो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *