अलपत्र मजदुरलाई गन्तव्यमा पु¥याउदै ढोरपाटन नगर

सुमन सुनार/बुर्तिबाङ

जिल्लाको ढोरपाटन नगरपालिकाले लकडाउन (बन्दाबन्दी)का कारण अलपत्र परेका मजदुरको उद्धारलाई तीव्रता दिएको छ ।

आफ्नो घर सम्म पुग्नका लागि लकडाउनको समयमा पैदल यात्रा गरी हिडेका मजदुरलाई गन्तव्यमा पु¥याउन नगरपालिकाले सवारी साधनको व्यवस्था र कुनै पनि ठाउँमा नरोक्न अनुरोध सहितको सिफारिस समेत गरेर पठाइएको नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो । यतिबेला वर्षातको समय सुरु भएसँगै खेतिपातिको समय भएकाले मजदुर आ–आफ्नो घर फर्कनै पर्ने भएकाले उनीहरुको उद्धारमा नगरपालिकाले विशेष अभियान थालेको नगर प्रमुख नेपालीको भनाई छ । नगरपालिकाले हाल सम्म विभिन्न स्थानबाट बुर्तिबाङ आएका १ सय जना भन्दा बढि मजदुरलाई उद्धार गरि गन्तव्य सम्म पुग्न मद्धत गरेको छ । उनीहरु सबैलाई नगरपालिकाले आफ्नै खर्चमा खाजा, खाना र गाडीको समेत व्यवस्था गरेर रुकुम, रोल्पा, बुटवल लगायत विभिन्न स्थानमा पु¥याएको नगरपालिकाले जनाएको छ ।

सोमवार मात्रै नगरपालिकाले २१ जना मजदुरको उद्धार गरेको प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोखरेलले बताउनुभयो । रोल्पा, थबाङका ४ जना, सल्यान, बागचौरका १५ जना र दैलेखका २ जनाको उद्धार गरिएको पोखरेलले बताउनुभयो । उनीहरु मध्ये ४ जना पोखरामा भवन निर्माणको काम गर्दै आएका थिए भने ४ जना पर्वतमा बाटो निर्माणको काम गर्दै आएका थिए ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन भए पछि अलपत्र परेका उनीहरु रुकुमको बाटो हुँदै घर जाने उद्धेश्यले बुर्तिबाङ पुगेका थिए । कष्टकर यात्रा गर्दै आएका उनीहरुलाई पनि ढोरपाटन नगरपालिकाले खाजा, खानाको व्यवस्था सहित सवारी साधनको व्यवस्था गरी निसीखोला गाउँपालिका सम्म पठाइएको प्रमुख प्रशासकिय अधिकृत पोखरेलको भनाई छ । रुकुमको सिमाना सम्म पुग्नका लागि भने निसीखोला गाउँपालिकाले सहजीकरण गर्ने सहमति भएको ढोरपाटन नगरपालिकाले जनाएको छ । रुकुम, रोल्पा, दाङ जान नजिक पर्ने भएकाले अधिकांश मजदुरले ढोरपाटनको बाटो रोज्ने गरेका छन् ।

बागलुङ सहित मुस्ताङ, कास्की, पाल्पा, स्याङ्जा लगायतका जिल्लामा दैनिक ज्याला मजदुरी गर्दै आएका मजदुरहरु जारी लकडाउन अनिश्चीत बनेपछि उनिहरु आफ्नो घर जानका लागि पैदल यात्रा गरी ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ आउने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *